ओलीकै पथमा देउवा !

गोविन्द अधिकारी । नेपाली कांग्रेस वा शेरबहादुर देउवाको ‘सुशासन’को नियास्रो लागेर नेपालका बहुसंख्यक सचेत नागरिक, मूलधारका अधिकांश सञ्चारकर्मीले जनसाधारणको आवाज बनेर खड्गप्रसाद ओली हट्नुपर्छ भनेका हैनन् । चार पटक प्रधानमन्त्री हुँदा देउवाले सम्झनुपर्ने भन्दा बिर्सन बेस हुने काम धेरै गरेका छन् ।

ओलीको कुशासन र आफैँलाई राज्य ठान्ने दम्भबाट आजित भएर मुलुकलाई सम्भाव्य अनिष्टबाट जोगाउन जनताले ओलीको सत्ता यथाशीघ्र हटोस् भन्ने चाहना गरेका हुन् । यल्यपि, सर्वोच्च अदालतको संवैधानिक इजलासले जनमत वा राजनीतिक सङ्कट हेरेर प्रतिनिधि सभा विघटन गर्ने निर्णय बदर गरेको भने होइन ।

अर्थात्, उनी वा उनको दलप्रतिको जनविश्वास र आकर्षण बढेर नभई ‘ओली आतङ्क’बाट त्राण खोज्ने क्रममा शेरबहादुर देउवा सत्तामा पुगेका हुन् । यसैले धेरैले देउवाले ओलीका कमजोरी र ‘बदमासी’ दोहोरिन दिने छैनन् कि भन्ने झिनो आशा पनि राखेका थिए ।

देउवाले कांग्रेसबाट मन्त्री नियुक्त गर्दा नितान्त आफ्नो गुट र जातमात्र हेरेको देखियो । अर्को समूहको प्रतिनिधित्व नभएको मात्र होइन लिङ्ग, उमेर, जात, वर्ग र क्षेत्रका दृष्टिमा पनि समरूपी रह्यो । सरकारको गठन र सुरुका कामबाट भने देउवाले नेपाली जनतालाई निराश बनाएका छन् । मन्त्रिपरिषद्को गठनलाई प्रतिनिधि उदाहरण मान्ने हो भने शुभसंकेत देखिएको छैन । यसले उनैको पार्टीमा असन्तोष बढाउन सक्छ ।

सुरूमा दुई जनामात्र भएकाले सन्तुलन मिलाउन नसकिएको भन्ने तर्क दिन सकिएला । तैपनि, जे गरे पनि हुन्छ भन्ने मानसिकता नभए यस्तो यसरी ‘क्षत्री, पुरुष, देउवा गुटको क्लब’ पक्कै बनाइने थिएन । मन्त्रिपरिषद्मा कांग्रेसका तर्फबाट एक जना महिला, जनजाति र अझ अर्को समूहकालाई समावेश गरेको भए सरकारको कार्यसम्पादन कमजोर हुने थिएन भने छवि राम्रो हुन्थ्यो । तर, देउवा त गुटगत संकीर्णताबाट माथि उठ्न सकेनन् ।

यस्तै देउवाले अहिले मन्त्री बनाएकाहरू पहिले पनि भइसकेकै हुन् । मन्त्री हुँदा तिनले विशेष क्षमता वा कौशल देखाएका पनि थिएनन् । हुनत, नेपाली कांग्रेसको राजनीतिमा ज्ञानेन्द्रबहादुर कार्की वा बालकृष्ण खाँडको आफ्नै स्थान छ । तर यिनीहरू नै छानिनुपर्ने आधार देउवाको निकट हुनुबाहेक अरू केही देखिँदैन । नेपाली कांग्रेसबाट पनि खुला साथ र समर्थन नभए प्रधानमन्त्री देउवालाई संसदीय बहुमतका आधारमा मात्र सरकारमा टिक्न सजिलो हुनेछैन ।

तर, पार्टीलाई एउटा जात वा गुटको क्लब बनाइएको देखेपछि सरकारबाट विशेष लाभको अपेक्षा नगर्ने कार्यकर्ता सरकारको समर्थन उभिनै हिचकिचाउँछन् । महान्यायाधिवक्ता प्रधानमन्त्रीको विश्वासप्राप्त व्यक्ति नै नियुक्त गर्ने प्रचलन छ । तर, त्यस पदमा पनि देउवाले क्षेत्री पुरुष नै छाने । कांग्रेस त ‘बहादुरहरूको क्लब’ जस्तै देखिन पुग्यो । यसबाट पनि देउवाको शासनको झलक देखिन्छ ।

अर्को साझेदार नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र) ले धन्न महिला र पुरुष एक एक जना गरेर सरकारमा प्रतिनिधित्व गराएको छ । तर, दलित, जनजाति तथा मधेसीको प्रतिनिधित्व गराउन माओवादी पनि चुक्यो । अहिले सरकार चलाउन यसै पनि सहज देखिँदैन । प्रशासनमा सबैतिर ओलीको पकड छ । संवैधानिक निकायहरूमा संविधानका प्रावधान मिचेर सिफारिस गरिएका ओलीका कृपापात्रहरू संसदीय सुनुवाइविनै स्थापित गरिएका छन् ।

सबैभन्दा बढी अप्ठेरो त प्रधानमन्त्रीलाई शपथ गराएपछि बधाईको औपचारिकता पनि पूरा नगर्ने असहिष्णु र असहयोगी राष्ट्रपति विद्यादेवी भण्डारीबाट हुनेछ । यस्तो अवस्थामा संसदमा मात्र हैन जनमानसमा पनि समर्थन र सहयोग नभए सरकार चलाउन मुस्किल हुनेछ । ओलीको शासनमा राज्यको स्रोतको दोहन गर्ने छुट पाएका निश्चित व्यापारी र व्यावासयिक घराना पनि पक्कै देउवा सरकारप्रति सहयोगी र सकारात्मक नहोलान् ।

सरकार अपदस्थ गर्ने वा असफल बनाउने मौका आयो भने तिनले ओलीलाई आवश्यक सबै प्रकारको सहयोग गर्न सक्छन् । प्रधानमन्त्रीको सरकारी निवासस्थानमा पार्टीका क्रियाकलाप धेरै हुन थालेपछि सामाजिक सञ्जाल, सञ्चार माध्यम र समाजमा निकै आलोचना भएको थियो । ओलीलाई अप्रिय बनाउने एउटा कारण उनले सरकारी सम्पत्तिको ‘शाही शैली’मा गरेको दुरुपयोग पनि हो ।

सरकार बदलिएपछि जनताले ठूलो अपेक्षा नगरे पनि ओलीको जस्तो अहङ्कार र दलगत वा व्यक्तिगत प्रयोजनमा राज्यको दोहन रोकिने आशा गरेका थिए । दुर्भाग्य, जनचाहनाको पटक्कै सम्मान नगरी कांग्रेस पदाधिकारीको बैठक बालुवाटारमै राखियो । यसबाट देउवा र ओली दुवैको प्रवृत्ति एउटै देखियो । ‘पहिलो गाँसमै झिँगा’ भनेजस्तो भयो जनताका लागि । कुरा ठूलो पटक्कै होइन तर प्रवृत्ति चिन्ताको विषय हो ।

प्रधानमन्त्रीको सरकारी निवासलाई ‘पार्टी प्यालेस’ बनाउने ओलीकै बाटामा हिँडे देउवा पनि । सरकार गठन भएको पहिलो सातामै प्रधानमन्त्री देउवाले जनतालाई निराश बनाए । ओलीपथकै अनुयायी हुने हो भने त उनकै नियति पनि भोग्नुपर्ने हुनसक्छ । यसैले बेला छ । राज्य र आफूलाई पर्याय ठान्ने, लोकलाज, नैतिकता, विधि र निषेध केही नमान्ने ओलीपथमा जानबाट देउवालाई कांग्रेसजनले नै रोक । उनका कम्युनिस्ट ‘कमरेड’ का लागि त देउवाको सरकार चले पनि बदनाम भएर ढले पनि दुवै हातमा लड्डु छँदैछ । (बाह्रखरीबाट)

 

ओलीकै पथमा देउवा !

YUGAAWHAN NATIONAL DAILY (2078-04-04)

ओलीकै पथमा देउवा !

२०० रुपैयाँले बढ्यो सुनको मूल्य

Leave a comment

Your email address will not be published. Required fields are marked *