वीरेन्द्रनगर सहरलाई आधुनिक र सुरक्षित सहर बनाउने प्रतिबद्धता

सुर्खेत,१८ कात्तिक ।
नेकपा (एमाले) का स्थायी कमिटी सदस्य एवम् सुर्खेत क्षे नं. २ (क) का उम्मेदवार यामलाल कँडेलले चुनावी प्रतिबद्धतापत्र सार्वजनिक गर्दै वीरेन्द्रनगर सहरलाई आधुनिक र सुरक्षित सहर बनाउने प्रतिबद्धता व्यक्त गरे ।
कँडेलले सुर्खेत विमानस्थलको स्तरोन्नति गरी सुर्खेतबाट कर्णालीका हिमाली जिल्लामा उडानको आवश्यक व्यवस्था गर्न पहल गर्ने, वीरेन्द्रनगरको चक्रपथ निर्माणलाई पूर्णता दिने, प्रदेशस्तरीय बसपार्कको सम्भाव्यता अध्ययन गरी निर्माणका लागि पहल गर्ने उनको योजना छ ।

यसैगरी, प्रदेश अस्पताललाई शिक्षण अस्पतालका रूपमा सञ्चालन गर्नका लागि मेडिकल कलेजको पूर्वाधार निर्माण, वीरेन्द्रनगर नगरमा साइन्स पार्क निर्माण, भूमिहीन, सुकुम्बासी र अव्यवस्थित बसोवासको समस्या समाधानका लागि पूर्जा वितरणका लागि पहल गर्ने, उपत्यकाको ढल निकासका लागि गुरूयोजना बनाई कार्यान्वयन गर्न पहल गर्ने, वीरेन्द्रनगर नगरका विभिन्न क्षेत्रमा हाटबजार सञ्चालन गर्न पहल गर्ने, हालको उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयलाई स्वरोजगार तालिम केन्द्रको रूपमा विकास गर्ने योजना उनले समेटिएका छन् ।
आज शुक्रबार यहाँ प्रतिबद्धतापत्र सार्वजनिक गर्दै कँडेलले आफुले यसअघि निर्वाचनमा गरेका प्रतिबद्धतालाई पूर्णता दिने बताए । आफू निर्वाचित भएमा सार्वजनिक प्रतिबद्धता कार्यान्वयन गर्ने उनको भनाइ छ ।
गोरखापत्र





