कर्णालीमा नेतृत्व हत्याउन रस्साकस्सी


सुर्खेत : माओवादी केन्द्रको प्रथम कर्णाली प्रदेश सम्मेलन आज (शनिबार) देखि सुरु हुँदैछ । सुर्खेतको वीरेन्द्रनगरस्थित सिटी हलमा सम्मेनल हुने माओवादी केन्द्रले जनाएको छ । शुक्रबार पत्रकार सम्मेलन गर्दै माओवादीले सम्मेलनको सबै तयारी पुरा भएको जनाएको हो । सम्मेलनको उद्घाटन माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले भर्चुअल माध्यमबाट गर्नेछन् ।
प्रचण्डले सातै प्रदेशमा एकैसाथ प्रदेश अधिवेशनहरुको उद्घाटन गर्ने माओवादी केन्द्र कर्णाली प्रदेशकासंयोजक राजकुमार शर्माले जानकारी दिए । सम्मेलनलाई अर्थमन्त्री जनार्दन शर्मा, कर्णाली प्रदेश संयोजक एवम् पूर्व मन्त्री शक्तिबहादुर बस्नेत, पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाही लगायतका नेताहरुले सम्बोधन गर्नेछन् । उद्घाटनपछि दश वटै जिल्ला अध्यक्षहरुले जिल्लागत प्रतिवेदन पेश गर्नेछन् ।
शनिबार दिनभर प्रतिवेदन पेश गर्ने र आइतबार नयाँ नेतृत्व चयन गर्ने माओवादीको तयारीछ । माओवादी केन्द्रले आगामी नेतृत्व सर्वसम्मत चयन गर्ने जनाएको छ । ‘ हामी सर्वसम्वत रुपमा नेतृत्व चुन्छौँ’ माओवादीका केन्द्रीय सदस्य मायाप्रसाद शर्माले भने, ‘नेतृत्वका लागि चुनाव हुने अवस्था छैन ।’ त्यस्तै पूर्वमन्त्री एवम् प्रतिनिधिसभा सदस्य टेकबहादुर बस्नेतले पनि सर्वसम्मत रुपमा नेतृत्व चुनिने बताए ।
‘चुनाव त कुनै पनि हालतमा हुँदैन’ बस्नेतले भने, ‘सर्वसम्मत रुपमै नेतृत्व चुन्छौँ ।’ प्रदेश नेतृत्वका लागि भने आँकाक्षीहरु धेरै छन् । यद्यपी क्षमता, योग्यता र योगदानमा आधारमा सर्वसम्मत नेतृत्व चयन हुने नेताहरुको दाबी छ । सम्मेलनलाई सफल बनाउन भन्दै माओवादीले विभिन्न नेताहरुको जिम्मेवारी बाँडफाँड गरेको छ । जसमध्येकर्णालीका पूर्वमुख्यमन्त्री शाहीलाई आर्थिक व्यवस्थापन उपसमितिको जिम्मेवारी दिइएको छ ।
त्यस्तै पूर्वआर्थिक मामिला तथा कानून मन्त्री नरेश भण्डारीको नेतृत्वमा प्रचार–प्रसार उपसमिति, माओवादी सुर्खेतका संयोजक कृष्ण जिसीको संयोजकत्वमा आवास व्यवस्थापन उपसमिति, पूर्वआन्तरिक मामिला तथा कानून मन्त्री सीता नेपालीको संयोजकत्वमा स्वास्थ्य तथा प्राथमिक उपचार समिति र सांसद कृष्णा शाहको संयोजकत्वमा कलाकार तथा मनोरञ्जन व्यवस्था उपसमितिको नेतृत्व दिइएको हो ।
आधा दर्जन आँकाक्षी
माओवादी केन्द्रमा कर्णाली प्रदेश समितिको नेतृत्वका लागि आधा दर्जन नेताहरु आकाँक्षी देखिएका छन् । सुर्खेतका नरबहादुर विष्ट, सल्यानका टेकबहादुर बस्नेत, रुकुमपश्चिका राजकुमार शर्मा, जाजरकोटका रामदीप आचार्य र कालीबहादुर मल्ल, कालीकोटका महेन्द्रबहादुर शाही लगायतका नेतृत्वका लागि आकाँक्षी छन् । विष्ट सुर्खेत इन्चार्ज हुन् भने बस्नेत र मल्ल प्रदेश कमिटी सह–इन्चार्ज हुन् ।
त्यस्तै शर्मा बहालवाला प्रदेश कमिटी अध्यक्ष, आचार्य प्रदेश कमिटी सचिव हुन् । शाही कर्णाली प्रदेश सरकारका पूर्वमुख्यमन्त्री एवम् प्रदेश सह– इन्चार्ज हुन् । तिमध्ये शर्मा पुनः अध्यक्षमै दोहो¥याउने पक्षमा छन् । शर्मा र शाहीलाई पार्टीका संगठन विभाग प्रमुख एवम् अर्थमन्त्री जनार्दन शर्माको बलियो साथ छ । तर प्रदेश कमिटी इन्चार्ज एवम् पूर्वमन्त्री शक्ति बस्नेतले जाजरकोटका मल्ल, आचार्य र सल्यानका बस्नेत मध्ये एक जनालाई नेतृत्वमा ल्याउन चाहेको माओवादी केन्द्र निकट स्रोतले जनाएको छ ।
उल्लेखित मध्ये कसैको नाममा सर्वसम्मत नभए प्रदेशको नेतृत्व अन्य व्यक्तिको हातमा पुग्नेछ । जसमध्ये राष्ट्रियसभा सदस्य मायाप्रसाद शर्मा र कर्णाली प्रदेशका पूर्वमन्त्री नरेश भण्डारी नेतृत्वमा पुग्ने सम्भावित व्यक्तिहरु हुन् ।
तर शर्माले आफू नेतृत्वमा नआउने जनाएका छन् । माओवादीमा कर्णालीबाट १६ जना केन्द्रीय सदस्यहरु छन् । प्रदेश इन्चार्ज बस्नेत र संगठन विभाग प्रमुख शर्मा बाहेक १४ जना मध्येबाट एक जनालाई प्रदेशको महत्वपूर्ण जिम्मेवारी दिने माओवादीले तयारी छ ।
बढाइयो पदाधिकारी संख्या
माओवादी केन्द्रले प्रदेश कमिटीको पदाधिकारी संख्या बढाएको छ । नेताहरुको व्यवस्थापनमा सहज बनाउन प्रदेशमा पदाधिकारीको संख्या नौ जना पु¥याइएको हो । जसअनुसार अब माओवादी केन्द्रको प्रदेश कमिटीमा अध्यक्ष, तीन उपाध्यक्ष, सचिव, तीन सहसचिव र कोषाध्यक्ष रहनेछन् ।
यसअघि प्रदेश पदाधिकारी सात सदस्यीय मात्रै थियो । त्यस्तै प्रदेश कमिटीमा रहने सदस्य संख्या पनि बढाइएको छ । जसअनुसार अब माओवादीको कर्णाली प्रदेश कमिटी दुई ११ सदस्यीय रहेनछ । कर्णालीमा माओवादीका ८५ हजार पाँचसय २२ जना सदस्यहरु छन् ।
प्रवेश शुल्कबाटै सम्मेलनको खच
माओवादीकेन्द्रको प्रदेश सम्मेलनमा कुल नौसय ६२ जना प्रतिनिधि सहभागी हुनेछन् । प्रतिनिधिहरुका सहयोग, शुभेच्छुक, आमन्त्रित र सल्लाहकारसहित सम्मेलनमा झण्डै पाँचसय बढी सहभागी हुनेछन् । दुई दिनसम्म चल्ने सम्मेलनमा लाखौं रकम खर्च हुने अनुमान छ ।
सोहीकारण माओवादीले खर्च व्यवस्थापन गर्न प्रतिनिधिबाटै प्रवेश शुल्क उठाइने जनाएको छ । प्रत्येक व्यक्तिबाट एक हजार पाँचसयका दरले प्रवेश शुल्क उठाइने छ । प्रतिनिधिबाट मात्रै १४ लाख ४३ हजार रुपैयाँ संकलन हुनेछ । बाँकी रकम भने प्रतिनिधिसभा, प्रदेश सभा र राष्ट्रिय सभाका सदस्य तथा लाभको पदमा पुगेका शुभेच्छुकबाट संकल गर्ने माओवादीले जनाएको छ । कर्णालीका पूर्वमुख्यमन्त्री महेन्द्रबहादुर शाहीको नेतृत्वमा आर्थिक व्यवस्थापन उपसमिति गठन गरिएको छ ।






