भोकमरी लागेपछि चामल खोज्न चार दिन पैदल यात्रा

हुम्ला, २७ असोज ।
हुम्लाको नाम्खा गाउँपालिकाको लिमीमा खाद्यान्न समस्या देखिएपछि जनप्रतिनिधिदेखि स्थानीयसम्मले सरकारका विभिन्न निकायमा खाद्यान्न माग गर्न थालेका छन् । कोरोना महामारीका कारण ६ महिनादेखि बन्द चीनसँगको सीमा नाका हालसम्म नखुल्दा लिमीका ३ वडा भोकमरीको चपेटामा पर्ने देखिएको छ ।

कोरोना महामारीका कारण छिमेकी चीनले सिमा नाका बन्द गर्दा हुम्लाका उत्तरी नाम्खा गाउँपालिकामा खाद्यान्न संकट भएको हो । सीमा नाका बन्द भए पनि नाम्खाका नागरिकलाई खाद्यवस्तु उपलब्ध गराउँदै आएको चीनले ११ महिनादेखि खाद्यान्न सामग्री आयातमा रोक लगाएको छ । ‘चीनले खाद्यान्न आयातमा रोक लगाउँदा नाम्खा गाउँपालिका वडा–६ लिमीको तिल, जाङ र हल्जी गाउँमा भोकमरीको संकेत देखिएको छ ।
चीनसँग जोडिएको सीमा भएकाले वडा– ६ लिमी गाउँका स्थानीयले वर्षौंदेखि चीनबाट खाद्यान्न आयात गर्दै आएका छन् । तर, सीमा बन्द भएपछि भोकमरी आइलागेको हो’, स्थानीय पेमाछ्योकी लामाले भने । खाद्यान्न अभाव सुरु भएपछि लिमीबाट स्थानीय ४ दिन हिँडेर सदरमुकाम आइपुगेका छन् । लिमीका ३ गाउँका लागि थप खाद्यान्न आपूर्ति माग्दै वडाध्यक्षसमेतको टोली सदरमकाम सिमकोट आइपुगेको हो । ‘हिउँदको समय हिउँ पर्ने भएपछि समयमै सरकारको ढोका घचघच्याउन सिमकोट आउनु परेको हो’, नाम्खा गाउँपालिका वडा– ६ का वडाध्यक्ष पाल्जोर तामाङले भने । नाम्खाका लागि गत असारमै आएको १ हजार क्विन्टल चामल अविरल वर्षाका कारण बाटो भत्केको हुँदा त्यहाँ पुग्न सकेन । तर, अहिले बाटो बनेकाले लिमीबासीले ढुवानी गर्दै आएका छन् ।
थप खाद्यान्नका लागि विभिन्न निकायमा नेपाल खाद्य व्यवस्था तथा व्यापार कम्पनीले अनुरोध गरेको कार्यालय प्रमुख रामबहादुर विष्टले जानकारी दिए । स्थानीय भोकमरीको चपेटामा परेपछि चीनसँगको सीमा खुलाउने प्रयास भइरहेको प्रमुख जिल्ला अधिकारी चिरन्जीवी गिरीले बताए । ६ नम्बर वडाध्यक्ष पाल्जोर तामाङ नेतृत्वको ११ सदस्यीय टोली खाद्यान्नको माग गर्दै हुम्ला सदरमुकाम पुगेको छ ।
स्थानीयसहित बुधबार सिमकोट पुगेका वडाध्यक्ष तामाङले भने, ‘गाउँमा खाद्यान्न छैन । चीनको नाका बन्द भएकाले ल्याउन पाएका छैनौं । भोकै बस्नुपर्ने अवस्था आएपछि ४ दिन हिँडेरै सदरमुकाम पुगेका हौं ।’ वडा–६ को लिमीमा तिल, जाङ र हल्जीमा गरी १ सय ८० परिवारको बसोबास छ छ । लिमी उच्च स्थानमा रहेकाले यहाँ जौ र उवा मात्रै फल्छ भने अन्य खाद्यान्न उत्पादन हुँदैन । स्थानीयले फापर र आलु उत्पादन गरे पनि त्यसले ६ महिना पनि नधान्ने वडाध्यक्ष तामाङले बताए । ‘स्थानीय उत्पादनले बढीमा ६ महिना पुग्ने भएकाले यहाँका बासिन्दा चीनको भर पर्नुपर्ने अवस्था छ’, वडाध्यक्ष तामाङले भने । हिउँ पर्ने समय सुरु भएकाले समयमै खाद्यान्न ढुवानी नभए भोकै मर्नुपर्ने अवस्था आउन सक्ने स्थानीय छिरिङमुटुप तामाङ गुनासो गर्छन् । उत्तरी क्षेत्र नाम्खा गाउँपालिकामा कात्तिक मध्यतिरबाट हिउँ पर्न हुँदा नेपालतिरको गोरेटो बाटो बन्द हुन्छ ।
लिमीबाट आएको टोलीले बिहीबार र शुक्रबार जिल्लाका राजनीतिक दलका नेता, सरकारी कार्यालयका प्रमुख तथा सरोकारवालालाई भेटेर छिटो खाद्यान्न जुटाइदिन आग्रह गरेको छ । सरकारले दिएको अनुदानको चामल ३० केजीको प्रतिबोरा २ हजार पर्छ भने ढुवानी प्रतिबोरा ५ हजार रुपैयाँ लागत लाग्छ । सिमकोटबाट लिमीको जाँग र हल्जी गाउँमा पु¥याउन प्रतिकेजी १ सय ७५ रुपैयाँ तिर्नुपर्छ । यसबाट मूल्यभन्दा ३ गुणा बढी ढुवानी खर्च हुने गरेको छ ।






