गठबन्धन दलबीच नै चुनावी प्रतिस्पर्धा
सुर्खेत, १५ कात्तिक ।
मङ्सिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि कर्णालीमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा समाजवादीबीच गठबन्धन भए पनि समाजवादीले प्रदेशसभाका चार निर्वाचन क्षेत्रमा आफ्ना उम्मेदवार उठाएको छ । प्रदेशका सबै जिल्लामा प्रतिनिधिसभा वा प्रदेशसभामा भाग खोजेको समाजवादीले भाग नपाएपछि उम्मेदवार अगाडि सारेको हो ।
कर्णालीमा समाजवादीले १२ प्रतिनिधिसभामध्ये तीन क्षेत्र सल्यान, डोल्पा र दैलेख–१ र प्रदेशसभातर्फ २४ मध्ये दुई क्षेत्र मुगु (क) र जुम्ला (ख) पाएको छ । भागबण्डामा नपरेपछि असन्तुष्टि जनाउँदै पार्टीको जनमतका आधारमा गठबन्धनका आधिकारिक उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका छन् । प्रदेशका केही प्रदेश सभा निर्वाचन क्षेत्रमा गठबन्धन दलहरुभित्रै चुनावी प्रतिस्पर्धा हुने भएको छ ।
सुर्खेतका चार प्रदेशसभा निर्वाचन क्षेत्रमध्ये दुई क्षेत्रमा नेकपा समाजवादीका उम्मेदवार उठाएको छ । सुर्खेतको प्रतिनिधिसभा क्षेत्र नम्बर २ (क) र (ख) मा समाजवादीका नेताहरुले दलबाट आधिकारिक टिकट लिएर चुनावी प्रचारमा लागेका छन् । भागबण्डामा यो निर्वाचन क्षेत्रमा प्रदेशसभा २ (क) नेपाली काँग्रेस र (ख) नेकपा माओवादी केन्द्रको भागमा परेको छ । गठबन्धनका तर्फबाट (क) मा काँग्रेसका कालीप्रसाद शाक्य र (ख) मा माओवादीका विन्दमान विष्ट उम्मेदवार बनेका छन् ।
नेकपा समाजवादीले (क) मा शिवप्रसाद उपाध्याय र (ख) मा मोहनसिंह बडुवाललाई गठबन्धनविरुद्ध उम्मेदवार बनाएको छ । सुर्खेतमा जनमतको कदर गर्दै दलबाट छुट्टै उम्मेदवारी परेको नेकपा (एस) सुर्खेका अध्यक्ष मोहनसिंह बडुवालले बताए । गठबन्धनको निर्णय एकातिर छ, हामीसँग जनताको साथ छ,’ उनले भने हामीले पार्टीलाई निर्णय गरी पठाएपछि उताबाट लड्नुस् भनेर आधिकारिक टिकट आएपछि उम्मेदवारी दिएका हौं । उता कालीकोटमा पनि गठबन्धनविरुद्ध उम्मेदवारी परेको छ ।

भागबण्डा अनुसार प्रदेशसभा (क) मा माओवादीका दुर्गबहादुर रावत र प्रदेशसभा (ख) मा काँग्रेसका हिक्मतबहादुर विष्ट गठबन्धनका आधिकारिक उम्मेदवार हुनुहुन्छ । यो निर्वाचन क्षेत्रमा नेकपा समाजवादीबाट विश्वराज बमले गठबन्धनका उम्मेदवारविरुद्ध उम्मेदवारी दिएका छन् । हुम्लामा पनि नेकपा (एस) बाट गठबन्धनविरुद्ध उम्मेदवारी परेको छ । हुम्लाको (क) मा माओवादी र (ख) मा कांग्रेसले पाउनेगरी गठबन्धनमा सहमति भएको थियो । प्रदेश (क) मा माओवादी केन्द्रका रनसिंह परियार गठबन्धन दलले उठाएका उम्मेदवार हुनुहुन्छ, भने, समाजवादीका हस्तबहादुर शाही परियारको प्रतिद्वन्द्वी बनेका छन् ।
समाजवादीका केन्द्रीय सदस्यसमेत रहेका शाही गठबन्धन गर्न मुख्य भूमिका खेल्ने दलमाथि प्रहार भएपछि मित्रवत् प्रतिस्पर्धा गर्नुपरेको बताए । ‘राजनीतिक फाटो आएको समयमा गठबन्धनको बीजारोपण गराउने हाम्रो दललाई नै पाखा लगाउने काम भएपछि यो अवस्था आएको हो,’ उनँले भने , ‘हामीले यहाँ पार्टीको जनमतको आधारमा निर्णय गरी पठाएपछि दलले हामीलाई चुनाव लड्न सहमति दिएको हो ।’ हुम्ला (ख) मा नेपाली कांग्रेसले हालका कर्णालीका मुख्यमन्त्री जीवनबहादुर शाहीलाई गठबन्धनबाट उम्मेदवार बनाएको छ ।
गोरखापत्र






