इपिएल ट्रफी सार्वजनिक, कार्लोस ब्रेथवेट र शोएब मलिकले खेल्ने

काठमाडाैं : एभरेष्ट प्रिमियर लिग (इपिएल) को चौंथो संस्करणको ट्रफी सोमबार सार्वजनिक गरिएको छ। लिग ९ देखि २३ असोजसम्म टियु मैदान कीर्तिपुरमा हुने कार्यतालिका छ।
आयोजकले प्रतियोगिताको विजेताले पाउने ट्रफी सार्वजनिक गरेको छ। इपिएल क्रिकेटले एक कार्यक्रमबीच उपाधि ट्रफी सार्वजनिक गरेको हो। इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तर र हंशराज हुलासचन्द एण्ड कम्पनीका अध्यक्ष शेखर गोल्छाले ट्रफी सार्वजनिक गरे।
इपिएलले आफ्नो मुख्य प्रायोजकका रुपमा बजाज पल्सर रहने जानकारी पनि दियो। गोल्छा ग्रुपका अध्यक्ष शेखर गोल्छा र इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले सम्झौता पत्रमा हस्तक्षर गरेका थिए। दुई बिच एक वर्षका लागि सम्झौता भएको हो। यद्यपि सम्झौता रकम भने खुलाइएको छैन।
कार्लोस ब्रेथवेट शोएब मलिक इपिएलमा
वेस्टइन्डिजका स्टार अलराउन्डर कार्लोस ब्रेथवेट र पाकिस्तानका अनुभवी ब्याट्सम्यान शोएब मलिकले इपिएल खेल्ने आयोजकले सार्वजनिक गरेको छ। यद्धपि कुन टोलीबाट भने खुलाएको छैन।
विश्व स्टार खेलाडीहरूको नाम सार्वजानिक गरिए पनि आइसिसीको व्यस्तता कार्यतालिका र नेपालमा बढ्दो कोरोना कहरमा उनीहरूको उपस्थितिलाई लिएर संशय व्यक्त गरिएको छ।
प्रतियोगिता विभिन्न ६ सहरको नाममा आयोजना हुँदै आएको छ। विराटनगर वारियर्स, काठमाडौं किंग्स ११, चितवन टाइगर्स, ललितपुर प्याट्रियट्स, भैरहवा ग्ल्याडियटर्स र पोखरा राइनोजले टि-२० फर्म्याटमा एक अर्काविरुद्ध प्रतिस्पर्धा गर्नेछन्।
पछिल्लो पटक २०१८ को इपिएलको फाइनलमा ललितपुर च्याम्पियन भएको थियो। यद्यपि कोरोना महामरीको कारण त्यसयता इपिएल स्थगित हुँदै आएको छ।






