गणतन्त्र दिवसमा नेपालगन्जमा ‘प्रथम मेयर सांस्कृतिक कप’ आयोजना हुँदै

बाँके ,२५ बैशाख ।

आगामी जेठ १५ गते गणतन्त्र दिवसको अवसर पारेर बाँके कला केन्द्र ले नेपालगन्ज उपमहानगरपालिका को आर्थिक सहयोगमा ‘प्रथम मेयर सांस्कृतिक कप’ आयोजना गर्ने भएको छ ।

अन्तरमाध्यमिक विद्यालयस्तरीय सामूहिक लोकनृत्य प्रतियोगितालाई ‘प्रथम मेयर सांस्कृतिक कप’ नाम दिई कार्यक्रम सञ्चालन गर्न लागिएको बाँके कला केन्द्रका अध्यक्ष सुन्दर गुरुङ ले जानकारी दिनुभयो ।

उहाँका अनुसार नेपालगन्ज उपमहानगरपालिका क्षेत्रभित्र रहेका सामुदायिक तथा संस्थागत विद्यालयका कक्षा ६ देखि १२ सम्मका विद्यार्थी प्रतियोगितामा सहभागी हुन सक्नेछन् । प्रतियोगितामार्फत विभिन्न जातजातिका मौलिक कला, संस्कृति र परम्परालाई झल्काउने सामूहिक लोकनृत्य प्रस्तुत गरिने जनाइएको छ ।

प्रतियोगिताका संयोजक बिरेन्द्र यादव का अनुसार प्रत्येक समूहमा न्यूनतम ६ जना देखि अधिकतम १२ जना कलाकार सहभागी भएर प्रतिस्पर्धा गर्नेछन् ।

प्रतियोगितामा उत्कृष्ट प्रदर्शन गर्ने समूहलाई आकर्षक नगद पुरस्कार तथा ट्रफी प्रदान गरिने आयोजकले जनाएको छ । साथै, नेपालगन्जमा बसेर कलाकारिता क्षेत्रमा विशेष योगदान पुर्‍याउँदै आएका एक जना वरिष्ठ कलाकारलाई सोही अवसरमा विशेष सम्मानसमेत प्रदान गरिने अध्यक्ष गुरुङले बताउनुभयो ।

स्थानीय कला, संस्कृति र मौलिक पहिचानको संरक्षण तथा प्रवर्धन गर्ने उद्देश्यले आयोजना गर्न लागिएको उक्त प्रतियोगितालाई आगामी वर्षहरूमा अझै भव्य र व्यापक बनाउँदै लैजाने योजना रहेको बाँके कला केन्द्रले जनाएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *