सहकारीबाटै गरिबी अन्त्य र आत्मनिर्भर बनाउने योजना

हिमाली बचत तथा ऋण सहकारी संस्था, वीरेन्द्रनगर
अधिकांश अभिभावकको चाहना सन्तानले सरकारी जागिर गरोस् भन्ने हुन्छ । त्यसमा पनि ग्रामीण क्षेत्रमा त आफ्नो सन्तान शिक्षक बनोस् भन्ने धेरै हुन्छन् । तर समय र परिस्थितिले चाहेको पूरा हुँदैन । तथापि अधुरा रहेका सपनाहरु छाडेर जसले मेहनत गर्छ, उसले अन्य क्षेत्रमा पनि सफलता प्राप्त गर्न सक्छ । यस्तै भयो वीरवहादुर रावतको जीवनमा पनि । उनको परिवारले उनलाई शिक्षक बनाउन चाहन्थ्यो । तर उनी अहिले आफूमात्र होइन, समुदायको हितमा काम गरिरहेका छन् । अर्थात वीरेन्द्रनगरमा हिमाली बचत तथा ऋण सहकारी संस्था स्थापना गरेर गरिबी न्यूनिकरण र समुदायलाई आत्मनिर्भर बनाउने योजनाका साथ अगाडि बढीरहेका छन् । आजको जम्काभेटमा सहकारीका अध्यक्ष उनै रावतसँग हाम्रा सहकर्मी टेकराज केसीले कुराकानी गरेका छन् । प्रस्तुत छ, कुराकानीको सम्पादित अंश :
सानैदेखि निडर
बुवा लाप्का रावत र आमा टसीतिमजुङ रावतको कोखबाट २०२९ साल साउन १७ गते सुर्खेतको वीरेन्द्रनगर वडा नम्बर ३ पतेनीमा वीरबहादुर रावतको जन्म भयो । उनको बाल्यकाल भने जुम्लाको हालको पातारासी गाउँपालिका वडा नम्बर ३ मा वितेको हो । उनी घरको जेठो छोरा हुन् । उनका ६ भाइबहिनी छन् । उनको बाल्यकाल मध्यम खालको थियो ।
उनका बुवाले कृषि र व्यापार गर्दथे । उनको घरमा खान र लाउनको दुख थिएन । मध्यम खालको परिवारमा जन्मिएका उनी सानैदेखि निडर स्वभावका थिए । अन्यायकोविरुद्ध भने उनी जाइलाग्थे । वर्गिय र जातिय रुपमा गरिने विभेद उनलाई सह्य हुन्थेन। गाउँमा रहेको खलो प्रथाको उनले सानैदेखि नै विरोध गर्थे ।
घरको काम गर्दै शिक्षा आर्जन
उनले सानो कक्षा गाउँमै पढे । १ कक्षा जुम्लाको पातारासी गाउँपालिकामा रहेको अहिलेको मालिका माविमा पढे । त्यतिबेला घोडा र भेडासँग आधा समय जुम्ला र आधा समय सुर्खेत आउनुपथ्र्यो ।
व्यापार व्यवसाय उनको बुवाले गर्थे । अनि २ कक्षादेखि ५ कक्षासम्म डाँडास्कुल वीरेन्द्रनगरमा पढेका उनले ६ र ७ कक्षा भने जनमावि सुर्खेतमा पढे । अनि उनले ८ कक्षादेखि भने चन्दननाथ मावि जुम्लामा पढेका हुन् । उनले त्यही माविबाट २०५२ सालमा एसएलसी पास गरे । उनले घरमा काम गर्दै विद्यालको शिक्षा हासिल गरे ।
साँझ र बिहान घरमा घाँस र दाउरा ल्याउनेदेखि गाई, भेडा र घोडाको गोठालो जान्थे । उनी घरको काम गर्दै विद्यालय जान्थे । त्यो समयमा गोठालो गएर साथीहरुसँग रमाउने र खेल्ने पनि गर्थे । बाल्यकालमा लुकामारी खेल्दाको समय सम्झदै उनी भन्छन, त्यतिबेला रमाइलो पनि हुन्थ्यो ।
शिक्षक बन्ने रहर अधुर
उनी सानैदेखि मेहेनती थिए । त्यतिबेला पढेका मानिसलाई शिक्षक बन्नुपर्छ भन्ने हुन्थ्यो । उनको बुवाआमाले पनि पढेर शिक्षक नै बन्नुपर्छ भन्थे । उनले पनि त्यही लक्ष्य लिएर आफ्नो पढाइमा मेहेनत गरे । उनी घरको जेठो छोरा थिए। बुवाआमा पछाडीको जिम्मेवारी उनको काँधमा आयो ।
उनले बोकेको लक्ष्य अनुसार तत्काल शिक्षक बन्न सकेनन् । घरको जिम्मेवारीसँगै उनले कर्णाली प्राविधिक शिक्षालयमा सवओभरसियर पढ्न थाले । उनले त्यो शिक्षा लिनलाई छात्रवृत्ति पाएका थिए । उनले प्राविधिक शिक्षा हासिल गर्ने मौका पाए । अनि केही समय त्यही प्राविधिक शिक्षालयमा प्रशिक्षक शिक्षक भएरसमेत काम गरे । उनको बुवा आमाले शिक्षक बनाउने रहर केही समय भए पनि पुरा गरे । तर उनले जीवनभर शिक्षक बन्ने लक्ष्य भने पुरा गर्न सकेनन् ।
सशस्त्र द्धन्द्धको पीडा
उनले एकबर्ष कर्णाली प्राविधिक शिक्षालयमा पढाए । त्यसपछि जुन प्रोजेक्टले उनलाई छात्रवृत्ति दिएर पढाएको थियो, त्यही संस्थामा उनले जागिर पाए। त्यसबेला देशमा माओवादी द्धन्द्ध थियो । विद्रोही पक्षले त्यस प्रोजेक्टमा आक्रमण गरेपछि त्यो प्रोजेक्ट नै विघटन भयो ।
उनी र उनको परिवारलाई त्यो विद्रोही समुहबाट चर्को दबाव थियो । उनलेसमेत धेरै पटक द्वन्द्वको बेला यातना पाए। उनको स्याउको बगैचासमेत फालियो । अनि उनीहरु त्यो ठाउँ नै छोडेर सुर्खेत बसाइ आए । उनले धेरै यातना पाउनुको कारण भनेको उनी २०५४ सालमा तत्कालिन वडा अध्यक्ष लडेर राजनीतिमा सक्रिय थिए ।
सहकारीको स्थापना
उनले नागरिकको सानो पुँजीलाई बचत गरेर ठुलो कोष बनाउने र आत्मनिर्भर बनाउने योजना बनाए । त्यसका लागि सहकारी स्थापना गर्ने र त्यसमार्फत सबैलाई आत्मनिर्भरतामा लैजानेगरी २०६२ सालमा उनकै पहलमा वीरेन्द्रनगरमा हिमाली बचत तथा ऋण सहकारी संस्था स्थापना भयो ।
जागिर र सहकारी संस्थालाई उनले सँगसँगै लगे । स्थापनाकालदेखि यो सहकारीको संस्थापक अध्यक्ष रहेका उनी अहिले पनि अध्यक्षको रुपमा काम गरिरहेका छन् । उनी यो सहकारीको संस्थापन अध्यक्षसँगै विभिन्न क्षेत्रमासमेत नेतृत्वदायी भुमिकामा छन् ।
राजनीतिमा पनि सक्रिय
उनी राजनीतिमा पनि सक्रिय भएर काम गरिरहेका छन् । २०५४ सालदेखि नै उनी राजनीतिमा सक्रिय भएका थिए ।
२०५९ सालमा नेकपा एमालेमा लागेका उनी पार्टीको सुर्खेत जिल्ला कमिटी सदस्य हुँदै विभिन्न तहमा काम गरे । उनी २०७४ सालको आमनिर्वाचनमा नेकपा एमालेबाट समानुपातिक सांसदमासमेत सिफारिस भएका थिए । उनी जनजाती महासंघ सुर्खेतको सचिव र कर्णाली प्रदेशको अध्यक्ष हुँदै अहिले माधव नेपाल नेतृत्वको नेकपा एकिकृत समाजवादी पार्टीको जनजाती महासंघको केन्द्रीय सचिव छन् भने पार्टीको जिल्ला कमिटी सदस्य पनि छन् ।
जीवनमा संघष
सानैदेखि संघर्ष गर्दै आएका उनल जुनसुकै काम गर्दा पनि धेरै मेहेनत गर्थे । सबै क्षेत्रमा काम गर्दा उनले धेरै संघर्ष गरे । उनले जागिरको शिलशिलामा आधा दर्जनभन्दा धेरै जिल्लामा गएर काम गरिसकेका छन् । त्यतिबेला देशमा चरम द्वन्द्व थियो । त्यसको चुनौतीकाबिच पनि उनले काम गरे । घरको जेठो छोरा भएको हुँदा उनको काँधमा बुवा आमापछिको जिम्मेवारी थियो ।
तर उनलाई अझै पनि संघर्ष नपुगेको जस्तो लाग्छ । उनको बिचारमा संघर्ष नै जीवन हो । त्यही संघर्षकै कारण उनी हाल विभिन्न क्षेत्रमा परिचित बनेका छन् । उनको परिवारले पनि उनलाई यी सबै काम गर्न धेरै सहयोग गरेको थियो । उनी जीवनलाई सहज बनाउन संघर्ष गर्न सुझाव दिन्छन् ।
अबको योजना
सहकारीमार्फत समुदायमा रहेको गरिबी कम गर्दै आत्मनिर्भर बनाउने उनको भावी योजना छ । अब ऋण दिएर मात्र होइनु हरेक नागरिकलाई उद्यमी बनाउँदै उत्पादनमा वृद्धि गर्ने र आत्मनिर्भर बनाउने उनको योजना छ ।
उनले अहिले पनि यही अभियानलाई निरन्तरता दिइरहेका छन् । राजनीतिमासमेत सक्रिय भएको हुँदा समाज रुपान्तरणका लागि नीति निर्माणमा काम गर्ने उनको योजना छ ।






