टाउको नभएको बच्चा कुकुरले च्यापेर हिडेपछि …

सुर्खेत, १९ चैत्र ।
टाउको बिनाको बच्चाको शव बोकेर कुकुर अस्पताल वरिपरि घुमिरह्यो, अस्पतालले चालै पाएन । टाउकोबिनाको बच्चाको शव कुकुरले अस्पताल वरिपरि घुमाइरहे पनि कहाँबाट कुकुरले बच्चा भेट्यो र कसको बच्चा हो भन्नेबारे अहिलेसम्म खुल्न सकेको छैन । अहिले त्यसको सोधीखोजी चलेको छ ।
‘बिहान ७ बजेतिर एउटा मृत शिशुलाई टाउको नभएको अवस्थामा कुकुरले दाँतमा च्यापेर अस्पतालभित्रै ल्यायो,’ अस्पतालमा बिरामी कुरुवा बसेका वीरेन्द्रनगरका हरि कँडेलले भने, ‘बच्चाको टाउको थिएन, शरीर मात्रै कुकुरले दाँतमा च्यापेर अस्पताल वरिपरि घुमिरह्यो । धेरै मान्छेको भीड देखेपछि कुकुर सडकतिर लाग्यो ।’
बच्चाको शव कुकुरले बोकेर यसरी अस्पताल परिसरमै ल्याउनुले अस्पताल प्रशासनको व्यवस्थापकीय कमजोरी र अभिभावकको गैरजिम्मेवारी प्रष्ट देखिने कँडेलको भनाइ छ । यता कर्णाली प्रदेश अस्पताल प्रशासनले भने यो विषयमा जानकारी नभएको बताएको छ ।
‘यो विषयमा त हामीलाई केही पनि थाहा छैन, तपाईंले भनेपछि मात्रै मैले थाहा पाएँ,’ प्रदेश अस्पतालका सूचना अधिकारी विनोद बस्नेतले भने, ‘आज शनिबारको दिन म पनि बाहिर छु । पछि बुझौँला नि ।’







