सुर्खेत, १८ असोज ।
मध्यपश्चिमाञ्चल विश्वविद्यालय (एमयू) ले अनलाइनबाट परीक्षा लिएको छ । कोरोना भाइरस (कोभिड १९) को महामारीका कारण गते चैत महिनादेखि शैक्षिक संस्थाहरु ठप्प भएको अवस्थामा पनि विश्वविद्यालयले अनलाइन माध्यमबाट परीक्षा लिएको हो ।

विश्वविद्यालयले गत भदौमा मिड टर्म परीक्षा लिएको थियो । मिड टर्म परीक्षा पनि अनलाइनकै माध्यमबाट लिएको विश्वविद्यालयले शनिबारदेखि अन्तिम परीक्षा पनि अनलाइनकै माध्यमबाट लिएको हो । विश्वविद्यालयले पहिलो चरणमा स्नातक तहको सातौं र स्नातकोत्तर तहको तेस्रो सेमेष्टरको परीक्षा अनलाइनबाट लिएको परीक्षा व्यवस्थापन कार्यालयले जनाएको छ ।
परीक्षा व्यवस्थापन प्रमुख आनन्दप्रसाद सुवेदीका अनुसार परीक्षामा १ हजार ३ सय २० जना विद्यार्थी सहभागी भएका छन् । परीक्षाको पहिलो दिन शनिबार स्नातक सातौं सेमेष्टरका चार वटा संकायका विद्यार्थी सहभागी भएका छन् ।
विज्ञान तथा प्रविधिबाहेक ईन्जिनियरिङ, व्यवस्थापन, मानविकी र सामाजिक शास्त्र र शिक्षा शास्त्र संकायका विद्यार्थीले अनलाईनबाट परीक्षा दिएका छन् । कात्तिक ३ गतेसम्म चल्ने परीक्षामा आइतबारदेखि स्नातकोत्तर तेस्रो सेमेष्टरका विद्यार्थी पनि सहभागी हुनेछन् । आठ घण्टाको समयावधि रहेको परीक्षामा बिहान ८ बजे ईमेलमार्फत विद्यार्थीले प्रश्नपत्र प्राप्त गर्नेछन् । उक्त प्रश्नको जवाफ घरमै बसेर लेखी विद्यार्थीले बेलुकी ४ बजेसम्म पठाइ सक्नुपर्नेछ ।
परीक्षाका लागि १० वटा परीक्षा केन्द्र तोकिएको छ । सुर्खेतमा ५ वटा, रुकुम पश्चिम, बाँके र बर्दियामा एक एक वटा र काठमाडौंमा दुई वटा परीक्षा केन्द्र रहेको छ ।

