जुम्लाको पातारासीले एक विद्यार्थीलाई छात्रवृत्तिमा मेडिकल अधिकृत पढाउने

जुम्ला । जुम्लाको पातारासी गाउँपालिकाले एक विद्यार्थीलाई मेडिकल अधिकृत छात्रवृत्तिमा पढाउने भएको छ । गाउँपालिकाले सातौँ गाउँसभामा मेडिकल अधिकृत छात्रवृत्तिमा पढाउने नीति तथा कार्यक्रम ल्याएको हो ।
‘शिक्षा, स्वास्थ्य, विद्युत्, सञ्चार र रोजगार हाम्रो सरोकार र कृषि जडीबुटी पर्यटन समृद्ध पालिका निर्माणको मूल आधार’ भन्ने नारासहित नीति तथा कार्यक्रम सार्वजनिक गरेको हो ।
गाउँपालिका स्वास्थ्य संयोजक रतन बुढ्थापाका अनुसार गाउँपालिकामा मेडिकल अधिकृत पढेका एक जना व्यक्ति पनि छैनन् । उनले भने, “पहिलो र दोस्रो कोरोना माहामारीले निकै प्रभावित भएको यस गाउँपालिकामा मेडिकल अधिकृतको अभावले निकै समस्या भयो ।
मेडिकल अधिकृत छात्रवृत्तिमा भए पनि पढाउनुपर्छ भन्ने यस गाउँपालिकामा कोरोना माहामारीले नै पाठ सिकाएको हो ।” सातौँ गाउँसभाबाट गाउँपालिकाले रु ४१ करोड १२ लाख ६६ हजार ३४४ को बजेट विनियोजन गरेको छ ।






