ट्विटरले स्विकार्यो भारतले ल्याएको प्रविधिसम्बन्धी नयाँ कानुन

भारत सरकारले ल्याएको प्रविधिसम्बन्धी नयाँ कानुनलाई ट्विटरले स्विकार गरेको छ। यसअघि लामो समयसम्म भारतीय सरकारको यो नियममा असहमति जनाएको ट्विटरले अन्ततः सहमति जनाएको बिबिसीले जनाएको छ।
ट्विटरले भारतको नयाँ नियमअनुसार भारतीय प्रयोगकर्ताको गुनासो सुन्न स्थानीय अधिकारी विनय प्रकाशलाई समेत नियुक्त गरिसकेको छ।
यसअघि प्रयोगकर्ताको समस्या समाधानका लागि अमेरिकाको मुख्यालयको निर्णय कुर्नुपर्थ्यो भने अब भारतीय अधिकारीले नै समस्याको सम्बोधन गर्नेछन्।
अमेरिकी कम्पनी भारतमा नयाँ आइटी नियमहरू पालना गर्ने असफलताबारे केही समयदेखि विवादमा थियो। भारतमा नयाँ आइटी नियम लागु भएपछि पूरा गर्नुपर्ने अनिवार्य सर्तमध्ये तीन प्रमुख कर्मचारीको नियुक्ति हो।
यस आधारमा मुख्यतः अनुपालन अधिकारी, नोडल अफिसर र शिकायत अधिकारीको नियुक्तिमा तीनै जना भारतीय हुनुपर्ने छ।






