“परदेशी”

(लाेक भाका – बहिनीकाे दया छ भने…….)
हे : आज भाेलि यत्रतत्र काेराेनाकाे राेग,
सम्झिरन्छु लाला बाला न त निन्द्रा भाेक ।
हा : परदेशीकाे के छ र भर , मिले छुट्टी आउने छु म घ र।
हे : खाडी मुलुक गर्मी महिना सडककाे काम,
काम धेरै काम अनुसार पाउनु छैन दाम ।
हा : गर्मीले पसिना तरर ,
घर सम्झि झन् आँशु बरर ।
हे : सपनीमा घर गए पुतलीकाे भेशमा,
मर्म बुझ्ने काेहि छैन याे विरानाे देशमा ।
हा : घण्टी बज्याे ड्युटीमा जानलाई ,
किन आज मन छैन खानलाई ।
हे : बाबा आमा बल्लतल्ल भित्र बाहिर हाेला,
प्रिया एक्लै घर धान्छिन् कस्ताे हालत हाेला ।
हा : नआउनु विदेश आइएछ,
पाउनु दु:ख बल्ल पाे पाइएछ ।
हे : अस्ति बिराम लाग्याे मलाइ मर्छु जस्ताे भए,
बाँचे अब विदेश आउन्न
भनी कसम खाए ।
हा : कमाउँछु भनेर आइयाे , याँहा आउदा बल्ल पाे चाल पाइयाे ।
हे : साेच्दा साेच्दै घरकाे पीर यी आँखा टाेलाए,
बाँधिएन मनकने बाँध सिरानी रुझाँए ।
हा: जाने साथी याे नाशाे लग्दिनु ,
आँउछु सानु घरमा भन्दिनु ।
हे : कति यतै मरे कठै कति बिरामी छन्,
यस्ताे सास्ती देख्दा देख्दै अझै यतै आछन् ।
हा : नेपाल सरकार कुर्सीकाे खेलमा छ,
जनता त आपतकाे भेलमा छ ।
हे : भ्रष्टाचार निर्मुल पाराैँ
स्वार्थी नेता फेराैँ,
विदेशीकाे भर छाेडाैँ आफ्नै भर पराैँ ।
हा : नजाउ विदेश परिवार छाेडेर,
पाैरख गराैँ स्वदेशमै बसेर ।।
लेखक : शिव प्रसाद उपाध्याय






