कुलमानले भने,‘संस्थामा नेतृत्व परिवर्तन हुनु स्वभाविक प्रक्रिया हो’

काठमाडौं, ३० भदौ ।
मुलुकबाट १८ घण्टा लामो लोडसेडिङ हटाएका कुलमान घिसिङ नेपाल विद्युत प्राधिकरणबाट बिदा भएका छन्। भदौ २८ गते कार्यकाल सकिएका उनको पुनः नियुक्ति नभएपछि मंगलबार प्राधिकरणका कर्मचारीले औपचारिक रूपमा बिदाई गरेका हुन्।

कार्यक्रममा बोल्दै उनले संस्थामा नेतृत्व परिवर्तन हुनु स्वभाविक प्रक्रिया भएकाले सबैले आत्मसाथ गर्नुपर्ने बताए। उनले प्राधिकरणबाट आफू बाहिरिएको विषयलाई स्वभाविक रुपमा लिन सबैलाई आग्रह गरे। उनले आफ्नो कार्यकालमा लोडसेडिङ घटाउने कार्य भएको र यो कार्यमा साथ दिने सबै कर्मचारी र सरोकारवालालाई धन्यवाद दिए।
घिसिङले आफ्नो चार वर्षको कार्यकालमा गरेको कामले प्राधिरकणको गरिमा उच्च भएको बताए। मेरो कार्यकालमा प्राधिकरणको गरिमा बढेको छ। ‘संस्थाको गरिमा उच्च हुँदै जाओस् शुभकामना छ, उनले भने, म जहाँ रहे पनि नेपाल र नेपालीको समृद्धिको चाहना पूरा गर्न केन्द्रित हुनेछु।’






