गाउँका कथा लेख्न सिक्दै :बालबालिका

जुम्ला ,२५ बैशाख ।
कापीको एउटा पानामा सुजाता गिरी केही शब्द मिलाउँदै थिइन्। उनको हातमा कलम थियो, तर त्यो अक्षर कोर्नका लागि मात्र थिएन। उनी आफ्नो वरिपरिको समाज बुझ्न, देखेका कुरा लेख्न र नसुनिएका आवाज टिप्न सिक्दै थिइन्।“समाचार भनेको ठूलो मान्छेले मात्रै लेख्ने कुरा होला भन्ने लाग्थ्यो,” उनले लजाउँदै भनिन्, “तर अहिले हामीले पनि गाउँका कुरा लेख्न सकिने रहेछ भन्ने थाहा भयो।”जुम्लाको चन्दननाथ नगरपालिका–९ स्थित ज्ञानकुञ्ज माध्यमिक विद्यालयमा कक्षा ९ मा अध्ययनरत सुजाता अहिले जुम्लामा सुरु गरिएको बालसम्वाददाता तालिमकी सहभागी हुन्। सोसेक नेपालले ‘विहानी परियोजना’ अन्तर्गत पाँच जना बालबालिकालाई सहभागी गराएर पहिलोपटक सञ्चालन गरेको तालिमले उनीहरूलाई समाज हेर्ने नयाँ दृष्टि दिएको छ।

जुम्लाका धेरै बालबालिकाको दैनिकी विद्यालय, घर र सीमित घेराभित्रै बित्ने गर्छ। समाजमा भइरहेका घटना, समस्या र परिवर्तनलाई बुझ्ने अवसर कमै पाउँछन्। उनीहरूका आफ्नै अनुभव र प्रश्नहरू पनि धेरैजसो घरको आँगनमै हराउँछन्। तर यही मौनतालाई शब्दमा उतार्ने प्रयास अहिले जुम्लाबाट सुरु भएको छ।तालिममा सहभागी बालबालिकालाई पत्रकारिता परिचय, समाचार लेखन, समाचारका प्रकार, समाचारका स्रोत तथा सम्वाददाताको भूमिकाबारे सिकाइ भइरहेको छ। पहिलो दिनदेखि नै उनीहरू उत्साहका साथ नोट टिपिरहेका, प्रश्न गरिरहेका र आफ्ना अनुभव साटिरहेका देखिन्छन्।सोसेक नेपालकी फिल्ड अफिसर सरस्वती भण्डारीका अनुसार बालबालिकाले सानै उमेरदेखि समाजसँग जोडिन, आफ्ना कुरा अभिव्यक्त गर्न र समुदायका विषयमा संवेदनशील बन्न सकून् भन्ने उद्देश्यले तालिम आयोजना गरिएको हो।“बालबालिकाका कुरा धेरैजसो सुनिँदैनन्,” उनले भनिन्, “तर उनीहरूले देखेका समाजका पाटा धेरै फरक र वास्तविक हुन्छन्। त्यही आवाजलाई बाहिर ल्याउने प्रयास हो।”जुम्लाजस्तो दुर्गम जिल्लामा बालबालिकाका लागि सिर्जनात्मक अवसर सीमित छन्। प्रविधिको पहुँच विस्तारिए पनि त्यसलाई सिर्जनात्मक र जिम्मेवार ढंगले प्रयोग गर्ने वातावरण अझै कमजोर छ। कतिपय बालबालिका सामाजिक सञ्जालमा सक्रिय भए पनि आफ्नै समुदायका मुद्दा र समस्या लेख्ने अभ्यासबाट टाढा छन्। यस्ता बेला बालपत्रकारिता तालिमलाई सिकाइ नभई चेतनाको अभ्यासका रूपमा पनि हेरिएको छ।तालिमका मुख्य प्रशिक्षक नेपाल पत्रकार महासंघ जुम्लाका पुर्व अध्यक्ष नेत्रबहादुर शाही बालबालिकामा प्रश्न गर्ने बानी विकास हुनु नै ठूलो उपलब्धि भएको बताउनुहुन्छ। “पत्रकारिता भनेको समाचार लेख्नु होइन,” उनलेे भन्नुभयो, “समाजलाई बुझ्ने, सत्य खोज्ने र जिम्मेवार ढंगले कुरा राख्ने अभ्यास पनि हो।”तालिममा सहभागी बालबालिका अहिले आफ्नो गाउँ, विद्यालय र समाजका साना–साना कथा टिप्न उत्साहित छन्। कसैलाई विद्यालयको समस्या लेख्न मन छ, कसैलाई बालबालिकाको खेलकुदबारे कसैले गाउँका वृद्धवृद्धाका भोगाइ सुन्न चाहेका छन् भने कसैले आफ्नै उमेरका साथीहरूको सपना।सायद उनीहरूले लेख्ने ती शब्दहरू अहिले साना लाग्लान्। तर त्यही साना शब्दहरूले भोलि समाजलाई हेर्ने दृष्टि बदल्न सक्छन्। जुम्लाका ती बालबालिकाले अहिले समाचार लेख्न सिकिरहेका छैनन्, उनीहरू आफ्नै समाजको कथा बोल्न सिकिरहेका छन्।






