यातना दिनेलाई कैद

दैलेख : दैलेखमा श्रीमतीलाई यातना दिने एक युवकलाई दुई बर्ष कैद सजाय तोकिएको छ । श्रीमतीको शरीरमा तातो पानी र अगुल्टोले पोलेको कसुरमा ती युवकलाई दैलेख जिल्ला अदालतले सजाय तोकेको हो ।
अदालतका अनुसार दुईवर्ष कैद, २० हजार जरिवाना, ५० हजार पीडितलाई क्षतिपूर्ति र १२ सय रुपैंयाँ पीडित राहत कोषमा जम्मा गर्नुपर्ने फैसला भएको छ । भैरबी गाउँपालिका–५गौरीसल्लाका २६ वर्षीय दीपक नेपालीलाई आफ्नी श्रीमती २६ वर्षीया हस्तना नेपालीलाई ज्यानै जान सक्ने सम्मको कसुर ठहर गर्दै उक्त फैसला भएकोहो । जिल्ला न्यायाधीश दण्डपाणी लामिछानेको एकल इजलासबाट उक्त फैसला भएको श्रेस्तेदार इन्द्रबहादुर कार्कीले जानकारी दिए ।
गत साउन २१ गतेराती दीपकले आफूलाई देउता चढेको बहानामा श्रीमती हस्तना नेपालीको शरीरमा तातो पानी र अगुल्टोले पोलेका थिए । सोही घटनामा जिल्ला प्रहरी कार्यालय दैलेखमा साउन २२ गत अभियोग सम्वन्धमा भदौ १६ गते नै भएको थुनछेक बहसपछि जिल्ला न्यायाधीश दण्डपाणि लामिछानेको इजलासबाट दिपकलाई पुर्पक्षका लागि थुनामा राख्ने आदेश भएको थियो ।
शुक्रवार भएको फैसलाबारे पीडितको राहत र न्याय अनुभुतीमा राम्रो काम गरेको जिल्ला न्यायाधिवक्ता हरिप्रसाद घिमिरेले बताए ।






