काँक्रेविहारमा अब चिडियाखाना

सुर्खेत : सुर्खेतको प्रमुख पर्यटकीयस्थल काँक्रेविहार क्षेत्रमा चिडियाखाना निर्माण गर्न थालिएको छ । वीरेन्द्रनगर नगरपालिकाले काँक्रेविहारमा पर्यटकलाई थप आकर्षित गर्न मिनी चिडियाखाना स्थापनाको काम थालेको हो । यसका लागि आवश्यक पूर्वाधार निर्माण थालिएको वीरेन्द्रनगर नगरपालिकाका मेयर देवकुमार सुवेदीले बताए ।

‘सानो आकारको चिडियाखाना बनाउने योजना छ’ मेयर सुवेदीले भने, ‘त्यसैका लागि अहिले पूर्वाधार निर्माणको काम भइरहेको छ ।’ पर्यटकलाई थप आकर्षित गर्न काँक्रेविहारको जंगलमा चिडियाखाना बनाउन लागिएको हो ।

विगत दुई वर्षदेखि नगरपालिकाले काँक्रेविहारमा चिडियाखाना बनाउने योजना अगाडि सारेको थियो । काँक्रेविहार क्षेत्रमा रहेको जंगललाई पुरै घेरबार गरिने र मिनी चिडियाखानाको रुपमा विकास गरिने नगरपालिकाले जनाएको छ ।

चिडियाखाना स्थापना भएपछि रैथाने वनजन्तुको संरक्षण हुने नगरपालिकाको अपेक्षा छ । हाल सो क्षेत्रमा रहेका वन्यजन्तुको संरक्षणका लागि काँक्रेविहारमा वन्यजन्तुको वासस्थान निर्माण, पानी पोखरी निर्माण र आहाराका लागि बोट विरुवाहरु पनि रोपिने छ । रैथाने वन्यजन्तु विस्थापित नहुन् भन्ने उद्देश्यले उनीहरुका लागि पिउने पानीको पोखरी र आहाराका लागि बोटविरुवा र वास बस्नका लागि वासस्थान निर्माण गरिने छ ।

चिडियाखानाका लागि नगरपालिकाले पूर्वाधार निर्माण कार्य अगाडि बढाएको छ । नगरपालिकाको लगानीमा डिभिजन वन कार्यालयले पूर्वाधार निर्माणको काम गरिरहेको हो । ‘स्वीकृत कार्ययोजना अनुसार चिडियाखाना बनाउने योजना छ’ डिभिजन वन कार्यालय सुर्खेतका प्रमुख गोविन्दप्रसाद दाहालले भने, ‘खुला चिडियाखानाका लागि अहिले पूर्वाधार निर्माणको काम भइरहेको छ ।

संरक्षित वन क्षेत्रमा सानो आकारको चिडियाखाना बनाउन मिल्ने स्वीकृत योजना अनुसार पूर्वाधार निर्माणको काम भइरहेको हो । चिडियाखानाका लागि करिव तीन हेक्टर क्षेत्रलाई घेरबार गर्ने काम भइरहेको हो । तीन हेक्टर क्षेत्रफललाई घेरबारका लागि नगरपालिकाले पाँच लाख रकम उपलब्ध गराएको छ । सोही रकमको स्टेट्मेट अनुसार चिडियाखानको लागि पूर्वाधार निर्माण थालिएको हो । हाल कम्पाउन्डिङ भइरहेको क्षेत्रलाई वन्यजन्तु उद्दार केन्द्रका रुपमा विकास गरिनेछ ।

त्यहाँ घाइते वन्यजन्तुको उद्दार गरेर राखिनेछ । तत्काललाई ति वन्यजन्तु नै पर्यटकले अवलोकन गर्न पाउनेछन् । ‘काँक्रेविहार आफैमा खुला चिडियाखाना नै हो’ दाहालले भने, ‘अहिले कम्पाउन्डिङ भइरहेको क्षेत्रलाई वन्यजन्तु उद्दार केन्द्रका रुपमा विकास गरिनेछ ।’ काँक्रेविहार क्षेत्र जरायोको प्रमुख वासस्थान मानिन्छ । तर व्यवस्थित तारबार नहुँदा हाल जरायोको चोरीशिकारी बढ्दै गएको छ ।

हाल काँक्रेविहारमा जरायोसहित स्याल, दुम्सी, लगायतका जनावर पाइन्छन् । तर खुला जंगल क्षेत्र र बेलाबेलामा हुने आगलागीका कारण वन्यजन्तु लोप हुँदै गएका छन् । चिडियाखाना निर्माण भएमा वन्यजन्तुको संरक्षण हुने, पर्यटकको आकर्षण बढ्ने, आर्थिक क्रियाकलाप बढ्ने र काँक्रेविहारको आकर्षण पनि थप बढ्ने अपेक्षा गरिएको छ ।

यस्तै अब काँक्रेविहारको पूरै क्षेत्रलाई कम्पाउन्डिङ अर्थात घेरबार गरिने भएको छ । कर्णाली प्रदेश सरकारको लगानीमा पुरै क्षेत्र कम्पाउन्डिङ गर्न लागिएको डिभिजन वन कार्यालयले जनाएको छ । वन्यजन्तु र जंगल संरक्षणका लागि बलियो संरचनाले कम्पाउन्डिङ गर्न लागिएको हो ।

कम्पाउन्डिङका लागि कर्णाली प्रदेश सरकारले लगानी गरेको हो । सिमेन्टेड पर्खालसहितका संरचनाले जंगल क्षेत्र घेरबार गरिएपछि नगरपालिकालाई चिडिया खाना बनाउन सहयोग पुग्नेछ । काँक्रेविहार जंगल क्षेत्र एकसय ७५ हेक्टरमा फैलिएको छ । दुई बर्षभित्र काँक्रेविहारको पुरै क्षेत्रफल कम्पाउन्डिङ गरिसक्नुपर्ने छ ।

यसैबीच पछिल्लो समय काँक्रेविहारमा घुम्न जाने पर्यटकको रोजाइमा जंगल सफारी पर्ने गरेको छ । काँक्रेविहार पुग्ने पर्यटकले घोडामा सवार गरेर जंगल क्षेत्र घुम्ने गरेका छन् । पर्यटकलाई आकर्षित गर्न वीरेन्द्रनगरको वडा नं. ९ ले दुई वर्षअघि घोडाबाट जंगल सफारी सुरु गरेको थियो । ‘वडाले सुरुमा दुई वटा घोडाहरु दिएर जंगल सफारी सुरु गरेको हो’ वडाध्यक्ष सुरेश मानन्धरले भने, ‘पर्यटकको आकर्षण बढेपछि अहिले व्यवसायी आफैले पनि घोडाको व्यवस्थापन गरेका छन् ।’ पछिल्लो समय काँक्रेविहार पुग्ने प्रायः सबैले घोडामा सवार गर्ने गरेको उनले बताए ।

पुरातात्विक, धार्मिक, ऐतिहासिक र पर्यटनका हिसावले काँक्रेविहार सुर्खेतको प्रमुख पर्यटकीय क्षेत्र हो । हाल त्यहाँ मन्दिरको पुननिर्माण गरिएको छ । शिखर शैलीमा मन्दिरको पुननिर्माण गरिएको छ । यद्यपी दुबो लगाउने र तारबारलगायतका कार्यहरु बाँकी छन् ।

काँक्रेविहारमा अब चिडियाखाना

एन्फा प्रवक्ता राईले दिए राजीनामा

काँक्रेविहारमा अब चिडियाखाना

कक्षा १२ सहितका सबै परीक्षा स्थगित हुने,

Leave a comment

Your email address will not be published. Required fields are marked *