चर्चामा प्रादेशिक बसपार्कको योजना तर कार्यान्वयन हुनेमा अझै आशंका

सुर्खेत । वीरेन्द्रनगरमा व्यवस्थित र सुविधायुक्त बसपार्कको खोजी हुन थालेको २६ बर्ष पुग्यो । तर वीरेन्द्रनगरले अहिलेसम्म पनि व्यवस्थित बसपार्क पाउन सकेको छैन । २०५४ सालमा तत्कालीन आवश्यकतालाई मध्यनजर गर्दै वीरेन्द्रनगरमा सिटी बसपार्कको बनाउने योजना अगाडि सारियो ।

समयक्रमसँगै वीरेन्द्रनगर बदलियो । जिल्ला सदरमुकाम हुँदै वीरेन्द्रनगर क्षेत्रीय सदरमुकाम बन्यो । तत्कालीन मध्यपश्चिमाञ्चल विकास क्षेत्रको सदरमुकाममा विस्तार भएपछि वीरेन्द्रनगरमा चहलपहल थपियो ।

यातायातको विकासक्रमसँगै वीरेन्द्रनगरमा सवारीको चाप बढ्यो । वीरेन्द्रनगरबाटै दैलेख, कालिकोट, जुम्लाहुँदै मुगु तथा सल्यान, जाजकोटसम्म गाडीहरु गुड्न थाले । सुर्खेतबाट राजधानी काठमाडौदेखि देशका विभिन्न ठाउँसम्म गाडीहरु छुट्न थाले । वीरेन्द्रनगरको विकास र शहरिकरण यतिकैमा रोकिएन ।

२०७२ पछि मुलुक संघीयतामा प्रवेश ग¥यो । त्यसपछि वीरेन्द्रनगर कर्णाली प्रदेशको राजधानी बन्यो । वीरेन्द्रनगर प्रदेशको राजधानी बनेपछि सवारीको चाप ह्वात्तै बढ्यो । २०५२ सालदेखि चर्चामा रहेको सिटी बसपार्कको सपना २५ बर्षपछि पुरा भयो । तर सिटी बसपार्कले वीरेन्द्रनगरमा सवारी साधनको चाप थेग्न सकेन ।

सिटी बसपार्कले सवारी साधानको चाप थेग्न नसकेपछि २६ बर्षदेखि खोजी गरिएको व्यवस्थित र ठूलो क्षमताको बसपार्क निर्माण गर्ने योजनालाई पछिल्लो दुई बर्षदेखि अगाडि सारिएको छ । वीरेन्द्रनगर नगरपालिकाले आगामी आर्थिक बर्षको आफ्नो नीति तथा कार्यक्रम र बजेटमा ‘वीरेन्द्रनगर–१ मा सुर्खेत बसपार्क निर्माण’ गर्ने घोषणा गरेको छ ।

संघीय सरकार, प्रदेश सरकार र नीजि क्षेत्रसँगको सहकार्यमा बसपार्क निर्माण कार्य अगाडि बढाइने घोषणा गरिएको हो । नीजि साझेदारी–सार्वजनिक–साझेदारी अवधारणाको योजना अनुरुप सुर्खेत बसपार्क निर्माण गर्ने घोषणा गरिएको छ । बारम्बार यहाँका दलहरुको चुनावी नारा बन्दै आएको सुर्खेत बसपार्कको योजना पछिल्ला दिनमा आवश्यकता नै बनेको छ ।

यद्यपी नीति तथा कार्यक्रममा समावेश भए पनि यसको कार्यान्वयनको भने कुनै टुङ्गो छैन ।  योजना कार्यान्वयनका लागि न स्थानीय तहसँग बजेट छ, न त डीपीआर नै तयार भएको छ । यद्यपी वीरेन्द्रनगर नगरपालिकाले भने सुर्खेत बसपार्कको योजना कार्यान्वयन गर्ने उद्देश्यले ल्याइएको जनाएको छ । चालु आर्थिक बर्षमासमेत नगरपालिकाले प्रादेशिक बसपार्क निर्माण गर्ने योजना अगाडि सारेको थियो । तर योजना कार्यान्वयन भएन ।

प्रादेशिक बसपार्क निर्माणका लागि वीरेन्द्रनगर–१ को बाङ्गेसिमल र ११ को सुब्बाकुना क्षेत्रलाई सम्भावित क्षेत्रका रुपमा अगाडि सारिएको थियो । तर सुब्बाकुनाभन्दा बाङ्गेसिमल क्षेत्र नै उपयुक्त देखिएको छ । वीरेन्द्रनगर प्रदेशको राजधानी भएसँगै प्रादेशिक बसपार्कको अभाव खट्कीएको छ । प्रदेश राजधानी बनेपछि वीरेन्द्रनगरमा सवारी साधनको चाप दोब्बर बनेको छ ।

हाल वीरेन्द्रनगर विभिन्न १३ वटा यातायात समिति र प्रालि छन् । यातायात व्यवसायीका अनुसार दैनिक कम्तिमा पनि दुई सयभन्दा बढी गाडीले वीरेन्द्रनगलमा आउजाउ गर्दै आएका छन् । सुर्खेतमा अहिले २० हजार सवारी साधन छन् । तर चार हजार पाँचसय वर्गमिटर क्षेत्रफल रहेको हालको सिटी बसपार्कमा ९० वटा ठूला र २० वटा साना मिनीबस गरी एकसय १० वटा गाडी मात्र थेग्छ । क्षमता अनुसारको बसपार्क नहुँदा हाल गाडी धनीले बाध्य भएर सडक र चोकमा गाडी पाकिङ्ग गर्नुपर्ने बाध्यता छ ।

पार्किङ्गस्थलको अभावले यात्रुलेसमेत सास्ती भोग्दै आएका छन् । अर्कोतर्फ ट्राफिक व्यवस्थापनमा हम्मेहम्मे परेको छ । बसपार्कले सवारी साधनको चापलाई थेग्न नसक्ने भएपछि वीरेन्द्रनगरमा प्रादेशिक बसपार्कको योजना अगाडि सारिएको छ । पछिल्ला वर्षमा चर्चामा आइरहने प्रादेशिक बसर्पाकको योजना कार्यान्वयन भने हुन सकेको छैन ।

साउनबाटै काम थाल्ने नगरपालिकाको अठोट

वीरेन्द्रनगर नगरपालिकाले भने आगामी आर्थिक बर्षको सुरुवातमै प्रादेशिक स्तरको सुर्खेत बसपार्क निर्माण गर्ने दाबी गरेको छ । ‘बसपार्कको योजना देखाउन नभई कार्यान्वयन गर्ने उद्देश्यले नीति तथा कार्यक्रममा समेटेका छौँ’ नगर प्रमुख देवकुमार सुवेदीले भने, ‘आउँदो साउनबाट नै यो आयोजना कार्यान्वयनमा लैजान्छौँ ।’ बसपार्कको आयोजना कार्यान्वयनका लागि सुरुमा डिपीआर तयार गरिने छ ।

डीपीआर तयार भएपछि मात्रै जग्गा प्राप्तिको प्रक्रिया अगाडि बढाइने सुवेदीले बताए । प्रादेशिक बसपार्क निर्माणका लागि कृष्ण सामुदायिक वनले जग्गा उपलब्ध गराउने सहमति जनाइ सकेको छ । कृष्ण सामुदायिक वनको पत्र अनुसार नै बसपार्कको योजना ल्याइएको नगर प्रमुख सुवेदीले बताए ।

‘बसपार्क निर्माणका लागि सामुदायिक वनका उपभोक्ताहरुले सहमति जनाइ सकेका छन्’ उनले भने, ‘साउनको पहिलो सातादेखि नै प्राविधिक मूल्याङ्कन सुरु हुन्छ ।’ प्राविधिक मूल्याङ्कनपछि जग्गा प्राप्तिका लागि सामुदायिक वन र जिल्ला वन कार्यालयसँग समन्वय थालिने छ । उपभोक्ताहरुले जग्गा दिने सहमति गरिसकेकाले जग्गा प्राप्तिमा अप्ठेरो नहुने नगरपालिकाको भनाइ छ । वीरेन्द्रनगर–१ बाङ्गेसिमलस्थित प्रहरी चौकीभन्दा थोरै माथि यो बसपार्क निर्माण गर्ने योजना छ ।

निजी क्षेत्रको लगानी जुटाइने

नगरपालिकाले यो बसपार्क निर्माण गर्ने घोषणा गरे पनि लगानीको भने टुङ्गो छैन । आगामी नीति तथा कार्यक्रममा बसपार्क निर्माण गर्ने उल्लेख गरे पनि नगरपालिकाले आयोजनाका लागि बजेट भने विनियोजना गरेको छैन । बजेट विनियोजन नगरेकै कारण बसपार्क बन्नेमा आशंका छ । तर नगरपालिकाले भने ऋण लिएर भए पनि बसपार्क बनाउने दाबी गरेको छ ।

‘बसपार्कका लागि बजेट नै विनियोजन त गरेका छैनौं, तर ऋण लिएर भए पनि आयोजना सम्पन्न गर्छाैँ’ नगर प्रमुख सुवेदीले भने, ‘नगर विकास कोष र निजी क्षेत्रबाट लगानी जुटाउँछौँ ।’ बसपार्क निर्माणका लागि नगरपालिकाले नगर विकास कोषबाट ऋण लिइने र निजी क्षेत्रसँग लगानीका लागि आह्वान गरिनेछ । बसपार्क निर्माणका लागि संघ र प्रदेश सरकारसँग पनि लगानीका लागि पहल गरिने छ ।

प्रदेशको राजधानीलाई मध्यनजर गर्दै बसपार्क निर्माण गरिने भएका कारण प्रदेश सरकारको पनि सहयोग गर्ने नगरपालिकाको अपेक्षा छ । ५० बर्षसम्मको सवारी चाप थेग्नेगरी यो बसपार्क बनाउने योजना छ ।

चर्चामा प्रादेशिक बसपार्कको योजना तर कार्यान्वयन हुनेमा अझै आशंका

‘विपद् व्यवस्थापनका लागि पूर्वतयारी गरका छौं’

चर्चामा प्रादेशिक बसपार्कको योजना तर कार्यान्वयन हुनेमा अझै आशंका

कार्टुन

Leave a comment

Your email address will not be published. Required fields are marked *