छोटो अवधिमा परिणाम देखिने गरेर काम गर्नेछौं

प्रदेशसभाको निर्वाचन भएको तीन वर्षसम्म कर्णालीमा नेपाली काँग्रेस प्रमुख प्रतिपक्ष थियो । तर गत बैशाखयता काँग्रेस पनि सत्तारुढ दल बनेको छ । मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलाई विश्वासको मत दिएपछि यतिबेला काँग्रेस पनि प्रदेश सरकारमा सहभागि बनेको छ । सत्ता साझेदार बनेको काँग्रेस अहिले हाल दुई वटा महत्वपूर्ण मन्त्रालय पाएको छ । विगतमा कर्णाली प्रदेश सरकारले काम गर्न नसकेको आलोचना गर्ने काँग्रेस अब आफै सरकारमा सहभागी भएपछि कसरी काम गर्छ त ? कोरोना महामारी नियन्त्रण र रोकथामका लागि कस्ता प्रयास भइरहेका छन् ? यीनै विषयमा केन्द्रीत रहेर सहकर्मी टेकराज केसीले कर्णाली प्रदेश सरकारका सामाजिक विकास मन्त्री यज्ञबहादुर बुढा क्षेत्रीसँग कुराकानी गरेका छन । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :

यज्ञबहादुर बुढा क्षेत्री
मन्त्री, सामाजिक विकास मन्त्रालय, कर्णाली
तपाइँका मुख्य योजना के छन् ?
मैले कर्णाली प्रदेशको सामाजिक विकास मन्त्रालयको जिम्मेवारी लिएको छु । केही महत्वपूर्ण कामलाई प्राथमिकतामा राखेको छु । यो विषम परिस्थितिमा मैले यो मन्त्रालयको जिम्मेवारी लिएको हुँदा कोरोना भाइरसको महामारी नियन्त्रण र रोकथाममा नै मेरो पहिलो ध्यान केन्द्रीत हुनेछ ।
प्रदेशका जनताको सुरक्षा गर्नु मेरो प्राथमिकता रहने छ । त्यसको लागि सबै अस्पतालहरुमा आवश्यक स्वास्थ्य उपकरण र चिकित्सकहरुको व्यवस्था गर्ने काम हुनेछ । हामी आगामी आर्थिक बर्षको बजेटमासमेत यो कुरालाई राखेका छौं । दोस्रो यो प्रदेशको शिक्षामा परिवर्तन गर्नुपर्ने छ ।
शिक्षालाई व्यवहारिक नबनाएसम्म यहाँको भोक, रोग र बेरोजगारीको समस्या समाधान हुँदैन । त्यसैले शिक्षालाई व्यवहारिक बनाउने गरी हामीले केही योजना अगाडी सारेका छौं । र त्यसको कार्यान्वयनको लागि जोडतोडका साथ लाग्छौं । रोजगारीका अवसरहरु सिर्जना गर्न विभिन्न सीपहरु सिकाउने र मानिसहरुलाई आत्मनिर्भर बनाउने हाम्रो अर्को योजना छ ।
कोरोनाको प्रभावलाई कसरी व्यवस्थापन गर्नुहुन्छ त ?
तपाइँलाई म स्मरण गराउन चाहन्छु । मैले पदभार ग्रहण गरेकै दिनमा कोरोना नियन्त्रणको लागि सबै जिल्ला अस्पतालहरुमा बजेट पठाउने निर्णय गरेँ । अहिले हरेक क्षेत्र कोरोनाको प्रभावमा परेर धरासायी बनिरहेको अवस्था छ । त्यो प्रभाव कम गर्ने एउटा मात्र उपाय भनेको अब सबै नागरिकलाई खोप दिनु नै हो ।
त्यसको लागि अब हामीले केन्द्र सरकारसँगको समन्वयमा खोप उपलब्ध बनाउने गरी पहल गर्छांै । प्रभावित क्षेत्रहरुलाई चलयमान गराउन हामीले बजेटमार्फत पनि केही कार्यक्रम ल्याएका छांै । केही व्यक्तीहरुले खोप लगाइ सक्नुभएको छ भने बाँकी रहेकाहरुलाई खोप लगाउन सकियो भने यसले पारेको प्रभावलाई कम गर्न सकिन्छ ।
महामारीका बेला हुने अनियमितता रोक्न के गर्नुहुन्छ ?
तपाइँले धेरै राम्रो प्रश्न गर्नुभयो । कोरोना महामारीको बेलामा कोरोनाकै नाममा धेरै अनियमितता भएका विवरणहरु आएका छन् । जस्तैः सल्यान जिल्ला अस्पतालको कुरा आइरहेको छ । यस्तो काम गर्नु कानुनी रुपमा अपराध मात्रै होइन । यस्तो बेलामा पनि भ्रष्ट्राचार गर्नु भनेको अमानविय कार्य पनि हो ।
त्यस्ता व्यक्तिलाई कारवाहीको दायरामा ल्याइन्छ । यस्ता कार्य दोहरिन नदिन हामी सचेत छांै । यस्ता कार्यलाई निरुत्साहित गर्दै यस्ता गतिविधि नियन्त्रणको लागि तदारुकताका साथ लाग्ने प्रतिवद्धता पनि जनाउछु । यस्तो बेलामा पनि भ्रष्ट्राचार, लोभ लालच गर्नु त यो भन्दा अमानविय के हुन सक्छ । हामीले अनुगमनको पाटोलाई पनि तीव्रता दिन्छौं । कतै यस्तो कार्य भएको पाइए हदैसम्मको कानुनी कारवाही हुन्छ ।
सिमान्तकृत बर्गको लागि कस्ता योजना छन् ?
पछाडी पारिएका वा पछाडी पारिएका समुदायहरु भनेको हाम्रो प्रदेशको सन्दर्भमा दलित, अल्पसंख्यक, सिमान्तकृत समुदाय र महिलाहरु नै हो । सबैभन्दा पहिले त प्रदेशमा रहदै आएको असामान्ता र विभेद नै यसको पछाडी पारिनुको प्रमुख कारक हो । प्रदेश सरकारले केही राम्रा कार्यक्रम विगतदेखि नै ल्याएको छ ।
जस्तै बैंक खाता छोरीको, सुरक्षा जीवनभरीको, छोरी बुहारी छात्रावत्ति कार्यक्रम लगायतका विभिन्न कार्यक्रम छन् । त्यसको निरन्तरता हामीले अहिले पनि दिएका छौं । यसले महिलाहरुलाई माथी उठाउन सहयोग पुर्याउछ ।
पछाडी पारिनुको अर्को कारण भनेको गरिबी हो । यसको लागि कर्णाली प्रदेश सामाजिक विकास मन्त्रालयबाट त्यस्ता समुदायको लागि विभिन्न सीपमुलक तालिम र आयआर्जनका कार्यक्रम संचालन गर्नेगरी हामी अगाडी बढेका छौं । ति कार्यक्रममार्फत यी समुदायलाई अगाडी ल्याउने प्रयास हाम्रो रहने छ ।
छोटो अवधिमा धेरै परिणाम कसरी दिनुहुन्छ त ?
करिब ३ बर्षभन्दा धेरै हामी प्रमुख प्रतिपक्षी भएर सरकारका कामलाई सक्रियताका साथ अगाडी बढाउन खबरदारी गर्यौ । राजनीतिक परिस्थितिले हामी अहिले सत्ता साझेदार दलको रुपमा सरकारमा सहभागी भएका छौं ।
हामीसँग समय छोटो छ, समय छोटो भएता पनि हामीलाई अवसर र चुनौती दुबै छ । अहिले कोरोनाका कारण सबै क्षेत्र थिलोथिलो भएको अवस्था छ । मैले अघि भनेको जस्तै यी क्षेत्रहरुलाई मात्र चलयमान बनाउन सक्नेगरी काम गर्यौ भने धेरै परिणाम आउने छ । यो छोटो अवधीमा हामीले गर्ने काम परिणाममुखी र जनताले महसुस गर्ने खालका हुनेछन् ।
जहाँसम्म तपाइँले भनेको जस्तो विगतमा हुन नसकेका कामको कुरा छ, अवश्य पनि ति कामहरु अगाडी बढाइने छ । म मन्त्रालयमा रहँदा सिष्टम बसालेर जान्छु । हामीले तत्काल गर्ने काम भनेको नागरिक सेवा गृह निर्माण गरिने छ । प्रदेशको राजधानी सुर्खेतमा निर्माण हुने त्यस गृहबाट खाना, बस्न लगायतका सेवा उपलब्ध हुनेछन् । भने पर्वतिय विश्वविद्यालयको कामलाई तत्काल अगाडी बढाउने र आवशिय विद्यालयहरु बनाउने काम अगाडी बढ्ने छ ।
यहाँहरुलाई त पार्टीले नै आचारसंहितामा बाँधेको छ, यसबारे के भन्नुहुन्छ ?
धेरै गम्भिर प्रश्न गर्नुभयो । हामीले सरकारमा जानुभन्दा अगाडी हाम्रो पार्टीबाट संस्थागत रुपमै १३ बँुदे आचारसंहिता बनाएका छांै । हामी सरकारमा रहँदासम्म यी आचारसंहितालाई टेकेर जनताको हकहितका निर्णय गर्नेछौं ।
काम गर्ने शिलशिलामा आलोचना र समर्थन हुनु स्वभाविक हो । यसले सच्चिने मौका पनि दिन्छ । तथापी हाम्रा योजना र काम जनताको पक्षमा हुने छन । र हामीले यो छोटो अवधिमा परिणाम देखिने काम हुनेमा ढुक्क हुन आम कर्णालीबासीलाई म विश्वस्त बनाउछु ।






