युक्रेनमाथि हमला गरे रुसले गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने बेलायतको चेतावनी

काठमाण्डौ : रुसले युक्रेनमाथि हमला गरे गम्भीर आर्थिक परिणाम भोग्नुपर्ने बेलायतले चेतावनी दिएको छ ।
बेलायतका विदेशमन्त्री लिज ट्रसले रुसले यदि युक्रेनमाथि हमला गरे रुसले “गम्भीर आर्थिक परिणाम“ भोग्नुपर्ने चेतावनी दिनुभएको बीबीसीले जनाएको छ ।
उहाँले लिभरपुलमा हुने जी–सेभेन राष्ट्रका विदेशमन्त्रीहरूको बैठकमा एकताको प्रदर्शन गरिने र रुसको त्यस्तो खाले कदम “रणनीतिक गल्ती“ हुने बैठकबाट स्पष्ट पारिने बताउनुभएको हो।
ट्रसले रुस र रुसका साझेदारहरूले युक्रेनमा हमला गर्ने वा कब्जा गर्ने कारबाहीलाई रोक्नुपर्नेमा जोड दिनुभएको छ । युक्रेनी सीमामा रुसले ठूलो मात्रामा सैनिकहरू एकत्रित गरेपछि तनाव बढेको छ ।
अमेरिकी राष्ट्रपति जो बाइडन र रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले गएको मङ्गलवार त्यस क्षेत्रमा देखिएको तनाव कम गर्ने सम्बन्धमा भर्चुअल बैठक गर्नुभएको थियो ।






