सुर्खेत, १८ असोज ।
भौगोलिक रुपमा कर्णाली प्रदेश अन्य प्रदेशभन्दा विकट छ । अन्य प्रदेशको तुलनामा कर्णालीको विकास निर्माण न्यून छ । जिल्ला सदरमुकाममा पनि शिक्षा, स्वास्थ्य, खानेपानी र विद्युत जस्ता आधारभूत पूर्वाधारको अभाव छ । जसले गर्दा यहाँका डोल्पा, हुम्ला र मुगु जस्ता विकट जिल्लामा सरुवा भएको खण्डमा कर्मचारीले आफूलाई कारबाही भएको ठान्छन् ।

यही कारण पनि कर्णाली प्रदेशले बर्षाैदेखि कर्मचारीको पिरलो खेप्दै आएको छ । यही समस्या समाधानको लागि कर्णाली प्रदेश सभाले दुई वर्षअघि प्रदेश लोकसेवा आयाग गठन सम्बन्धी ऐन बनाइ सकेको छ । सोही ऐनमा टेकेर प्रदेश सरकारले प्रदेश लोकसेवा आयोग गठन गरेर कर्मचारी भर्ना गर्न सक्ने बाटो छ । तर संघीय संसदले निजामति ऐन बनाउन नसक्दा कर्णाली प्रदेश सरकारले प्रदेश लोकसेवा आयोग गठन गर्न सकेको छैन ।
आयोग गठन नहुँदा कर्णाली प्रदेश सरकारले करारमा कर्मचारी नियुक्त गरेर काम चलाउनुपर्ने बाध्यता छ । दरबन्दी अनुसारका कर्मचारी नहुँदा प्रदेश सरकारले बजेट कार्यान्वयनमा असफल हुँदै आएको छ । प्रदेश स्थापनादेखि कर्मचारी अभाव खेप्दै आएको प्रदेश सरकारले अहिले पनि झण्डै एकहजार कर्मचारीको दरबन्दी रिक्त छ । हाल एकहजार पाँचसय ५७ जना कर्मचारीको मात्रै पदपूर्ति भएको छ । जसमध्ये पनि एकसय २५ जना संघबाट काजमा र दुईसय ८२ जना सेवा करारमा पदपूर्ति गरिएको मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका सूचना अधिकारी केशवप्रसाद उपाध्यायले जानकारी दिए ।
कर्णाली प्रदेशमा कुल दुइहजार पाँचसय ५५ जना कर्मचारीको दरबन्दी छ । कर्मचारी अभाव टार्न कर्णाली प्रदेशसभाले ‘प्रदेश लोकसेवा ऐन २०७५’ चैत २७ गते पास गरेको थियो । ऐनमा केही प्राविधिक कठिनाइका कारण ‘प्रदेश लोकसेवा ऐन २०७५’ को पहिलो संशोधन २०७७ जेठ ३० गते भएको छ । तर संघीय निजामति ऐन बन्न नसक्दा प्रदेश लोकसेवा आयोग गठन नगरेको कर्णाली प्रदेश सरकारका भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन् ।
‘संघीय निजामति ऐन नबन्दासम्म प्रदेश लोकसेवा आयोगले काम गर्न पाउँदैन’ मन्त्री केसीले भनिन्, ‘काम गर्ने अधिकार नपाउने भएपछि तलव मात्रै खुवाउनको लागि प्रदेश लोकसेवा आयोग गठन नगरेका हौँ ।’ दुईवर्ष अघि नै प्रदेश लोकसेवा आयोग गठन गर्नसक्ने बाटो खुले पनि काम गर्ने अधिकार नहुँदा आयोग गठन नगरेको उनको भनाइ छ । अधिकार विना आयोग गठन गर्दा जनशक्ति व्यवस्थापनमा आर्थिक भारमात्रै पर्ने प्रदेश सरकारको जनाएको छ ।
झण्डै ४० प्रतिशत दरबन्दी रिक्त
कर्णालीमा अझैं ४० प्रतिशत दरबन्दी रिक्त छ । जसमध्ये प्रदेश अस्पताल सुर्खेतमा मात्रै दुईसय ४२ जना कर्मचारीको दरबन्दी रिक्त छ । अपुग कर्मचारी भने अस्पतालले करार सेवामा भर्ना गरेर काम चलाउँदै आएको छ । कर्णाली प्रदेश सरकारको तथ्याङ्क अनुसार मुख्यमन्त्री तथा मन्त्रीपरिषद कार्यालयका १६ जना, आर्थिक मामिला तथा योजना मन्त्रालयमा १८ जना, आन्तरिक मामिला तथा कानून मन्त्रालयमा २१ जना, सामाजिक विकास मन्त्रालयमा १३ जना, भौतिक पूर्वाधार विकास मन्त्रालयमा सात जना, उद्योग पर्यटन, वन तथा वातावरण मन्त्रालयमा १० जना र भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्रालयमा १२ जना कर्मचारीको दरबन्दी रिक्त छ ।
त्यस्तै ३४ जना दरबन्दी रहेको कर्णाली प्रदेशसभा सचिवालयमा १७ जना, १० जना दरबन्दी रहेको मुख्यन्यायाधिवक्ताको कार्यालयमा एकजना दरबन्दी रिक्त छ । प्रदेश लेखा नियन्त्रण कार्यालयमा १७ दरबन्दी मध्ये ६ जना, नौ वटा जिल्लाका प्रदेश लेखा इकाइमा ३६ जनाको दरबन्दी मध्ये सबै पद रिक्त छ । त्यस्तै २५ जनाको दरबन्दी रहेको प्रदेश लोकसेवा आयोगको कार्यालयमा सबै पद रिक्त छन् । कर्णाली प्रदेश पर्यटन प्रर्बधन बोडमा सात जना मध्ये पाँच जना, शिक्षा विकास निर्देशनालयमा २८ जनामध्ये १३ जना, दशवटै कार्यालयको सामाजिक विकास कार्यालयमा ५८ जनामध्ये ३७ जनाको दरबन्दी रिक्त छ ।
त्यस्तै मानव संशोधन विकास केन्द्र सुर्खेतमो १० जना, स्वास्थ्य सेवा निर्देशनालयमो सात जना, मेहेलकुना अस्पतालममा जना, प्रदेश आयुर्वेद अस्पतालमा सातजना, प्रदेश संग्राहलयमा पाँचजना, दशवटै स्वास्थ्य सेवा कार्यालयमा गरी दुईसय ४८ जना, पूर्वाधार विकास कार्यालय सुर्खेतमो १६ जना, नौवटा जिल्लाका पूर्वाधार विकास कार्यालयमा १७ जना, दश वटै जिल्लाका खानेपानी कार्यालयमा १९ जनाको दरबन्दी रिक्त छ ।
त्यस्तै सुर्खेत, रुकुमपश्चिम र जुम्लामा रहेका यातायात सेवा कार्यालयमो ६ जना, सडक कार्यालय रुकुमपश्चिममो २९ जना, कृषि विकास कार्यालय सुर्खेतमा तीनजना,नौ वटा कृषि विकास कार्यालयमा २८ जना, डोल्पा र हुम्लाका बागवानी विकास केन्द्रमा चारजना, पशुपन्छी विकास निर्देशनालयमा चारजना, नौ वटा जिल्लाका पशु अस्पताल तथा पशु सेवा कार्यालयमो १८ जना, भूमि व्यवस्था कृषि तथा पशुपन्छी व्यवसाय प्रबद्र्धन, प्रशिक्षण केन्द्रमा एक जना र एकिकृत कृषि प्रयोगशालामो एक जना कर्मचारीको दरबन्दी रिक्त छ । त्यस्तै वन तथा वातावरण निर्देशनालय चारजना, उद्योग तथा उपभोक्ता हित संरक्षण निर्देशनालयमा चारजना, वन अनुसन्धान तथा प्रशिक्षण केन्द्रमा एक जना, दशवटै जिल्लाका डिभिजन वन कार्यालयमा ४४ जना र नौ वटै जिल्लाका उद्योग तथा उपभोक्ता हित संरक्षण कार्यालयमो १८ जना कर्मचारीको दरबन्दी रिक्त रहेको छ ।
करारमा भर्ना गरिदै स्वास्थ्यकर्मी
कर्णाली प्रदेश सरकारले एकसय ७९ जना स्वास्थ्यकर्मीहरु करारमा भर्ना गर्ने भएको छ । प्राविधिक जनशक्ति सेवा करार कार्यविधिमा टेकेर कर्मचारी भर्ना गर्न लागिएको हो । सामाजिका विकास मन्त्रालयले स्वास्थ्यतर्फका कन्सल्टेन्ट नवौ तहदेखि पाँचौं तहका स्टाफ नर्सहरु करारमा भर्ना गर्ने भएको छ । मन्त्रालयले असोज ८ गते विज्ञापन प्रकाशित गर्दै मन्त्रालयले योग्यता पुगेका नेपाली नागरिकबाट यही असोज २९ गतेभित्र दरखास्तका लागि सूचना गरेको छ ।
जसअनुसार नवौ तहको कन्सल्टेन्टतर्फ अब्स्टे«टिक्स, एनेस्थेसिया, जनरल मेडिसिन, जनरल सर्जरी, प्याडियाट्रिक्स, फरेन्सिक मेडिसन, प्याथोलोजी, ड्रमाटोजोजी, इएनटी, अर्थाेपेडिक्स र कम्युनिटी मेडिसिन गरेर १२ जना स्वास्थ्यकर्मीहरु माग गरेको छ । त्यस्तै आठौ तहमा मेडिकल अधिकृततर्फ २८ जना र आयुर्वेद चिकित्सातर्फ चारजना, जनस्वास्थ्य अधिकृत ६ जना, कम्युनिटी नर्सिङ अधिकृत एकजना, फार्मेसी अधिकृत एकजना, नर्सिङ अधिकृत दश जना, मेडिकल ल्याव टेक्नोलोजिष्ट तीन जना, फिजियोथेरापीष्ट एकजना, बायोमेडिकल इन्जिनियर एक जना र हेल्थ असिस्टेन दशजना माग गरेको छ । त्यस्तै रेडियोग्राफर ६ जना, ल्याव टेक्निसियन १२ जना, फार्मेसी सहायक १२ जना, स्टाफ नर्स ७६ जना र कविराज दुईजना माग गरेको छ ।

