दैलेखमा निषेधाज्ञा अझैं खुकुलो पारिंदै

दैलेख । कोरोना संक्रमणको दर घटेपछि दैलेखमा सातौं पटक थप गरिएको ७ दिनको निषेधाज्ञा पहिले भन्दा खुकुलो पारिएको छ । कोभिड संकट व्यवस्थापन समितिका अध्यक्ष प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलको अध्यक्षतामा आज बसेको बैठकले खुकुलो पार्ने निर्णय गरेको हो ।
वैशाख २२ गतेदेखि सुरु गरिएको निषेधाज्ञा तीन पटक ७–७ दिन, अघिल्ला दुई पटक १०–१० दिन थपिएको निषेधाज्ञाको समय आज राति सकिन लाग्दा सातौं पटक थपिएको निषेधाज्ञा भोलि असार ११ गतेदेखि असार १७ गतेसम्मका लागि लम्व्याइएको छ ।
पछिल्लो पटक लम्व्याइएको निषेधाज्ञामा खाद्यन्न लगायतका दैनिक उपभोग्य बस्तुहरु किनबेच हुने पसलहरु विहान ६ बजेदेखि ४ बजेसम्म र बैंक वित्तीय संस्थाहरु र गैससहरु विहान १० देखि दिउँसो ४ बजेसम्म चलाउने दिने निर्णय भएको दैलेखका सहायक प्रजिअ हरिप्रसाद देवकोटाले बताए ।
अत्यावश्यक कामले हिड्नुपर्नेहरुको औचित्य पुष्टि गरेर सार्वजनिक यातायात साधनहरुलाई आवागमन गर्न दिने र निश्चित स्थानमा गरिने सार्वनिक निर्माणका कामहरु सुचारु गर्नदिने तर सबैले अनिवार्य मास्क लगाउने, निश्चित दूरी काम गर्ने र सावुनपानीले हात धुने वा सेनिटाइजरको प्रवन्ध हुनुपर्ने स्वास्थ्य मापदण्ड पालना गर्न सचेत गराइएको छ ।
तालिम, गोष्ठी, सभा, समारोह, सम्मेलन जस्ता भेला, मनोरञ्जनको जमघटहरु, शैक्षिक संस्था, धार्मिक पूजाआजा, जिमखाना लगायतका भीडभाड गराउने काम गर्न नदिने र यसको पालना भए नभएको अनुगमन गरिने दैलेखका प्रहरी इञ्चार्ज प्रहरी नायव उपरीक्षक डीएसपी अनुपम श्रेष्ठले बताए ।






