एमाले कार्यदलको बैठक सिंहदरबारमा सुरु

काठमाडौं । नेकपा एमालेको विवाद समाधानका लागि गठित कार्यदलको बैठक सुरु भएको छ । सिंहदर बारस्थित अर्थ मन्त्रालयमा विवाद समाधान कार्यदलको बैठक सुरु भएको हो ।
अध्यक्ष केपी शर्मा ओलीले कांग्रेस सभापति शेरबहादुर देउवालाई प्रधानमन्त्री बनाउन गरेको हस्ताक्षर फिर्ता गर्न दिएको समयसीमा सकिएपछि कार्यदल ब्युँतिएको थियो ।
पार्टी भित्रको विवाद उत्कर्षमा पुगेपछि अध्यक्ष ओली र नेता माधवकुमार नेपालले गठन गरेको कार्यदलले आज सहमतिको महत्वपूर्ण निर्णय गर्नसक्ने तयारी गरेको छ।
अध्यक्ष ओली र नेता नेपालबीच संयुक्त वक्तव्यको तयारी भइरहेको कार्यदलका एक सदस्यले जानकारी दिए। कार्यदलमा संस्थापन पक्षबाट सुवास नेम्वाङको नेतृत्वमा विष्णु पौडेल, प्रदीप ज्ञवाली, विष्णु रिमाल र शंकर पोखरेल छन्। नेता नेपालको तर्फबाट भीम रावलको नेतृत्वमा घनश्याम भुसाल, गोकर्ण विष्ट, सुरेन्द्र पाण्डे र रघुजी पन्त छन्।
सोमबार साँझ बसेको कार्यदलको बैठकले पार्टीलाई एकताबद्ध बनाएर जाने सहमति बनाएको थियो। आजबाट औपचारिक रुपमा बैठक अघि बढ्ने नेता नेम्वाङले जानकारी दिए । ‘हामीले आन्तरिक तयारी धेरै गरेका छाैं, नेम्वाङले भने, ‘आजबाट कार्यदलको बैठक औपचारिक विषयमा प्रवेश गर्छ, हामी पार्टीलाई एकतावद्ध बनाउन अत्यन्तै गम्भीर भएर लागेका छाैं ।’






