प्रधानमन्त्री कप क्रिकेट ः पुलिसको दोस्रो जित
काठमाडौं,१५ कात्तिक ।
विभागीय टोली नेपाल पुलिस क्लबले प्रधानमन्त्री कप एकदिवसीय पुरुष क्रिकेट प्रतियोगितामा लगातार दोस्रो जित निकालेको छ। मूलपानी क्रिकेट मैदानमा सोमबार भएको खेलमा प्रदेश १ लाई सात विकेटले हराउँदै पुलिसले लगातार दोस्रो जित निकालेको हो। आइतबार भएको पहिलो खेलमा पुलिसले बागमती प्रदेशलाई एक सय ९२ रनको विशाल अन्तरले पराजित गरेको थियो ।
प्रदेश–१ ले दिएको एक सय तीन रनको मध्यम लक्ष्य पछ्याएको पुलिसले १४ ओभरमा तीन विकेट गुमाएर जित निकालेको थियो। पुलिसको जितमा कुशल भुर्तेलले ४२ रनको योगदान दिए। यस्तै शंकर रानाले २९, रासिद खानले अविजित १६ र दीपेन्द्रसिंह ऐरीले १४ रन बनाए। प्रदेश १ का फिर्दोस अन्सारी र सिद्धान्त लोहनीले एक÷एक विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको प्रदेश १ ले ३५.१ ओभरमा अलआउट हुँदै एक सय दुई रनको योगफल खडा गरेको थियो। प्रदेश १ का निरज मुखियाले सर्वाधिक २९ रन बनाए। यस्तै अंकित सुवेदीले २४ र विवेकआनन्द मेहेताले १७ रन जोडे। पुलिसका ललित राजवंशी एक्लैले पाँच विकेट लिए। यसैगरी सागर ढकाल र दीपेन्द्र सिंह ऐरीले दुई÷दुई एवं रासिद खानले एक विकेट हात पारे।
लगातार दोस्रो जित निकालेको पुलिसले चार अंक जोडेको छ। पुलिस समूह ‘बी’ को शीर्ष स्थानमा छ। यसैगरी कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा भएको खेलमा गण्डकी प्रदेशले सुदूरपश्चिम प्रदेशलाई ६९ रनले पराजित गरेको थियो। दुई सय नौ रनको लक्ष्य पछ्याएको सुदूरपश्चिमले ३२.४ ओभरमा एक सय ३९ रन मात्र बनाउन सक्यो। सुदूरपश्चिमका मदन बोहराले अर्धशतकीय पालि खेले पनि टोलीलाई जित दिलाउन सकेनन्।
उनले ६४ बलमा एक छक्का र तीन चौकाको मद्दतमा ५१ रन बनाएका थिए। यसैगरी गजेन्द्र बोहराले ३५ र वसन्त कार्कीले १० रनको योगदान दिए। सुदूरपश्चिमका अन्य खेलाडीले दोहोरो अंकमा रन जोड्न सकेनन्। गण्डकीका विपिन खत्रीले चार विकेट लिए। यस्तै सुवास भण्डारी र अभिषेक बस्नेतले दुई÷दुई एवं अमृत गुरुङले एक विकेट हात पारे।
यसअघि टस जितेर पहिले ब्याटिङ गरेको गण्डकीले निर्धारित ५० ओभरमा आठ विकेटको क्षतिमा दुई सय आठ रन बनाएको थियो। गण्डकीका अर्जुन कुमालले ६३ रनको अर्धशतकीय पालि खेलेका थिए। यस्तै समीर कँडेलले २६, विधान श्रेष्ठ र अभिषेक बस्नेतले समान २५, सन्दीप क्षत्रीले १९ तथा कप्तान विपिन खत्री र कमल परियारले समान १३ रन बनाए।
सुदूरपश्चिमका कैलास ऐर, नारायण जोशी र शेर मल्लले दुई÷दुई विकेट लिए। यस्तै नरेन साउदले एक विकेट हात पारे। प्रतियोगितामा गण्डकीको पहिलो जित हो। समूह ‘ए’को शीर्ष स्थानमा रहेको गण्डकीले दुई अंक जोडेको छ। विभागीय टोली एपीएफको दुई अंक भए पनि गण्डकी रनरेटका आधारमा शीर्ष स्थानमा उक्लिएको हो।
अन्नपुर्ण





