एक सातादेखि अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन, पैदलै गन्तव्यतर्फ जाँदैछन् यात्रु

दैलेख । लगातारको झरीले कर्णाली राजमार्गअन्तर्गत दैलेख खण्डका विभिन्न ठाउँमा गएको पहिरोले एक हप्तादेखि अवरुद्ध कर्णाली राजमार्ग अझै खुल्न सकेको छैन। सो राजमार्गअन्तर्गत दैलेखका सियाला, किटुभीर, दहीखोला, घट्टेखोलालगायतका ठाउँमा पहिरो झरेर सडक पुरिएको भए पनि पहिरो नहटाइँदा राजमार्ग सञ्चालनमा आउन सकेको छैन।

राजमार्ग अवरुद्ध हुँदा सुर्खेतबाट खाद्यान्न लिएर गएका, यात्रुवाहक सवारी साधन र जुम्ला कालीकोट पुर्‍याएर सुर्खेत फिर्ता हुने क्रममा हिँडेका सवारीसाधन बाटोमै थुनिएका छन्। यात्रा गर्ने सर्वसाधारण पैदलयात्रा गर्न बाध्य भएका छन्।

सवारीसाधन चल्न नसक्दा दैलेख, कालीकोटलगायतका सर्वसाधारणलाई पैदल हिँड्नुपर्ने बाध्यता आएको हो। राजमार्ग अवरुद्ध हुँदा लामो समय पैदल हिँडेर आफ्नो गन्तव्यमा पुग्नुपर्ने बाध्यता आएपछि सर्वसाधारणलाई निकै सास्ती भएको छ।

अचानक कोही बिरामी परे उपचारका लागि कसरी सुर्खेत तथा बाहिर जिल्ला लैजाने भन्ने कुराले सताएको स्थानीयवासी भीम बुढाले चिन्ता व्यक्त गरे। एक हप्तादेखि राजमार्ग अवरुद्ध हुँदा पनि सम्बन्धित निकायले चासो नदिँदा बिरामी परे अकालमै ज्यान गुमाउनुपर्ने बाध्यता आइलागेको उनले गुनासो गरे।

अहिले राजमार्ग आसपासमा बसोबास गर्ने सबैलाई यो कुराको चिन्ताले भित्रभित्रै पिरोलेको छ। बारम्बार सडक निर्माण गरे पनि वर्षाले पहिरो गइरहने हुँदा राजमार्ग सञ्चालन गर्न कठिनाइ भएको प्रमुख जिल्ला अधिकारी हरि प्याकुरेलले जानकारी दिए।

घट्टेखोलामा ठूलो पहिरो आउँदा समय लाग्ने र छिनछिनमा राजमार्गका विभिन्न ठाउँमा पहिरो झरिहाल्ने गरेकाले सडक सञ्चालनमा समस्या नै आएको उनको भनाइ छ। उनले छिट्टै राजमार्ग खुलाउन प्रयत्नशील रहेको जानकारी दिए।

यद्यपि राजमार्ग एक हप्तादेखि पहिरोका कारण अवरुद्ध भए पनि हालसम्म सञ्चालन हुन नसक्दा सर्वसाधारणलाई निकै सास्ती भएको छ।

त्यस्तै दैलेखका दर्जनौँ ग्रामीण सडक पनि अविरल वर्षाका कारण अवरुद्ध हुन पुगेका छन्। जिल्लाका ११ स्थानीय तहका केन्द्रमा पुग्ने सबै सडक अवरुद्ध भएका छन्।

सडक अवरुद्ध हुँदा पालिका केन्द्र र जिल्ला सदरमुकाम आउजाउमा निकै सास्ती भएको छ।

सवारीसाधन नचल्दा बिरामीलाई समेत अस्पताल लैजान समस्या भएको छ । कच्ची सडकको निर्माण गरे पनि पक्की बनाउन सरोकारवाला निकायले पहलकदमी नगर्दा सबै सडक खोल्सीमा परिणत हुन पुगेको स्थानीयवासी बताउँछन् ।

वर्षाका कारण दैलेखका करिब एक दर्जन सडक खोल्सीमा परिणत हुँदा यातायातका साधन चल्न सकेका छैनन् ।

रासस

एक सातादेखि अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन, पैदलै गन्तव्यतर्फ जाँदैछन् यात्रु

मानसिक तनाव कम गर्ने यस्ता छन् उपायहरु

एक सातादेखि अवरुद्ध कर्णाली राजमार्ग अझै खुलेन, पैदलै गन्तव्यतर्फ जाँदैछन् यात्रु

पत्रकार महासंघले सञ्चार गृह अनुगमन गर्ने

Leave a comment

Your email address will not be published. Required fields are marked *