सुर्खेत भ्यालीको फोहोर फाल्ने तारेभिर डम्पिङ साइटमा रोगविमारको चिन्ता

हसिर्जना बुढाथोकी
सुर्खेत, १७ असोज ।
हराभरा वनको काखैमा रहेको घर, जंगलका बयली, रुखविरुवाका सुसेली, चराचुरुंगीका चिर्रबिर्र सुन्दै, र हेर्दै आधा उमेर बिताएका वीरेन्द्रनगर नगरपालिका–१ धारापानीका ईच्छबहादुर फौँजालाई आजकल घर वरपर फैलिएको दुर्गन्धसंगै लामखुट्टेको टोकाइ र झिँगाको भ् mयाउँझ्याउँले निकै सताएको छ । ५ वर्षअघिसम्म उनलाई यस्तो समस्या थिएन ।

२०७३ सालदेखि नगरपालिकाले बजार क्षेत्रबाट उठाएको फोहोर फाल्नका लागि ल्याण्डफिल साटका रुपमा फौजाको घर नजिकैको तारेभिरलाई रोजेपछि उनको घरवस्तिमा वर्षहरुमा यस्तो समस्या देखिन थालेको हो । वीरेन्द्रनगर नगरपालिकाले अहिले वडा नं.–१ को श्रीकृष्ण सामुदायिक वनको खाली जग्गामा बनाइएको ल्याण्डफिल साइटमा उपत्यकाभित्रबाट उत्सर्जित फोहोरको व्यवस्थापन गर्दै आइरहेको छ ।

बजारभरीबाट दैनिक रुपमा उठ्ने करिव २ टन बराबरको फोहोर एकै ठाउँमा फाल्ने गरिएपछि स्वच्छ जंगल छेउको त्यो गाउँमा फैलिने दुर्गन्धले नाक थुनेपनि नजिकै जानसमेत नसकिने अवस्था छ । ‘बजारभरीको फोहोर ल्याएर हाम्रो घर नजिकै यसरी फालिदिन्छन्,’ अर्का स्थानीय खड्ग मगरले भने, ‘दुर्गन्धले निकै सताएको छ हामीलाई, यसरी घर छेउमै फोहोरको डंगुर छ ।’

वीरेन्द्रनगर–१ स्थित सिर्जना टोल र गंगटेखोलालगायतका ठाउँमा फोहोरको थुप्रो लागेको छ । नगर क्षेत्रबाट उठाएको फोहोरलाई बस्ती नजिकैका सडक किनारा र खोलामा फाल्ने गरिएको छ । ल्याण्डफिल्ड साइट निर्माण भइरहेको नजिकै फोहोर फाल्नुपर्ने भएपनि जथाभावी फाल्दा वन क्षेत्रमा फोहोर बनेको छ भने घाँसदाउरा गर्न र गाईवस्तु चराउनसमेत नमिल्ने गरी दुर्गन्ध फैलिएको मगरले बताए ।

नगरपालिकाले नगरभित्र उत्सर्जन हुने गरेका फोहोरहरु उनकै घर छेउमा रहेको श्रीकृष्ण सामुदायिक वनमा अव्यवस्थित ढंगले फालेकोमा उनलाई कत्तिपनि चित्त बुझेको छैन । फोहोरका कारण नै फौँजासहित करिब १ सय ६० घरधुरीलाई दुर्गन्धका कारण बस्नै सकस भइरहेको छ ।

‘ट्याक्टरमा ल्याउने फोहोर बाटोभरी खसाल्दै लैजान्छन्,’ उनले भने, ‘सबै फोहोर एकै ठाउँमा मिसाएर फाल्छन्, त्यो फोहोरको दुर्गन्धले गर्दा हाम्रो स्वास्थ्यसमेत जोखिममा पर्ने अवस्था आइसक्यो ।’ १६ वटा वडा रहेको वीरेन्द्रनगर नगरपालिकाको १ देखि १२ वडासम्मको फोहोर संकलन गरी वडा नं. १ धारापानीस्थित तारेभिरमा फाल्ने गरिएको छ ।

नगरपालिकाले फोहोरको व्यवस्थापन सही ढंगले नगर्दा आफूहरु दुर्गन्धमा बस्नुपरिरहेको स्थानीय लिलाराम पुरीले गुनासो गरे । ‘पहिला हाम्रो वडामा फाल्न स्वीकृती दिइहाल्यौँ,’ उनले भने, ‘अहिले यही फोहोरका कारण बालबालिका र वृद्धवृद्धामा विभिन्न रोगहरुसमेत देखा पर्ने गरेको छ, पछिल्लो समय डेंगीले महामारीको रुप लिँदै गर्दा हाम्रो घर छेउमै लामखुट्टे उत्पादन भइरहेको छ ।’

तारेभिरमा फोहोरको थुप्रोनजिकै पानीका मुहानहरु पनि छन् । ती पानीका मुहानहरु सिर्जना टोल र सोलिघोप्टे क्षेत्र तथा बराहताल गाउँपालिका–२ गिरीघाटस्थित बाढी प्रभावितले खानेपानीका रुपमा प्रयोग गरिरहेका छन् । फोहोरको थुप्रो छेउमा कुहिरेपानी खोला बगिरहेको छ ।

त्यहि पानी गिरीघाटस्थित बाढी प्रभावित शिविरका बासिन्दाले पिउँछन् । ‘दुई÷तीन वटा पानी ट्यांकी छन्,’ फौँजाले भने, ‘यहाँका केही परिवारले त्यहि पानी प्रयोग गर्छन्, फोहोर फाल्न आउनेले हामीलाई परेको असरको ख्याल नै गर्दैनन् ।’ फोहोर फाल्ने क्षेत्रका रुपमा प्रयोग भइरहेको श्रीकृष्ण सामुदायिक वनका अध्यक्ष पद्मा थापाले सम्बन्धित ठाउँमा नपुग्दै बाटोभरी चुहाउँदै फोहोर लिने गरेकोमा गुनासो गरिन ।

‘ट्रयाक्टर भरीभराउ बनाएर राम्रोसँग त्रिपाल नलगाएर ल्याउँछन्,’ उनी भन्छ्नि, ‘कहिले पानी प¥यो भनेर त कहिले गाडी बिग्रीयो भनेर बाटोमै फोहोर फालेर जान्छन् ।’ डम्पपिंग साइटसम्म जाने पहुँच मार्गसमेत राम्रो नहुँदा गाडीहरु बाटोमै रोकेर फोहोर फाल्ने गरेको उनको भनाइ छ । धारापानीका स्थानीयले आफूहरुलाई जिम्मेवार नभएको भन्दै असन्तुष्टि जनाएको उनको भनाइ छ ।

‘फोहोर फाल्नेलाई त केही मतलब नै छैन नि,’ अध्यक्ष थापाले भनिन्, ‘उनीहरुलाई यहीँ फोहोर फ्याँक्न भनिएको छ, यो फोहोरले गर्दा स्थानीयको जीवनशैलीमै परेको असरप्रति नगरपालिकाको ध्यान जान सकेको छैन ।’ आफूहरुले धेरैपटक नगरपालिकामा फोहोर व्यवस्थित गर्न भनेपनि सुनुवाई नभएको उनले सुनाइन् ।

‘फोहोर यहाँ फालेर सधैँ आगो लगाइरहन्छन्,’ उनले भनिन्, ‘पानी परेको बेलाबाहेक जतिबेला पनि आगो लागिरहेको हुन्छ, आगोले गर्दा स्वास्थ्यमा त असर परेको छ नै खडेरीको समयमा वनमा समेत आगलागी हुने गरेको छ ।’ आगलागीका कारण जनावरसमेत विस्थापित भएको उनको भनाइ छ ।

ल्याण्डफिल्ड साईट बन्द
फोहोर व्यवस्थापनका लागि वीरेन्द्रनगर–१ मा रहेको कृष्ण सामुदायिक वनमा ल्याण्डफिल्ड साइट निर्माण भइरहेको छ । ल्याण्डफिल साइटको जग्गा प्राप्तिको प्रक्रिया २०६७ देखि शुरु भएको हो । सुरुको वर्ष प्रारम्भिक वातावरणीय मुल्यांन (आइई) र विस्तृत परियोजना प्रतिवेदन (डीपीआर) पछि निर्माण कार्य भने २०७७ देखि शुरु भएको नगरपालिकाका वरिष्ठ अधिकृत प्रकाश पौडेलले बताए ।

हाल ल्याण्डफिल साईटअन्तर्गत दिशाजन्य लेदो ब्यबस्थापन र सेग्रिगेशन सेन्टरको काम मात्र सुरु भएको छ । निर्माण थालेको लामो समय भइसक्दा पनि संरचना निर्माणका काम अझै अधुरै छन् । अहिले दिशाजन्य लेदो व्यवस्थापनका लागि प्लान्ट निर्माणको काम भइरहेको पौडेलले बताए । उनका अनुसार प्लान्टमा दिशाजन्य लेदो प्रशोधित गरेर सफा पानी निकाल्ने काम गरिने छ । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले स्रोतको खोजी गरिरहेको उनको भनाइ छ ।

फोहोर व्यवस्थापनका लागि डीपीआरबमोजिम काम नभएको भन्दै उनले ३४ करोड लगानीका लागि स्रोत खोजिरहेको बताए । नगरपालिकाले संघ र प्रदेश सरकारसँग पहिलो प्राथमिकतामा राखेर फोहोर व्यवस्थापनका लागि बजेट माग गरेको पौडेल बताउँछन् । उनका अनुसार दिशाजन्य लेदो व्यवस्थापनका लागि एसएनभी र सेग्रिगेशन युएनडीपीले सहयोग गरेको छ ।

अन्य कामका लागि भने नगरपालिकाले स्रोत खोजिरहेको वरिष्ठ अधिकृत पौडेलको भनाइ छ । लेदो व्यवस्थापन प्लान्ट निर्माणका लागि हालसम्म दुई करोड बजेट खर्च भएको छ । त्यस्तै, पहुँच मार्ग निर्माण तथा स्तरोन्नतिमा नगरले तीन करोड बजेट खर्च गरेको उनको भनाइ छ ।

नगरपालिकाले ल्याण्डफिल्ड साइट तथा फोहोर व्यवस्थापन गर्ने स्थानसम्म पुग्न अहिले बाटो, भवन तथा प्लान्ट निर्माणको काम गरिरहेको छ । फोहोर व्यवस्थापनका लागि नगरपालिकाले वार्षिक एक करोड रुपैयाँ छुट्याउने गरेको छ ।

यस्तै, ल्याण्डफिल साईटसम्मको सडक सुधारका लागि करिब ६० लाख रुपैयाँ छुट्याएको पौडेलको भनाइ छ । जसमध्ये वडा नं. ६ अर्थात मुख्य बजार क्षेत्रको फोहोर व्यवस्थापनका लागि मात्र मासिक एक लाख ४० हजार रुपैयाँ खर्च हुन्छ ।

हाल वीरेन्द्रनगरबाट दैनिक करिव २० टन फोहोर उत्पादन हुने नगरपालिकाले जनाएको छ । अधिकृत पौडेका अनुसार २० टनमध्ये सात टन मात्रै फोहोर व्यवस्थापन हुन्छ । ‘फोहोर दिनप्रतिदिन बढ्दै गइरहेको छ,’ उनले भने, ‘जनसंख्या बढ्दै जाँदा फोहोर पनि बढेको छ तर हामी व्यवस्थापन गर्न सकिरहेका छैनौँ ।’

सुर्खेत भ्यालीको फोहोर फाल्ने तारेभिर डम्पिङ साइटमा रोगविमारको चिन्ता

YUGAAWHAN NATIONAL DAILY (2079-06-16)

सुर्खेत भ्यालीको फोहोर फाल्ने तारेभिर डम्पिङ साइटमा रोगविमारको चिन्ता

माओवादी केन्द्रीय सदस्य छक्कबहादुुर लामा एमालेमा प्रवेश

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!