शतप्रतिशत जित निकाल्दै नेदरल्यान्ड्स नकआउट चरणमा

एजेन्सी । नेदरल्यान्ड्स समूह विजेता बन्दै युरोकप फुटबलको नकआउट चरणमा प्रवेश गरेको छ । सोमबार राति भएको समूह चरणको अन्तिम खेलमा नर्थ म्यासेडोनियालाई ३-० गोल अन्तरले पराजित गर्दै नेदरल्यान्ड्स समूह विजेता बनेको हो ।
जोहान क्रुफ एरिनामा नेदरल्यान्ड्सलाई जित दिलाउन कप्तान जर्जिनियो विनाल्डमले दुई गोल गरे । यस्तै मेम्फिस डिपेले एक गोल थपे ।
यस जितसँगै समूह ‘सी’ को नेदरल्यान्ड्स शतप्रतिशत जित निकाल्दै अन्तिम १६ मा प्रवेश गरेको छ । समूह विजेता बन्ने क्रममा नेदरल्यान्ड्सले ३ खेलमा ९ अंक जोड्यो ।
नेदरल्यान्ड्सले पहिलो खेलमा युक्रेनलाई ३-२ ले हराएको थियो भने दोस्रो खेलमा अष्ट्रियालाई २-० ले हराएको थियो। नर्थ म्यासेडोनिया भने समूह चरणबाटै बाहिरिएको छ । समूहको पुछारमा रहेको म्यासेडोनियाले अंक जोड्न सकेन ।
पहिलो खेलमा अष्ट्रियासँग ३-१ ले पराजित भएको म्यासेडोनिया दोस्रो खेलमा युक्रेनसँग २-१ ले पराजित भएको थियो ।






