कालिज फार्म सञ्चालन


कालीकोट : नरहरिनाथ गाउँपालिकामा पहिलो पटक कालिज फार्म सञ्चालनमा आएको छ । नरहरिनाथ गाउँपालिका–३ माडेगाउँका युवाले व्यक्तिगत लगानीमा कालिज फार्म सञ्चालनमा ल्याएका हुन् । दैनिकजसो युवा विदेशिनेक्रम बढे पनि नरहरिनाथ गाउँपालिकाका युवाले सामूहिकरूपमा कालिज फार्म सञ्चालन गरेका छन् ।
युवाको व्यक्तिगत सात लाखको लगानीमा कालिज फार्म सञ्चालनमा ल्याएका हुन् । सात जना युवाको सामूहिक लगानीमा कालिज फार्म सञ्चालन गरेका छन् । रोजगारीका लागि देश भारत र अन्य खाडी मुलुकमा जाने भएकाले उनीहरुलाई रोक्न र आफ्नै भूमिमा केही गर्न सकिन्छ भन्ने उदाहरण दिनका लागि कालिज फार्म सञ्चालनमा ल्याएको मालिका वाइल्ड लाइफ एग्रो फार्मका सञ्चालक धर्मप्रसाद उपाध्यायले बताए। ‘हामीले थोरै लगानीबाट सुरु गरेका हौँ तर उत्पादनअनुसारको बजार नहुँदा समस्या भएको छ,’ उनले भने ।
नरहरिनाथ गाउँपालिकामा फार्म भए पनि उत्पादन गरेअनुसारका कालिज बिक्रीका लागि बजारको समस्या भएको सञ्चालक उपाध्यायले बताए । ‘ कालिजको मूल्य बढी छ, किनेर खानसक्ने आयस्रोत ग्रामीण भेगका नागरिकको छैन,’ उनले भने, ‘त्यसैले उत्पादन गरेअनुसारको बजार नभएर खर्च बढेको छ ।’ अहिले मालिका वाइल्ड लाइफ एग्रो फार्ममा १ सय २० भन्दाबढी कालिज फार्ममा रहेका छन् ।
फार्ममा रहेका कालिजको प्रजनन समय सुरु भएकाले व्यवस्थापनका लागि समस्या भएको उपाध्यायको भनाइ छ । ‘अरु कुखुराजस्तै चारो खाने र त्यसमा साना घाँस पनि खाने भएकाले कालिज पाल्न गाह्रो छैन,’ उनले भने, ‘उडेर भाग्ने सम्भावनाका कारण वरिपरि घेरबार मात्र नभएर निश्चित उचाइमा आकाश ढाक्नेगरी जाली पनि लगाइएको छ ।’




