दैलेखमा एक साताभित्रै पीसीआर मेसिन जोडेर परीक्षण थाल्छौं

रत्नबहादुर खड्का
मेयर, नारायण नगरपालिका, दैलेख
कर्णाली प्रदेशका अन्य जिल्लाको तुलनामा दैलेखमा कोरोना संक्रमितको संख्या दिन प्रतिदिन बढ्दो छ । मंगलबारसम्मको तथ्यांकका आधारमा कर्णाली प्रदेशमा कुल कोरोना संक्रमितको संख्या एक हजार ८६ मध्ये ६ सय ३४ जना दैलेखका मात्र हुन् । छिमेकी देश भारत तथा अन्य तेस्रो मुलुकबाट घर फर्किनेको संख्या ह्वात्तै बढेपछि दैलेखमा कोरोना संक्रमण पनि फैलिन थालेको हो । हाल दैलेखमा बाह्य जिल्लाबाट आउनेलाई राख्न बनाइएका क्वारेन्टाइन तथा कोरोना संक्रमितलाई राख्ने आइसोलेसन कक्ष व्यवस्थापनमा हम्मेहम्मे छ । यसैबिच दैलेखको नारायण नगरपालिकाले कोरोना संक्रमणको जोखिम न्यूनिकरण तथा स्वाब परीक्षणका लागि पीसीआर मेसिन खरिद गरेको छ । उक्त मेसिन विहिबारभित्रै जिल्ला पुग्ने र एक साताभित्रै जडानको काम सकेर स्वाब परीक्षण सुरु गर्ने मेयर रत्नबहादुर खड्काले बताए । प्रस्तुत छ, उनीसँग गरिएको कुराकानीको शारांसः-

कोरोना नियन्त्रणमा कसरी जुटिरहनु भएको छ ?
मुख्य समस्या पीसीआर रिपोर्ट निकै ढिलो आउँदा क्वारेन्टाइनमा महिनौ दिन राख्नुपर्ने अवस्था आयो । जिल्ला भित्रिनेको संख्या बढेको बढ्यै गर्दा क्वारेन्टाइन व्यवस्थापनमा सकस हुन थाल्यो । नारायण क्याम्पसको मैदान बसपार्क जस्तो देखिन थाल्यो । उद्दार गर्ने मन्त्री तथा सांसदहरुले दैदेखका विभिन्न स्थानीय तहमा जाने नागरिकलाई पनि एउटै गाडीमा पठाउँदा सबै नारायण नगरपालिकामा आउन थाले । यसरी दिनहुँ सँयौंको संख्यामा हुलकाहुल नागरिक नगरपालिकामा भित्रिन थालेपछि व्यवस्थापनमा हम्मेहम्मे नै भयो । एकसय पाँच वेडको आइसोलेसनमै दुईसय १२ जना राख्न बाध्य भयौं ।

क्वारेन्टाइनमा बस्नेको संख्या थामि नसक्नु भएपछि खुला चौरमै पनि क्वारेन्टाइन राख्न बाध्य भयौं । उनीहरुलाई खाना, कपडा, बस्ने ठाउँ, सरसफाई सामाग्री लगाएतको व्यवस्थापनमा निकै कठिनाई भयो । पीसीआर रिपोर्ट ढिलो आउँदा मान्छे राख्ने ठाउँ भएन । आरडीटी पोजेटिभ देखिए पनि १४ दिनसम्म क्वारेन्टाइन राख्दा कुनै लक्षण नदेखिएकालाई घर पठाउन बाध्य भयौं । पीसीआर रिपोर्ट ढिलाईका कारण २८ दिनसम्म क्वारेन्टाइनमै राखेर नागरिकलाई घर पठाएका छौं । यसरी सकि नसकी स्रोत साधानले भ्याएसम्म व्यवस्थापन गर्दै कोरोनासँगको लडाइँ लडिरहँदा क्वारेन्टाइनमै नागरिक आन्दोलीत भए । अझँै तीनसय जना नगरपालिकाको क्वारेन्टाइनमा छन् ।

नागरिकलाई उद्दार गर्दा समन्वय नगरेकै कारण भोग्नु परेको जटिल समस्या के हुन् ?
पहिलो कुरा त जथाभावी पहुँजको भरमा उद्दार गरेर रातारात गाउँ पठाएका कतिपय नागरिक क्वारेन्टाइन पुगेका छैनन् । यसले पनि थप संक्रमणको जोखिम बढेको छ । समन्वय नगरेकै कारण केहीदिन अघि दुवईबाट ४ नम्बर वडाका एक नागरिक राती १ बजे सुर्खेतबाट दैलेख आएछन् । उनी तल्लो डुङगेश्वरममा झरेर अलपत्र परेछन् । पछि आर्मी हेडक्वाटरबाट मलाई मेजरको फोन आयो । उनको उद्दार गरी क्वारेन्टाइन राख्नुपर्ने भयो भन्ने कुरा भयो । त्यसपछि मैले धेरै गाडी पठाउन खोजँे । राती कसैले जान मानेनन् । १५ किलोमिटरमा ५५ सयसम्म भाडा भन्न थाले ।

क्वारेन्टाइनमा बसेकाहरुलाई त आन्दोलन नै गर्न बाध्य बनाउनु भएछ नी ?
स्वास्थ्यकर्मीको अभाव छ । हामीले सकेसम्म आइसोलेसन, क्वारेन्टाइनमा बसेकाको सकेसम्म सबै व्यवस्थापन गरिहेका छौं । तर मेयर, जनप्रतिनिधि, केपी सरकार मुर्दाबाद भन्दै नारा लगाउँछन् । मोदी हाईहाई भन्दै नारा लगाउँछन् । मेयर रिचार्ज कार्ड हालिदे भन्दै नारा लगाउँछन् ।  एकदुई जनाले उचालेकै कारण सबै आन्दोलीत भएका हुन् । तर कुरो त बुझ्नुपर्छ नी । अधिकांश भारतबाट फर्केर क्वारेन्टाइन बसेकाहरु १८÷२० वर्षका छन् । यसरी नियम विपरीत गर्न हुदैन, भनेपछि आन्दोलन गर्छन् । संघीय सरकारले एक दिनमा एक जनालाई एकसय ७५ रुपैंयामा खानानास्ता व्यवस्थापन गर भन्छ ।
अन्तमा नगरपालिकाको दिनमा चलाउन सम्झौता गरिएको गाडी पठाएर उद्दार गरियो । यसरी एउटै नागरिकको उद्दारमा २०÷२२ हजार खर्च गर्ने हो भने कसरी सम्भव हुन्छ ?  समन्वय गरेर आएको भए, उनी दिनमा हिँडेरै पनि १५ किलोमिटर बाटो पार गर्न सक्थ्ये । यसरी समन्वयविना उद्दार गर्दा समस्या हुन्छ । पहिले समन्वय नगरी नागरिक आउँछन् । अनी कतै प्रहरीले रोक्यो भने फोन गर्छन् ।

त्यही रुपैंयाँले यहाँ विहान बेलुका खाना, दिनमा दुई पटक नास्ता दिन कसरी पुग्छ ? विभिन्न आयोजनाबाट रकम काटेर भए पनि क्वारेन्टाइन, आइसोलेसन कक्षमा बसेकाको सबै व्यवस्थापन गरिरहेका छौं । पछि आफैलाई अख्तियारले समात्ने देखिन्छ । अनी कसरी उनीहरुलाई रिचार्ज हाल्ने ? यहीभन्दा मेयर मुर्दाबाद भन्दै आन्दोलन गर्छन् । घर आउने गाडी भाडा छैन भन्छन् । तर क्वारेन्टाइनबाट घर पैंसा पठाउँछन् । यी विभिन्न आन्दोलनका घटना केही व्यक्तिले उचालेर भएको हो ।

अब कसरी व्यवस्थापन गर्नुहुन्छ त ?
हामीले आफैँ पीसीआर मेसिन किनेका छौं । प्रदेशमै अहिले सुर्खेत र जुम्ला दुई वटा मात्रै पीसीआर मेसिन छन् । तीँ मेसिनले एक दिनमा दुईसयभन्दा बढी परीक्षण गर्न सक्दैनन् । यही रप्तारले पीसीआर परीक्षण गर्दा रिपोर्टको पर्खाइमा रहेका नागरिकलाई कति दिनसम्म क्वारेन्टाइन राख्ने ?
सरकारले १४ दिनभन्दा १५ दिनको व्यवस्थापन खर्च दिदैन । यहाँ पीसीआर रिपोर्टको पर्खाइमा महिनौदिन नागरिकलाई क्वारेन्टाइन राख्नुपर्ने बाध्यता छ । क्वारन्टाइन राखेकै कारण नागरिक आन्दोलन गर्दै चिर्पट र डण्डीले हामीलाई हान्न खोज्छन् । यता नागरिक आन्दोलन गरेर घर जान्छन् । गाउँलेहरु परीक्षण नगरेर घर आएको भन्दै विरोध गर्छन् । त्यसैले विकासे बजेट रकमान्तर गरी नगरपालिकाले आफै पीसीआर मेसिन किनेको हो ।  उक्त पीसीआर मेसिन जिल्ला पशु स्वास्थ्य अस्पतालको हातामा एक हप्ताभित्रै जडान गरेर स्वाब परीक्षणको काम थाल्नेछौं ।
पछि त्यो मेसिन जिल्ला स्वास्थ्य सेवा कार्यालयलाई हस्तान्तरण गरिनेछ । यो कामको लागि भुमिका खेल्ने सांसद रविन्द्र शर्मा र दैलेखी सेवा समाजलाई धन्यबाद दिन चाहान्छु ।

अन्त्यमा, नगरपालिकाले ल्याउँदै गरेको बजेटमा के कस्ता कार्यक्रमलाई प्राथमिकता दिइनेछ ?
संघ र प्रदेश सरकारले ल्याएको बजेट कोरोना महामारी र रोजगारीका कार्यक्रममा केन्द्रित भएकाले हामी पनि यही आधारमा बजेट तथा नीति र कार्यक्रम ल्याउनेछौं । वेरोजगार यूवाको सीप र क्षमता पहिचान गरी कार्यक्रम बनाउनेछौं । (२०७७ साउन ३ गते बुधबार युगआव्हान राष्ट्रिय दैनिकमा प्रकाशित)

दैलेखमा एक साताभित्रै पीसीआर मेसिन जोडेर परीक्षण थाल्छौं

कर्णालीका ४९४ जना कोरोना संक्रमित डिस्चार्ज

दैलेखमा एक साताभित्रै पीसीआर मेसिन जोडेर परीक्षण थाल्छौं

युवामैत्री वजेट माग गर्दै ध्यानाकर्षण पत्र

Leave a comment

Your email address will not be published. Required fields are marked *