पुराना ट्रान्समिटर र जीर्ण बनेका संरचनाले सधैं विद्युत अनियमित

सुर्खेत । एक महिनादेखि मनसुन सक्रिय छ । देशका विभिन्न ठाउँमा आएको बर्षाका कारण नदी नालाहरुमा पनि पानीको स्रोत बढेको छ । असार–साउनको महिना पानीको स्रोत त्यसै पनि बढी हुन्छ । यसकारण पनि अरु समयभन्दा बर्खामा विद्युत उत्पादन पनि बढी हुन्छ । त्यसमा पनि हाल देशका विभिन्न ठाउँमा साना तथा ठूला आयोजनाबाट विद्युत थपिदै आएको छ ।
केहीदिन अघि मात्रै माथिल्लो तामाकोशी जलविद्युत आयोजनाबाट चारसय ५६ मेगावाट विद्युत थपिएको छ । यस हिसावले हिजोआज नियमित रुपमा विद्युत आपूर्ति हुनुपथ्र्याे । देशभर पूर्णरुपमा लोडसेडिङमुक्त छ । प्रायः सबै ठाउँमा विद्युत आपूर्ति सहज छ । उत्पादनमा बृद्धिभएसँगै ग्रामीण बस्तीहरु पनि विद्युतिकरण भएका छन् । विद्युतिकरणले दियालो, सोलार र टुक्कीमारालाई विस्थापित गरिदिएको छ ।
तर सुर्खेतसहित कर्णाली प्रदेशको अवस्था भने ठिक उल्टो छ । कर्णालीका सुर्खेत, दैलेख, कालीकोट, सल्यान र रुकुमपश्चिममा दैनिक ३०/४० पटक विजुली जान्छ । विहान, दिउँसो, साँझ र मध्यरातमा पनि झ्याप्प झ्याप्प वत्ति गइरहन्छ । वत्ति जाने र आउने कुनै ठेगान छैन । विद्युत आफूर्ति अनियमित हुँदा उपभोक्ता मारमा परेका छन् ।
घण्टा–घण्टामा गइरहने विद्युतले उपभोक्ताको दैनिकी असहज बनाएको छ । विद्युत आए पनि भोल्टेज कम हुन्छ । विद्युत अनियमित र लो–भोल्टेजका घरमा चिमहरु फ्यूज हुने, पंखाका क्वाइलहरु जाने, टेलिभिजनका स्क्रिनको डिस्प्ले जाने, आइसी उड्ने जस्ता समस्या हुँदै आएका छन् ।
थोत्रा ट्रान्समिटर र पुराना संरचनाका कारण लो–भोल्टेज र ओभर भोल्टेजको समस्या कायमै छ । ओभर लोडका कारण पटक–पटक बत्ति जान्छ भने विद्युत हुँदा भए पनि लो भोल्टेजले समस्या हुने गरेको छ । उसो त कोहलपुर–सुर्खेत प्रसारण लाइनमा पुराना र जीर्ण संरचनाहरु छन् । कमजोर संरचनाका कारण हावाहुरी नचलेको अवस्थामा पनि छिनछिनमा बत्ती जाने गरेको छ । कुनै स्थानमा थोत्रा ट्रान्समिटर छन् । ट्रान्समिटरको क्षमताभन्दा बढी उपभोत्ताको माग बढी हुँदा पनि पटक–पटक वत्ति जाने गरेको हो । ट्रान्समिटरमा आउने समस्याका कारण वीरेन्द्रनगरकै एक ठाउँमा वत्ति हुँदा अर्काे ठाउँमा बत्ति हुँदैन ।
यसरी हुने अनियमति लोडसेडिङले हिजोआज उपभोक्ता मारमा परेका छन् । पछिल्लो हप्तादिन यता उपभोक्ताले हैरानी खेप्नु परेको छ । सव–स्टेशन र ट्रान्समिटरमा आएको खराबीका कारण विद्युत आपूर्तिमा समस्या छ । यद्यपी बुधबारसम्म समस्या समाधान गरिसकिएको प्राधिकरणले जनाएको छ । ‘सवस्टेशनको ब्रुफिङमा खराबि आउँदा हप्तादिनदेखि विद्युत आपूर्तिमा समस्या थियो, तर अहिले मर्मत गरिसकेका छौँ’ नेपाल विद्युत प्राधिकरणको सुर्खेत वितरण केन्द्रका प्रमुख टंकराज गिरीले भने, ‘तत्काल मर्मत गरेर काम चलाएका छौँ, छिट्टै नयाँ मेसिन जडान गरेर समस्या हल गर्छाैँ ।’
सव स्टेशनमा देखिएको समस्यालाई हल गर्न दैलेखमा रहेको मेसिन झिकाइएको छ । उक्त मेसिन जडान गरेपछि केही समस्या हल हुने कार्यालयले जनाएको छ । यस बोहक जीर्ण संरचना र ओभरलोडका कारण विद्युत आपूर्तिमा समस्या आउने गरेको वितरण केन्द्रले जनाएको छ । ‘कतिपय अवस्थामा विद्युत तारमा चरा तथा रुखका खाँगा पर्दा पनि विद्युत जाने गर्छ,’ गिरीले भन्छन् ‘पुराना संरचना र ओभरलोडका कारण विद्युत जाने आउने भइरहेको छ ।
कहिलेकाँही भने कोहलपुरबाटै विद्युत कटौती हुने गरेको छ । कोहलपुर–सुर्खेत प्रसारण ३३ केभिए लाईनको अधिकांश क्षेत्रमा जंगल पर्दछ । हावाहुरीका कारण रुखहरु ढल्दा सुर्खेतसहित सल्यानको पश्चिम क्षेत्र, दैलेख र जाजरकोटमा विद्युत अवरुद्ध हुन्छ । एकसय ३३ केभिए प्रसारणलाईन विस्तार नहुँदासम्म कर्णालीमा विद्युत आपूर्ति सहज नहुने गिरीको भनाइ छ ।
ट्रान्समिटरको क्षमताभन्दा उपभोक्ताको माग दोब्बर
वीरेन्द्रनगरमा एकसय २० भन्दाबढी ट्रान्समिटरछन् । ति मध्ये प्राधिकरणका मात्रै एकसय चार वटा ट्रान्समिटर छन् । तर अधिकांश ट्रान्समिटर थोत्रा अर्थात पूराना छन् । पुराना ट्रान्समिटरले उपभोक्ताको माग अनुसारको लोडलाई धान्न सकेका छैनन् । ट्रान्समिटरको क्षमताभन्दा उपभोक्ताहरुको माग दोब्बर छन् ।
अहिले ग्राहकसंख्या दिनदिनै बृद्धि हुँदा पनि ट्रान्समिटरहरु अपग्रेट गरिएका छैनन् । उपभोक्ताको संख्या अनुसार अधिकांश क्षेत्रमा नयाँ र ठूला क्षमताका ट्रान्समिटरहरु राख्नुपर्ने हुन्छ । तर हालसम्म राखिएका छैनन् । यही कारण सुर्खेतमा कुनै ठाउँमा बत्ति हुँदा पनि कुनै ठाउँमा दिनभर बत्ति आउँदैन ।
प्राधिकरणका ट्रान्समिटरहरुमा समस्या आइरहने भएपछि वीरेन्द्रनगरका केही उपभोक्ताहरुले आफ्नै ट्रान्समिटर राखेका छन् । वीरेन्द्रनगरमा निजी क्षेत्रका करिव १५÷१६ वटा ट्रान्समिटर छन् । रेडियो नेपाल, औद्योगिक क्षेत्र, क्रसर उद्योग, खानेपानी र बैंक लगायतले आफ्नै ट्रान्समिटर राखेका छन् ।
सुर्खेतका थप दुई ठाँउमा सव–स्टेशन संचालन हुने
विद्युत आपूर्तिलाई सहज बनाउन सुर्खेतका दुई स्थानमा सवस्टेशन सञ्चालनमा ल्याउने तयारी भइरहेको छ । पश्चिम क्षेत्रको बाबियाचौर र उत्तरको मटेलामा सव–स्टेशन सञ्चालन गर्ने तयारी भइरहेको विद्युत प्राधिकरणको सुर्खेत वितरण केन्द्रले जनाएको छ । ति ठाउँमा सव–स्टेशन तयार भइसकेका छन् ।
प्राविधिक काम सकिएपछि सञ्चालनमा ल्याइनेछ । सवस्टेशन थपिएपछि सम्बन्धित क्षेत्रमा विद्युत आपूर्तिमा समस्या आउँदा वीरेन्द्रनगरमा पनि पुरै लाइन काट्नुपर्ने बाध्यता हट्नेछ । हाल वीरेन्द्रनगरको बुदबुदी सव–स्टेशन, दैलेखको राकम कर्णाली र रामघाटमा सव–स्टेशनहरु छन् । मटेला, दैलेख बजार, सुर्खेतको पश्चिम क्षेत्रको कुनै पनि भागमा समस्या आउँदा बुदबुदीबाटै लाइन काट्नुपर्ने बाध्यता छ । कर्णाली प्रदेशका सुर्खेत, दैलेख, कालिकोट, सल्यान र जाजरकोटमा नेपाल विद्युत प्राधिकरण कोहलपुर र दैलेखको नौमुलेबाट विद्युत आपूर्ति हुँदै आएको छ ।
सेवा सुधार गर्न दुईदिने अल्टिमेटम
सुर्खेतका उद्योगी तथा व्यवसायीहरुले नेपाल विद्युत प्राधिकरणको कर्णाली प्रादेशिक कार्यालयलाई ध्यानाकर्षण पत्र बुझाएका छन् । दुई दिनभित्र यस क्षेत्रको विद्युत सेवा नियमित गर्न माग गर्दै व्यवसायीहरुले ध्यानाकर्षण पत्र बुझाएका हुन् ।
पटके लोडसेडिङ्गले व्यवसाय र उद्योग कलकारखाना नै मारमा परेको भन्दै तत्काल यसलाई सुधार गर्न ध्यानाकर्षण पत्र बुझाइएको सुर्खेत उद्योग वाणिज्य संघका महासचिव लक्ष्मण कँडेलले जानकारी दिए । दुईदिने अल्टिमेटमसहित ध्यानाकर्षणपत्र बुझाइएको उनले बताए । ‘दुईदिने अल्टिमेटम दिएर हामीले ध्यानाकर्षण पत्र बुझाएका छौँ’ उनले भने, ‘उक्त समयमा पनि समस्या समाधान नभए विद्युत कार्यालय नै घेराउ गर्नेछौं ।’ सो अवसरमा प्रादेशिक कार्यालयका हरराज न्यौपानेले विद्युत आपूर्तिलाई सहज बनाउन पहल गर्ने आश्वासन दिएका छन् ।






