भत्ता नपाउँदा राउटे असन्तुष्ट

दैलेख, १८ मंसिर ।

कर्णाली प्रदेश सरकारले दिने भनेको थप भत्ता नपाएपछि राउटेले असन्तुष्टि व्यक्त गरेका छन् । गत कात्तिक ८ गते कर्णालीका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीले राउटेलाई थप दुई हजार रुपैयाँ भत्ता प्रदान गर्ने घोषणा गरेका थिए ।

सुर्खेतको चिङ्गाड गाउँपालिका–४ मा बसोबास गर्दै आएका राउटे समुदायको बस्तीमै पुगेर मुख्यमन्त्री शाहीले राउटे समुदायका सदस्यहरुलाई मासिक दुईहजार रुपैयाँ भत्ता प्रदान गर्ने घोषणा गरेका थिए । सामाजिक विकास मन्त्री दल रावल, भूमि व्यवस्था, कृषि तथा सहकारी मन्त्री बिमला केसी, गुराँस गाउँपालिकाका अध्यक्ष खेमराम ओलीसहित बस्तीमा पुगेका मुख्यमन्त्री शाहीले राउटेलाई थप भत्ता दिने घोषणा गरेका थिए ।

तर राउटेले हालसम्म प्रदेश सरकारले दिने भत्ता नआएको भन्दै असन्तुष्टि पोखेका हुन् । हाल संघीय सरकारले प्रति राउटे मासिक तीन हजार रुपैयाँ भत्ता उपलब्ध गराउँदै आएको छ । मुख्यमन्त्रीको घोषणापछि राउटेले मासिक पाँच हजार भत्ता पुग्ने आश गरेका थिए । तर प्रदेश सरकारले घोषणा गरेको रकम नपाएको भन्दै राउटेले असन्तुष्टि व्यक्त गर्न थालेका हुन् ।

राउटे मुखिया सुर्यनारायण शाहीले भने, ‘मुख्यमन्त्रीले भनेपछि अब पाँच हजार भत्ता आउँछ होला भनेर ढुक्क थियौ, तर आएन ।’ प्रदेशले दिने भनेको थप दुई हजार भत्ता नआए पनि राउटे नागरिकहरुले संघीय सरकारमार्फत पाउने तीन हजार रुपैयाँ भत्ता भने बुझेका छन् । हाल सुर्खेतको चिङ्गाड गाउँपालिका–५ मटेलाखोला किनारको तामाखानीमा रहेको राउटे बस्तीमा पुगेर गुराँस गाउँपालिकाले भत्ता वितरण गरेको हो । राउटे समुदायका सदस्यहरुलाई कात्तिक महिनाको प्रतिव्यक्ति तीन हजारका दरले भत्ता वितरण गरिएको गुराँस गाउँपालिका–८ का वडाध्यक्ष पूर्णबहादुर ओलीले बताए । फिरन्ते रुपमा जिवनयापन गर्दै आएका राउटे समुदायका व्यक्तिहरुलाई गुरासँ गाउँपालिकाले स्थायी ठेगाना भएको परिचयपत्र वितरण गरेर गाउँपालिकामार्फत भत्ता दिँदै आएको छ ।

Leave a comment

Your email address will not be published. Required fields are marked *