‘ऊबेला पढेको मान्छे शिक्षक नै हुनुपर्छ भन्थे’
धनसिंह खड्का
क्याम्पस प्रमुख, हिमशिखर बहुमुखी क्याम्पस रामघाट, सुर्खेत
मानिसका धेरै सपना हुन्छन् । कतिपय देखेर र कतिपय सुनेर पनि सपनाहरु बुनिन्छन् । यहीक्रममा गन्तव्य पहिल्याउन कयौं अन्यौंलता उत्पन्न हुन्छ । सुर्खेतको चिङ्गाड गाउँपालिका रानीवासमा जन्मिएका धनसिंह खड्काले सानैदेखि आफुले जानेका विषय अरुलाई सिकाउने लक्ष्य लिए । पढेर ठुलो मानिस हुने सपना बुने । त्यही लक्ष्यअनुसार उनी शिक्षक पेशामा लागे । आजको जम्काभेटमा हाम्रा सहकर्मी टेकराज केसीले उनै खड्कासँग भलाकुसारी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादीत अंशः
सानैदेखि पढाइमा मेहनती
बुवा मानबहादुर खड्का र आमा जयकला खड्काको कोखबाट वि.स. २०२२ सालमा हालको सुर्खेतको चिङ्गाड गाउँपालिका अर्थात साविक रानीवासमा गाविस ६ मा जन्मिएका धनसिंहको बाल्यकाल सामान्य रुपमा वित्यो । घरको काम र पढाइमा नै उनको बाल्यकाल वित्यो ।
सानैदेखि उनी मेहेनती थिए । परिश्रममा विश्वास गर्ने उनको स्वभाव थियो । बाल्यकालदेखि नै सबैको नेतृत्व गर्नुपर्छ भन्ने उनको स्वभाव थियो ।
पढ्दै र पढाउँदै
उनले नेरा प्रावि पुङमा कक्षा २ सम्म पढे । उनको परिवार २०२५ सालमा रानीवासबाट बसाइ सरेर रामघाटमा पुग्यो । अनि ३ कक्षामा उनी शिखर माविमा पढाइ शुरु गरेका खड्काले २०४२ सालमा जीवनज्योति मावि दशरथपुरबाट एसएलसी पास गरे । २०४२ सालदेखि नै उनले आफैले पढेको विद्यालय शिखर माविमा पढाउन पनि शुरु गरे ।
त्यतीबेला पढाइलेखाई गरेका धेरै मानिसहरु हुदैन्थे । उनले एसएलसी पास गर्ने वित्तिकै पढाउन बोलाइयो र शिक्षण पेशा शूरु गरे । उच्च शिक्षा अध्ययन शिक्षा क्याम्पस सुर्खेतबाट गरेका खड्का अहिले हिमशिखर बहुमुखी क्याम्पस रामघाटमा क्याम्पस प्रमुख छन् । उनी लामो समय रामघाट माविमा प्रधानाध्यापक भएर काम गरिसकेका छन् ।
रमाइलो बाल्यकाल
खड्का चिङ्गाडको गाउँमा जन्मिएका हुन् । उनले घरको घाँस, दाउरा काट्दै पढाइलाई निरन्तरता दिए । घरको आर्थिक अवस्था पनि त्यती राम्रो थिएन । उनको बुवा व्यापार गर्दथे । उनको परिवार बसाईसराई गरेर आएपछि अझै धेरै संघर्ष गर्नुपर्यो । त्यतिबेला पढेका व्यक्तिहरु भनेको शिक्षक नै हुने हो भन्ने सोच थियो । र उनको बुवाको सोच पनि शिक्षक नै बनाउने थियो । २०४२ भदौदेखि शिक्षण सेवामा प्रवेश गरे । त्यस समयमा खड्काको घरपरिवारबाट कसैले पनि सरकारी सेवामा जागिर खाएका थिएनन् ।
र उनी शिक्षक भए । बाल्यकालदेखि नै उनी अरुलाई सहमतिमा ल्याउन खप्पिस थिए । गोठाला जाँदाका दिनहरु सम्झदै उनी भन्छन, ‘म र दाजुदिदीहरु गोठाला जान्थ्यांै, म बाँसुरी बनाउने गर्थेँ । दाई दिदीहरुलाई बाँसुरी बनाएर दिन्थेँ । र उनीहरुले गाई बाख्राहरु हेरिदिन्थे, बाँसुरी दिएरै घाँस दाउरा काट्न फकाउथेँ, अरुले नै घाँस दाउरा काटिदिन्थे ।’
उनी त्यतीबेलादेखि नै नेतृत्व गर्न सक्ने स्वभावका थिए । त्यसकै प्रभावमा २०५२ सालमा नै नेपाल राष्ट्रिय शिक्षक संगठनको सहसचिव भए । अनि उनी सचिव हुँदै उपाध्यक्ष हुन पुगे । २०६१ सालमा शिक्षक युनियनको उपाध्यक्ष भए । फेरी शिक्षक युनियन सुर्खेतको दुई कार्यकालसम्म अध्यक्ष हुन सफल भए । उनी सानैदेखि नेतृत्व गर्ने स्वभाव र मेहनती थिए ।
परिवारको साथ
धनसिंह घरको काइँला छोरा हुन् । अरु दाजु भाइहरुले पनि उनलाई पढाउनुपर्छ भन्ने गर्थे । दाईहरुले बुवाले नसके पनि हामी पढाउँछौं भन्ने गर्थे । उहाँको बुवाको सामाजिक क्षेत्रमा चासो थियो । उनले जसरी भए पनि शिक्षकसँगै सामाजिक कार्यमा लगाउन चाहान्थे । उनले अहिले आफ्नो बुवाको प्रेरणाले नै आफु यहाँसम्म आएको बताउँछन् ।
त्यती मात्र नभएर उनका दाईभाइको साथ सपोर्ट पनि धेरै पाए भने उनकी जीवन संगिनीले पनि उनलाई सफल बनाउन महत्वपूर्ण साथ दिइन् । उनले आफ्ना चार भाइबहिनी र छोराछोरीलाई भने अहिले प्राविधिक क्षेत्रमा पढाए । परिवारमा फरफरक पेशा हुनुपर्छ भन्ने उनलाई लाग्थ्यो । त्यहीअनुसार सबैलाई प्राविधिक शिक्षामा लगाएर सबै अहिले रोजगारीमा छन् । उनले जीवनलाई संघर्षमय बनाउनुपर्ने सुझावसमेत दिन्छन् ।
भावी योजना
करिव ३६ वर्ष शिक्षण पेशामा कार्यरत उनी अहिले पनि त्यही पेशामा छन् । उनको भावी योजना भनेको राजनीतिमा लाग्नेछ । उनी सानैदेखि राजनीतीबाट नै समाज परिवर्तन गर्नुपर्छ भन्ने स्वभाव र चासो भएका व्यक्ती हुन् । अहिले शिक्षण पेशामा रहेर पनि उनले नमुना र नेतृत्वदायी काम गर्छन् ।
गाउँको हरेक सामाजिक काममा उनी अग्रसर भएर पनि लाग्ने गर्छन् । बाँकी रहेको जीवन पनि उनले राजनीतिबाट समाजसेवामा समर्पित गर्ने योजना बनाएका छन् । हरेक क्षेत्रमा राजनीति चाहिने भन्दै उनले राजनीतिलाई गलत ढङ्गले अर्थ लगाउन नहुने उनी बताउँछन् । (२०७७ फागुन १४ गते शुक्रबार युगआव्हान राष्ट्रिय दैनिकको साताको जम्काभेटमा प्रकाशित)