सम्पादकीय : डोजरले निम्त्याएको विनाश

विकास मानवीय चाहना हो । विकास र समृद्धिको भोक मेटाउनकै लागि मावन प्रयासरत छ । अनेकौं भौत्तिक सुविधा र सुखको खोजीमा मानिसले नयाँ नयाँ आविस्कारहरु पनि गरिरहेको छ । आज संसारका देशहरुमा कसले नयाँ विकास र आविस्कार गर्ने भन्ने प्रतिस्पर्धा नै छ । यही प्रतिस्पर्धाका कारण नै मानवले चन्द्रमामा पाइला टेक्न सफल भएको हो । पृथ्वीमा मात्र होइन, मानवले अन्तरिक्षमा नै बस्ती बसाल्ने प्रयास जारी राखेको छ । यसकारण पनि मानव र भौतिक विकास सँगसँगै अगाडि बढिरहेका छन् । नेपालजस्तो अल्पविकसित देशमा विकासको भोक नहुने विषय नै भएन । पछिल्ला राजनीतिक परिवर्तनपछि नेपालले पनि भौत्तिक विकासको लय समातेको देखिन्छ । यही क्रममा देशभित्र सडक खन्नुलाई मुख्य विकासको आधार मानिएको छ । आज स्थानीय सरकारहरु गठन भएपछि विकास भनेकै सडक खन्नुलाई मानिएको छ । गाउँगाउँमा सडक लैजाने नाममा वातावरणलाई नै प्रतिकुल असर पार्ने काम भएका छन् । मापदण्डविना नै पखेरा र डाँडाहरुमा जथाभावी डोजरले सडक खन्नेक्रम बढेको छ । यसैको परिणाम आज पहाडका अधिकांश बस्तीहरु पहिरोको चपेटामा परेका छन् ।

डोजरले विकासमा सहजता पक्कै भएको छ । मानिसले नसक्ने काम डोजरले गरेको छ । तर डोजरे विकासले सँगसँगै विनास पनि गरिरहेको छ । कर्णालीका अहिले नयाँ सडक निर्माण गर्ने लहर नै चलेको छ । गाउँमा गाडी गुड्नु अर्थात सडक निर्माण हुनु राम्रो र सकारात्मक नै हो । तर जुन प्रक्रियाबाट सडक खन्ने काम भइरहेको छ, त्यसले नाफा भन्दा पनि नोक्सान धेरै गरिरहेको छ । सडक खन्ने नाममा डाँडाहरु चिराचिरा पारिएका छन् । बन पाmँडेर गाउँमा सडक लग्ने प्रयास भइरहेको छ । यसले बर्सेनी बस्तीहरु जोखिममा परिरहेका छन् । कर्णालीका कालिकोट र जाजरकोटमा योवर्ष धेरै स्थानमा पहिरो गएको छ । पहिरोले बस्तीहरु बगेका छन् भने ठूलो मात्रामा धनजनको क्षति भएको छ । कयौं बस्तीहरु अब बस्नका लागि सुरक्षित छैनन् । अर्थात कुनै पनि बेलामा बस्तीमा पहिरो खस्ने जोखिम कायमै छ । कतिपय प्राकृतिक प्रकोपहरु मानवका कारण नै उत्पती हुने गरेका छन् ।

पहिरोको जोखिम सिर्जना हुनुमा डोजरले जथाभावी सडक खन्नु नै हो । यसकारण अब डोजरे विकासलाई निरुत्साहित गर्नु आवश्यक छ । वातावरणीय प्रभाव मुल्याकंन गरेर मात्र सडक खन्ने काम हुनु पर्दछ । त्यतिमात्र होइन, अहिले प्राविधिक भनेकै डोजर चालक र जनप्रतिनिधि देखिएका छन् । उनीहरुको विवेकको आधारमा सडक खन्ने काम भइरहेको छ । यसलाई तत्काल रोक्नु पर्दछ । यसो नभएको खण्डमा भोलीका दिनमा विकास होइन, विनास बढी हुने खतरा देखिन्छ । डोजरले जथाभावी सडक खन्दा एकातिर पहिरोको जोखिम बढेको छ भने, अर्कोतफ स्थानीयले रोजगारी पनि गुमाएका छन् । साना आयोजनामा डोजर प्रयोग नगरी स्थानीयलाई नै काम गराएको खण्डमा विकास दिगो हुन्छ । उक्त आयोजनामा स्थानीयको अपनत्व पनि हुन्छ । जसले दिगो विकासलाई अगाडि बढाउन सक्छ । (२०७७ साउन २९ गते विहिबार युगअाव्हान राष्टि्य दैनिकमा प्रकाशित)

सम्पादकीय : डोजरले निम्त्याएको विनाश

नाग्म–गमगढी सडकको स्तरोन्नती चाँडै हुन्छ

सम्पादकीय : डोजरले निम्त्याएको विनाश

YUGAAWHAN NATIONAL DAILY (2077-04-29)

Leave a comment

Your email address will not be published. Required fields are marked *