पहिचानकै संघर्षमा ‘लैंगिक अल्पसंख्यक’

सिर्जना बुढाथोकी

सुर्खेत, १६ मंसिर ।

सल्यानको खलंगामा जन्मिएकी अञ्जली वी.सी यौनिक तथा अल्पसंख्यक समुदाय (समलिङ्गी) मा पर्छिन् । जन्मिदा प्राकृतिक र शारीरिक रुपमा ‘छोरा’ भएपनि बिस्तारै उनमा छोरीको स्वभाव बढ्दै गयो । उनी छोरा भए पनि छोरीको स्वभावले आफुलाईं फरक ठान्दै गइन् ।

१२ वर्षपछि मात्रै उनलाई आफु यौनिक तथा अल्पसंख्यक समुदायमा पर्छु भनेर थाहा भयो । ‘छोरा भए पनि मलाई छोरीमान्छेले लगाउने कपडा लगाउन मन लाग्ने, केटी साथीहरुसँग साथ गर्न मन लाग्यो, केटी साथीहरुले खेल्दा उनीहरुसँगै खेल्न मन लाग्ने हुन्थ्यो’ उनले भनिन्, ‘मेरो स्वभाव देखेर गाउँलेले पनि मेरा परिवारलाई धेरै कुरा सुनाउँथे, मेरो आमा सधै रुनुहुन्थ्यो ।’

उनमा छोरीको स्वभाव देखेपछि आफन्त साथीभाईले हेप्ने गरेको उनी सुनाउँछिन् । ‘छक्का, हिजडा जस्ता शब्द भन्दा साह्रै मन दुख्थ्यो’, उनले भनिन्, ‘चाहेर पनि कोहि यस्तो हुँदैन नि, प्रकृतिले नै यस्तो बनाएर पठाए त हाम्रो के दोष ।आफु समाजमा आत्मसम्मानका साथ बाँच्नका लागि निकै संघर्ष गर्नुपरेको उनले सुनाइन् ।

‘एउटा कार्यक्रमको लागि काठमाडौंबाट आउनुभएको मेडमले मलाई तपाई जस्तो धेरै हुनुहुन्छ, ब्लु डाइमण्ड संस्था छ भनेर भन्नुभयो’, उनले भनिन्, ‘उहाँकै सहारामा म सुर्खेत आएँ, म सुर्खेत आउँदा नितान्त एक्लो थिए ।’ सुर्खेतमा पहिलो पटक आफु आएको र विस्तारै आफुजस्ता अरुपनि खुल्दै गएको उनले सुनाइन् ।

आफुजस्तै अरुले केहि काम गर्नै नसक्ने, यौनजन्य कार्यलाई पेशा बनाउँछनन भन्ने मानसिकता अझैपनि परिवर्तन नभएको अञ्जलीको गुनासो छ । अहिले आपूmलाई ‘तेस्रोलिंगी’ भनेर खुलेरै चिनाउन पाउँदा खुशी लागेको उनले बताइन् ।

आफुले विगत दश वर्षदेखि सुर्खेतमा आएर बसेको र नील हिरा समाज सुर्खेतकी कार्यक्रम संयोजक भएर काम कगरिरहेको अञ्जलीले बताइन् । ‘सबै नखुलेका कारण यकिन तथ्यांक नभएपनि ढाई तीन सयको हाराहारीमा सुर्खेतमा यौनिक तथा अल्पसंख्यक छन्’, उनले भनिन्, ‘यौनिक तथा लैङ्गिक कुनै रोग नभई जन्मजात हर्मोनका कारण आउने परिवर्तन भएकोले आफुहरु प्रतिको सोच परिवर्तन भए हुन्थ्यो लाग्छ ।’

अञ्जली जस्तै जेनिशा पनि यौनिक तथा अल्पसंख्यक समुदायकै हुन् । वीरेन्द्रनगर–१ की जेनिशा नेपाली पनि जन्मिदा छोरा भएपनि छोरीको जस्तो व्यवहारले उनलाई आफुले छोरा नभएको अनुभूति गरायो । ‘समाजले त मलाई देख्यो भने हाँस्ने, छक्का हिजडा भनेर जिस्काउने गर्थे’, उनले भनिन्, ‘मेरो परिवारले भने मलाई छोरा हो भनेरै समाजमा चिनाउनतर्फ लाग्यो, जुन म पक्कै थिइन् ।’

आपूmले बुझ्ने भएपछि विद्यालय जान सक्नेसम्म आँट गर्न आफुले नसकेको उनले दुःखेसो सुनाईन् । ‘मलाई देख्ने बित्तिकै खासखुश कुरा गर्ने गर्थे छरछिमेकीले, किन यस्तो गरेका होलान् भन्ने लाग्थ्यो’, उनले भनिन्, ‘छोरा भएर पनि छोरा मान्छे नै मन पर्ने, मलाई के भएको होला? म किन यस्तो भएर जन्मिए? भन्ने प्रश्नले रात दिन सताउँथ्यो ।’

आफुले समलिंगी पुरुष हो भन्ने थाहा पाएपछि समाजले के भन्ला? भविष्य के होला? भन्ने चिन्ताले आफुलाई सताएको उनले बताइन् । आफु जस्तै अञ्जली सुर्खेत आएको थाहा पाएपछि भेट्न गएको र अब खुलेर हामी यस्तो हो भनेर चिनाउन लाग्नुपर्छ भन्ने सोच बनाएर अगाडि बढेको उनीहरुको भनाई छ ।

आफु हरु जस्तै सुर्खेत जिल्लामा मात्रै करिब ४० जनाको संख्यामा रहेपनि सामाजिक तिरस्कार हुनसक्ने डरले नखुलेको जेनिषाको भनाई छ । उनीहरुले आफुहरु जस्ता नागरिकका लागि पनि पहिचान खुल्ने खाल्को परिचय पत्र, सामाजिक सुरक्षा भत्ता अथवा शैक्षिक योग्यताका आधारमा रोजगारीका लागि सीपमूलक कार्यक्रम लागू गर्नुपर्ने माग गरेका छन् ।

यौनिक तथा अल्पसंख्यक समुदायका नागरिकलाई आत्मनिर्भर बनाउन सरकारले पहल गरेको भए आफु जस्ता धेरै खुल्ने पनि जेनिषाको भनाई छ । गाउँघर, समाज र परिवारबाटै हेलामा परेका यौनिक तथा अल्पसंख्यक नागरिकलाई सरकारले पनि ध्यान नदिएको उनीहरुको गुनासो छ ।

सामाजिक विकास मन्त्रालयकी महिला तथा बालबालिका अधिकृत अनिता ज्ञवालीले प्रदेश सरकारले गर्ने जुनसुकै कार्यक्रम, तालिम, सीपमूलक आय–आर्जनको काममा भने लैंगिक अल्पसंख्यकहरुलाई प्राथमिकता दिने गरेको जानकारी दिईन ।

प्रदेश सरकारले यौनिक तथा लैङ्गीक अल्पसंख्यक नागरिकका लागि नै भनेर छुट्टै योजना निर्माण र बजेट व्यवस्थापन नगरेपनि राज्यबाट पाउने सेवासुविधा र अवसरबाट वञ्चित नहुनका लागि उनीहरु आफैपनि खुल्ने स्थिति बनाउनुपर्नेमा जोड दिइन् ।

अधिकारकर्मी भूमिका श्रेष्ठले नागरिकतामा राज्यले पहिचान दिएपनि घरपरिवार र समाजबाट स्वीकारोक्ति पाउन अझै संघर्ष गरिरहनु परेको उल्लेख गरिन । ‘त्यहि डरका कारण थुप्रैले आफ्नो यौनिक तथा लैङ्गिक पहिचान लुकाउन बाध्य छन्’, उनले भनिन्, ‘थोरै संख्यामा खुलेकाहरूले पनि फरक पहिचानकै कारण शिक्षा, स्वास्थ्य, रोजगारी जस्ता आधारभूत सेवा पाउन संघर्ष गर्नु परिरहेको छ ।’

पहिचानकै संघर्षमा ‘लैंगिक अल्पसंख्यक’

अन्तर्राष्ट्रिय बजारमा कर्णालीको सुगन्धित तेल

पहिचानकै संघर्षमा ‘लैंगिक अल्पसंख्यक’

लोप हुँदै तेल पेल्ने ‘दुनेडी’

Leave a comment

Your email address will not be published. Required fields are marked *

Leave the field below empty!