एमाले नेताहरूमा ओलीकै आश, ओलीकै त्रास

नेकपा एमालेको १०औं महाधिवेशनबाट केन्द्रीय नेतृत्व (पदाधिकारी तथा केन्द्रीय सदस्य) मा आकांक्षा राख्नेहरु धेरै छन् । आकांक्षीहरुले मुख खोल्न भने सकस परिरहेको छ । उम्मेदवारी घोषणा गरेर मत माग्नुपर्ने उनीहरु महाधिवेशन प्रतिनिधिमाझ घुमाउरो शैलीमा आफूलाई प्रस्तुत गरिरहेका छन् । प्रतिनिधिहरुलाई उनीहरु फोन गर्छन् र भन्छन्, ‘बधाइ छ कमरेड । हजुर छानिनु भएछ, खुशी लाग्यो ।
’१० औं महाधिवेशनलाई एकता महाधिवेशनका रुपमा ‘सर्वसम्मत’ नेतृत्व छान्ने महाधिवेशन भनिएको छ । यही सन्दर्भले आकांक्षीलाई ‘मतदातामाझ’ यसभन्दा अघि बढ्न दिँदैन । केन्द्रीय नेतृत्वका आकांक्षी प्रायःले सामाजिक सञ्जालमा आफ्नो तस्बिरसँग डिजाइन गरिएको पोष्टर सार्वजनिक गरेका छन् । त्यहाँ पनि उनीहरुले उल्लेख गरेका छन्, ‘१० औं महाधिवेशनका अवसरमा हार्दिक शुभकामना ।’

ओलीको आश

नेकपा एमालेले प्यानलगत प्रतिस्पर्धा रोकिसकेको छ । समूहगत प्रतिस्पर्धा वर्जित भएपछि त्यसको तयारी हुने कुरै भएन । अध्यक्ष ओलीको गुटसँग फरक मत राख्ने समूह पनि तितरबितर भएको छ । त्यसमा पनि आफू उक्त समूहको ह्याङओभरबाट मुक्त भइसकेको दर्शाउने प्रतिस्पर्धामा धेरै नेताहरु लागेका छन् ।

त्यसबापत ओलीले अपेक्षित पद ’बक्स’ गर्ने उनीहरुको आशा छ । महाधिवेशन आयोजनाका लागि दिइएका जिम्मेवारीमा खरो उत्रिन उनीहरु डटिरहेका छन् । जसले जिम्मेवारी पाएका छैनन्, उनीहरु (भीम रावल र घनश्याम भूसालबाहेक) पनि ओलीकै प्रतापमा मात्र प्रभावशाली हुने विचार प्रवाह गर्न सक्रिय देखिन्छन् ।

कुनै समय सार्वजनिक रुपमै ‘ओली प्रवृत्ति’ विरुद्ध आगो ओकल्ने अष्टलक्ष्मी शाक्यसमेत ‘पार्टीभित्रको अन्तरविरोध बाहिर छरपस्ट’ गर्न नहुने बताउन थालेकी छिन् । नेपाल लाइभको महाधिवेशन विशेष कार्यक्रम ‘अबको एमाले’मा संवाद गर्ने क्रममा उनले भनिन्, ‘अब हामी १० जना मात्रै भनेर हुँदैन । हामी सीमित बसेर मात्रै हुँदैन ।

छलफललाई अलि फराकिलो बनाउनुपर्छ । एमाले एक ढिक्का होस्, फराकिलो होस् ।’ ओलीनिकट रहेकाहरुलाई हालसम्मको बफादारीको पुरस्कार प्राप्त हुने आशा हुनु स्वभाविक हो । यतिबेलाको अवस्था भने बफादारितामै पनि ‘स्कोरिङ’ गर्नुपर्ने बनेको छ । ओलीप्रतिको बफादारितामा पहिलो ग्रेडमा पर्नेहरु ‘सर्वसम्मत नेतृत्व’मा अटाउनेछन् । त्यसकारण यो महाधिवेशनको संघारमा आफ्नो दक्षता, क्षमता, क्रियाशिलता र नेतृत्व कुशलताको भन्दा बढी अध्यक्ष ओलीको प्रतापका विषयमा उनीहरु व्याख्या गरिरहेका छन् ।

उनीहरुले ‘एउटा ध्रुवको नेता’, ‘राष्ट्रिय राजनीतिको आवश्यकता’, ‘बा’ र ’एमालेको उद्धारकर्ता’का रुपमा समेत प्रस्तुत गर्न थालेका छन् । किनभने एमालेको आगामी नेतृत्व दाबी गर्नका लागि एउटा महत्वपूर्ण मापदण्ड अध्यक्षको ‘प्रिय’ बन्न सक्नु पनि हो । त्यसका लागि केही दिन उच्चतम प्रतिस्पर्धा चल्नेछ ।

ओलीबाटै त्रास

सर्वसम्मत नेतृत्व चयन गर्ने कार्य केन्द्रीय नेतृत्वले गर्नेछ । माधवकुमार नेपाल र झलनाथ खनालको बहिर्गमनपछि केन्द्रीय नेतृत्व भने पनि, अध्यक्ष भने पनि एकमात्र ओली हुन् । उनले सल्लाह लिने निश्चित नेताहरु छन् ।

जोसँग सल्लाह लिइरहेका हुन्छन्, ती आफैं पनि यतिबेला उपयुक्त अवसरको खोजीमा छन् । त्यसैले एमालेका नेताहरुमा एक प्रकारको त्रास समेत देखिन थालेको छ । विशेषगरी नेकपाकालको ओली सरकारको अवस्थालाई सम्झेर एमालेका केही नेताहरुमा त्रास देखिन्छ । आगामी महाधिवेशनबाट पदाधिकारीमा उक्लिने अपेक्षा गरिरहेका एक केन्द्रीय सदस्य भन्छन्, ‘ओलीगुटमा पनि उपगुटहरु छन् ।

उहाँ (ओली) प्रधानमन्त्री हुँदा एउटा गुटले अर्को गुटलाई बालुवाटार प्रवेश गर्न समेत नदिएको यथार्थ छ । ‘सर्वसम्मत’का नाममा फेरि त्यही गुट हाबी हुन्छ कि भन्ने त्रास केही साथीहरुमा देखिन्छ ।’ ओली प्रधानमन्त्री हुँदा आफ्ना विश्वासपात्रहरुको सचिवालय निर्माण गरिएको थियो । सचिवालयले ओलीका लागि मरिमेट्ने केही नेताहरुलाई बालुवाटार प्रवेशमा रोकदेखि ओलीसँग भेटघाटमा निषेध गरेकोसम्म चर्चा चलेको थियो ।

ओली सरकारमा रहँदा एमाले कार्यकर्तामाझ नै अप्रिय बनेका केही नेताहरु ओलीका भने प्रिय छन् । उनीहरु आमकार्यकर्तामाझ परीक्षण हुने अर्थात् निर्वाचनमा जाने कुरामा रुचि देखाइरहेका छैनन् । आफूले अवसर प्राप्त गर्ने नाममा कार्यकर्तामाझ लोकप्रिय नेताहरु रोक्न उनीहरु सक्रिय हुने आशंका पनि एमालेका केही नेताहरुमा देखिन्छ । ओलीनिकट एक नेता उदाहरणसहित भन्छन्, ‘सरकारमा हुँदा अध्यक्षले राजनीतिक सल्लाहकार बनाएका विष्णु रिमाल नवौं महाधिवेशनमा उपमहासचिव हार्नुभएको हो । अहिले पनि उहाँ अध्यक्षको निकट हुनुहुन्छ । उहाँबाट धेरैलाई डर छ ।’

सकसमा ओली

एमाले अध्यक्ष ओलीले कार्तिक २७ गते प्रतिनिधि चयन भएलगत्तै केन्द्रीय नेतृत्वका लागि परामर्श थाल्ने बताएका थिए । एमाले अन्तरसंघर्षमा माधव नेपालतर्फ लागेका १० नेताहरुसँग पनि छलफल गर्ने बताएका थिए ।

तर, मंसीर ५ गतेसम्म पनि कुनै छलफल भएको छैन । ओलीले महाधिवेशन नजिकिदै गर्दा आफूनिकटका आकांक्षीलाई समेत बोलाएर आकांक्षा सुन्ने र त्यही अनुसार व्यवस्थापन गर्ने तयारी गरेका थिए । तर, अहिलेसम्म ओलीसँग नियमित भेटघाटमै रहनेहरु बाहेकले समय पाएका छैनन् । आगामी महाधिवेशनमा पदाधिकारीमा आकांक्षा रहेका एक नेता भन्छन्, ‘उहाँहरु आफैंले अस्ति (बिहीबार)देखि सामान्य छलफल सुरु गरेको सुनेको छु ।

तर, हामीलाई बोलाउनु भएको छैन ।’ प्राप्त गर्दा ओलीको अनुकम्पा र नपाउँदा किनारामा पारिएको महसुस नेताहरुले गर्नेछन् । त्यसकारण पनि सर्वसम्मत नेतृत्व चयन ओलीलाई समेत सहज नभएको एमाले नेताहरुले बुझेका छन् । त्यसमा पनि जम्मा १५ जना पदाधिकारीका लागि ५० भन्दा बढीको दाबी रहने स्पष्ट संकेत देखिइसकेको छ । यो महाधिवेशनलाई ‘एकता’को भनिएको छ ।

त्यही सन्देश महाधिवेशन पछिसम्म प्रवाह गर्ने हो भने एमालेले तीन गुटको एकता गर्नुपर्ने हुन्छ । पहिलो गुट ओली आफ्नै, दोस्रो माधव नेपाललाई छाडेका र तेस्रो माओवादी केन्द्र छाडेर एमालेमै कायम रहने निर्णय गरेका नेताहरु । ‘एकतालाई अर्थपूर्ण बनाउने हो भने आफूनिकटलाई नभइ माधव नेपाल छाडेका र माओवादी केन्द्रबाट आएका नेताहरुलाई महत्त्वपूर्ण जिम्मेवारी दिनुपर्छ,’ ओलीनिकट एक नेता भन्छन्, ‘त्यसो गर्दा हाम्रै साथीहरुले चित्त नबुझाउलान् भन्ने डर छ ।

’एमालेलाई बलियो बनाउन यतिबेला ओलीबाट उदारता जरुरी छ । उनको विगतको स्वभावका कारण त्यसको अपेक्षा भने अन्य गुटका नेताहरुले गरेका छैनन् । एमाले महाधिवेशन चितवनमा हुँदैछ तर, नेताहरुको मनमस्तिष्क बालकोटतर्फ छ । बालकोटमा निर्माण हुने सूचीले कति नेताहरुको आकार चितवनका हात्तीजस्तै फुलाउनेछ भने कतिको अवस्था एकसिंगे गैंडा जस्तै एमालेबाट ‘लोपोन्मुख’ बनाउनेछ ।

एमाले नेताहरूमा ओलीकै आश, ओलीकै त्रास

कार्टुन

एमाले नेताहरूमा ओलीकै आश, ओलीकै त्रास

राष्ट्रपति र प्रधानमन्त्री जोसुकै भए पनि राजनीतिको

Leave a comment

Your email address will not be published. Required fields are marked *