फोर्सको ठक्करबाट वडा अध्यक्ष कार्की गम्भिर घाइते

छिन्चु, ९ फागुन ।
भेरीगंगा नगरपालिका वडा नं. १ का वडा अध्यक्ष नवराज कार्की गम्भिर घाइते हुनुभएको छ । आइतबार फोर्स गाडीले मोटरसाइकललाई ठक्कर दिएर दुर्घटनाबाट घाइते हुनुभएका वडा अध्यक्ष कार्कीको टाउँकोमा गम्भिर चोट लागेको छ ।
उहाँको प्रदेश अस्पताल कालागाउँमा उपचार भैरहेको छ । टाउकोमा चोट लागेर बेहोस भएपछि उहाँको हतारहतार आइतबार रातीनै सल्यक्रिया गरिएको थियो । ७२ घण्टापछि होस खुल्ने चिकित्सकको भनाई रहेको छ । विरामीको अवस्था अनुसार होस खुलेपछि थप उपचारका लागि काठमाडौं लाने तयारी भैरहेको परिवार स्रोतले जानकारी दिएको छ ।
वडा अध्यक्ष सवार मोटरसाईकललाई फोर्स गाडीले ठक्कर दिँदा भेरीगंगा–१ का वडा अध्यक्ष कार्कीसहित वाईसील भेरीगंगाका अध्यक्ष भुपेन्द्र शाही घाइते हुनुभएको छ । शाहीको अनुहार र खुट्टामा चोट लागेको छ ।
रत्न राजमार्ग अन्तरगत भेरीगंगा नगरपालिका वडा नं. १२ छिन्चु बजारदेखी पश्चिमतर्फको सडकमा नेपालगञ्जबाट सुर्खेत आँदै गरेको कर्णाली प्रदेश ०२००१ ख ०५४६ नम्वरको फोर्स गाडीले सुर्खेतबाट छिन्चु आउँदै गरेको भे ६ प ४४०१ नम्वरको मोटरसाईकललाई ठक्कर दिँदा दुर्घटना भएको ईलाका प्रहरी कार्यालय छिन्चुले जानकारी दिएको छ । आइतबार दिउँसो करिव २ बजेर ४७ मिनेटको समयमा घटना भएको प्रहरीले जनाएको छ । गाडी चालक निमराज रसाईली फरार रहेको र खोजी कार्य जारी रहेकोे छ ।






