ब्राण्डिङ् का नाममा उपभोक्ताबाट दोब्बर रकम असुली

सिर्जना बुढाथोकी
सुर्खेत,१८ कात्तिक ।
वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागले काठमाण्डौं उपत्यका बाहिरका जिल्लाहरुमा प्लाष्टिक बोत्तलमा आउने १ लिटर प्रशोधित पानीको अधिकतम् बिक्री मूल्य २० रुपैयाँ मात्र तोकेको छ । तर सुर्खेतमा भने सरकारी निकायको निर्देशनलाई ठाडै लत्याउँदै केहि उद्योगले होटल तथा रेष्टुरेण्टसंगको मिलेमतोमा उपभोक्ताबाट प्रति लिटर ४० देखि ५० रुपैयाँसम्म ठटाएर असुल्ने गरेका छन् ।
एक्वान्स नामक प्रशोधित पानी उत्पादक मध्यपश्चिम वाटर एण्ड बेभरेज उद्योगले वीरेन्द्रनगरका विभिन्न होटल, रेष्टुरेण्टसमेतको नाम र लोगो राखेर उपभोक्ताबाट दोब्बर बढि रकम असुल्ने गरेको पाइएको छ । वीरेन्द्रनगरका चलनचल्तिका रेष्टुरेण्टका नाम र लोगो भएको १ लिटर प्रशोधित पानीको मूल्य ४० रुपैयाँसम्म लिने गरिएको छ भने ठूला होटलहरुको नाम र लोगो भएको पानीमा ५० रुपैयाँसम्म असुल्ने गरिएको छ ।

४० रुपैयाँ मूल्य तोकिएका बोत्तलका डिजाइन केहि फरक भएपनि ५० रुपैयाँ तोकिएको बोत्तलको डिजाइन भने २० रुपैयाँ पर्ने बोत्तलकै जस्तै छ । वीरेन्द्रनगर ६ का कमल आचार्यले खाजा नास्ताको व्यवसाय गर्ने सानातिनादेखि ठूला होटल रेष्टुरेण्टहरुले समेत महंगो मूल्यको पानी जबरजस्ती भिडाउने गरेको गुनासो गरे ।
‘मःम खान रेष्टुरेण्ट छिर्दा, माग्दै नमागेको पानी अगाडि ल्याएर राखिदिए।’ उनले भने, ‘बाहिर २० रुपैयाँ पर्ने पानी त्यहाँ ४० लेखेको देखेपछि मःमपनि खाउँ कि नखाउँ भयो ।’ उपभोक्ता संरक्षण विभागले संघीय संसद, प्रतिनिधि सभा, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता समितिबाट गठित बजार अनुगमन उपसमितिको अध्ययन प्रतिवेदनका प्लाष्टिक बोत्तल र जारमा बिक्री वितरण हुने साधारण प्रशोधित पानीको अधिकत्तम खुद्रा मूल्य निर्धारण गरिएको जनाएको छ ।
निर्धारित मूल्यभन्दा बढि रकममा त्यस्ता प्रशोधित पानीको बोत्तल वा जार बिक्री गरेको पाइए उपभोक्ता हित संरक्षण ऐन २०७५ तथा नियमावली २०७६अनुसार बिक्रेतालाई हदैसम्मको कारवाही गर्ने चेतावनीसहितको सूचना विभागले यसअघि नै सार्वजनिक गरिसकेको छ ।
तर सरकारको आधिकारिक निकायको निर्देशन र सूचनालाई समेत ठाडै लत्याउँदै पानी उद्योगी र होटल सञ्चालकहरुले आपसी मिलेमतोमा उपभोक्ताबाट आफु खुशी रकम असुली रहँदा नियमनकारी निकायले भने ध्यानै दिन सकेको छैन् । पानी उत्पादक उद्योगले नै होटल रेष्टुरेण्टको ब्राण्डिंग गरिदिने भन्दै पानीको बोत्तलमा टाँसिने स्टिकरमा उद्योगको नाम र लोगोसंगै होटल रेष्टुरेण्टको नाम लोगो छापेर पठाउने गरेको होटल सञ्चालकले बताएका छन् ।
‘हामीले हाम्रा कष्टमरहरुलाई दिइने सेवासुविधाका आधारमा पानीको मूल्य निर्धारण गरेर दिने गरेका थियौं ।’ सुर्खेतस्थित एक होटलका म्यानेजरले भने, ‘उद्योगले नै हामीलाई ब्राण्डिंग गरिदिने भन्दै यस्तो स्टिकरसहितको पानी पठाउने गरेको हो । ’
उद्योग सञ्चालकले स्टिकरमा होटल–रेष्टुरेण्टको नाम र लोगो छापेर ब्राण्डिंग गरिदिएवापत आफुहरुबाट अतिरिक्त शुल्क समेत लिने गरेको उनले जानकारी दिए । ती म्यानेजरले भने, हामीलाई नै निर्धारित मूल्यमा अतिरिक्त शुल्क थपिएर आएपछि हामीलेपनि उपभोक्ताबाट नै त लिने हो ।
’ यता, उपभोक्ता हित तथा संरक्षण मञ्च कर्णाली प्रदेशका संयोजक आकाशतारा वयकले मनपरी ढंगले पानी उपभोक्तालाई बेच्नु गलत भएको बताए। ‘यो त ठूलो लापरवाही हो,’ उनले भने, ‘उपभोक्ताले गुनासो तथा उजूरी प्रशासनमा दिएमा कारवाही हुन्छ ।’
आफूहरुले पनि अब यस बारेमा दवाब बढाउने उनले बताए । होटल व्यवसायी संघ सुर्खेतका अध्यक्ष ऐनबहादुर शाहीले भने होटल रेष्टुरेण्टहरुले दिने सेवाअनुसार मूल्य तोक्नु ठीक भएको भन्दै बचाउ गरेका छन् । ‘हरेक पसल तथा होटल व्यवसायीले आफ्नो सेवाको गुणस्तरका आधारमा मूल्य लिन्छन्,’ उनले भने, ‘ठूला होटलहरुको खर्च धेरै हुने भएकाले पानीको मूल्य पनि केही बढाएर बेच्नुपर्ने बाध्यता छ ।
’ अध्यक्ष शाहीले बचाउन गर्न खोजेपनि र होटल व्यवसायीले दोष जत्ति उद्योगलाई लगाएपनि उद्योग सञ्चालकले भने आफुहरुले प्रिन्ट गरेर दिएको मूल्य मूल्यअनुसार नै विक्री गर्न आग्रह गरेको बताएका छन् । ‘हामीले करसहितको मूल्य प्रिन्ट गरेका हुन्छौँ, मार्जिनपनि त्यसैमा हुन्छ ।’
मध्यपश्चिम वाटर एण्ड वेभरेज उद्योग प्रालिका सञ्चालक कृष्ण आचार्यले भने, ‘हामीले प्रतिलिटर ११ रुपैयाँ ५० पैसामा व्यापारीलाई दिन्छौं, उहाँहरुलाई २० रुपैयाँमा विक्री गर्न भनेका छौँ, सर्भिसका नाममा बढाएर बिक्री गर्नु गैरकानूनी हो ।’
यता, खाद्य प्रविधि तथा गुणस्तर नियन्त्रण डिभिजन कार्यालय सुर्खेतका खाद्य निरीक्षक भेषबहादुर थापाले भने कुनैपनि सामानमा २० प्रतिशत भन्दा धेरै नाफा खान नमिल्ने भन्दै मूल्य भन्दा बढि भए कालोबजारी ऐन अनुसार कारवाही हुने बताए ।
‘हाम्रो कार्यालयले गुणस्तर मापन गर्ने अधिकार छ तर मूल्यको हेर्ने अधिकार भने जिल्ला प्रशासनमा हुन्छ ।’ उनले भने, ‘यसमा अनुगमन प्रशासन कार्यालयले गर्नु पर्ने हो ।’ कार्तिक ५ गते गरेको बजार अनुगमनको क्रममा आफुले २–३ वटा उद्योगलाई ‘पानीको मूल्य बढि भो घटाउनुस’ भनेर सुझाव दिएपनि अझैं मूल्य नघटेको विषयमा भने आश्चर्य प्रकट गरे ।
अस्वभाविक मूल्यृवृद्धि कालोबजारी लगायतका विषयमा नियमन, नियन्त्रण गर्ने निकाय जिल्ला प्रशासन कार्यालयका प्रमुख जिल्ला अधिकारी खगेन्द्र रिजालले यस विषयमा ध्यान नगएको बताउँदै तत्कालै अनुगमनमा जाने बताए । कुनै पनि बहानामा तोकिएभन्दा बढि मूल्य लिन नपाइने भन्दै उनले अनुगमनका क्रममा त्यस्तो पाइए या उपभोक्ताबाट प्रमाणसहितको उजुरी आए तत्काल कारवाही गर्ने प्रतिवद्धतापनि उनले जनाए ।






