सकियो एमाले कार्यदलको बैठक, भोलि फेरि बस्ने

नेकपा एमाले एकताका लागि गठित कार्यदलको बैठक सकिएको छ । सिंहदरबारस्थित अर्थ मन्त्रालयमा मंगलबार दिउँसो बसेको बैठकमा असहमतिका कुरा राखिएको कार्यदलका सदस्य गोकर्ण बिष्टले जानकारी दिए ।
‘हामीले आज कहाँ(कहाँ हाम्रा असहमतिहरू छन् भन्ने सबै राख्यौं । छलफल सकारात्मक छ, भोलि फेरि बस्छौं,’ बैठकपछि बिष्टले भने । कार्यदलका अर्का सदस्य सुवास नेम्वाङले आज विस्तृत, गम्भीर र सकारात्मक छलफल भएको बताए ।
‘अहिलेसम्म भइरहेका घटनाक्रमबारे विस्तृतमा छलफल भयो । भोलि बिहान साढे आठ बजे बस्ने गरी आजलाई हामी उठ्यौं,’ उनले भने । यसअघि सोमबार साँझ बसेको बैठकले अनौपचारिक छलफलको पुनरावलोकन भएको भन्दै उनले आज फेरि बैठक बस्ने निर्णय गरेको थियो ।
कार्यदलमा प्रधानमन्त्री एवम् पार्टी अध्यक्ष केपी शर्मा ओलीका तर्फबाट सुवास नेम्वाङ, विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन् । यस्तै वरिष्ठ नेता माधव नेपालका तर्फबाट भीम रावल, घनश्याम भुसाल, गोकर्ण विष्ट, रघुजी पन्त र सुरेन्द्र पाण्डे छन् ।





