विरोधमा यातायात व्यवसायी : सार्वजनिक गाडी नचल्दा सर्वसाधारणलाई सास्ती

सुर्खेत, १७ भदौ ।
सुर्खेतमा सार्वजनिक यातायात सञ्चालन नहँुदा यात्रुलाई समस्या भएको छ । जिल्ला प्रशासन कार्यालय सुर्खेतले जोरविजोर प्रणाली (जोर गते जोर नम्बर प्लेट भएका र बिजोर गते बिजोर नम्बर भएका गाडी सञ्चालन गर्न पाईने लागु गरेको विरोधमा यातायातले गाडी चलाएका छैनन् ।
निषेधाज्ञा खुले पनि सुर्खेतमा व्यवसायीले यातायात सञ्चालन गरेका छैनन् । भदौ १ गतेदेखि लागु भएको निषेधाज्ञा १२ गतेदेखि नै खुलिसकेको छ । निषेधाज्ञा खुले पनिन यातायतमा जोरबिजोर प्रणालीको लागु गरिएपछि विरोधमा व्यावसायीले यातायात सञ्चालन गरेका छैनन् ।
सार्वजनिक यातायात नचल्दा सर्वसाधारण यात्रुले सास्ती खेप्नु परेको छ । कतिले निजी सवारी साधन भाडामा लिएर चर्काे मूल्य तिर्नु परेको छ । केहीभने पैदल तथा अटो रिक्साको भरमा यात्रा गर्नुपर्ने बाध्यता भएको छ । सार्वजनिक यातायात नचलेपछि नीजी गाडीहरु भाडामा सञ्चालन भइरहेका छन् ।
रातोप्लेट नम्बरका गाडीहरु निर्वाद रुपमा चल्दै आएका छन् । निजी गाडीले पास लिएर जुनसुकै ठाउँमा सवारी ओर्सान पाउने तर सार्वजनिक यातायातलाई कोरोनाको बहानामा जोर–बिजोर प्रणाली लागु गरेर अन्याय गरेको यातायात व्यवसायीहरु बताउँछन् । सार्वजनिक यातायातलाई भाडामा जान खोज्दा पनि प्रशासनले पास नदिने गरेको व्यवसायीहरुको आरोप छ ।
यही कारण चार दिनदेखि सार्वजनिक यातायात ठप्प छन् । सुर्खेतको सन्दर्भका जोर–विजोर प्रणाली आवश्यक नभएको व्यवसायीहरुको तर्क छ । आधा यात्रु बोक्न पाउने गरी जोरविचोर प्रणाली हटाउनुपर्ने व्यवसायीको माग छ । जोर– विजोर प्रणाली नहटाएसम्म यातायात सञ्चालन नगर्ने व्यावसायीले अडान लिएका छन् ।
आवश्यकता बिनै सार्वजनिक यातायात व्यवसायीलाई जोर–विजोर प्रणाली लागु गरेर विस्थापित गर्न खोजेको उनीहरुको आरोप छ । कोरोना संक्रमणको कारण देखाउँदै जिल्ला प्रशासन कार्यालय सुर्खेतले जोरविजोर प्रणालीमा सार्वजनिक यातायात सञ्चालन गर्नुपर्ने नियम लगाएको छ । प्रशासनले जोर गते जोर र विजोर गते विजोर नम्बर प्लेटका सवारी साधन चलाउन निर्देशन दिएको छ । उसो त यातायात प्रालिसँग जोर–बिजोर नम्बर प्लेटका बराबर गाडीहरु छैनन् ।
जसले गर्दा जोर–बिजोर प्रणाली लागु गर्दा कुनै गाडीको पालो महिना दिनमा आउने र कुनैको प्रत्येक दिन गाडी सञ्चालन गर्नुपर्ने बाध्यता आएको छ । नम्बर अनुसार कसैले धेरै दिन गाडी चलाउनुपर्ने र कसैले महिनादिनमा पनि पालो नआउने भएपछि यातायात व्यवासायीबीचनै समस्या आएको छ । कुनै दिन गाडी नै नपाउने र कुनै दिन गाडी सञ्चालन गर्नुपर्ने अवस्था आएका कारण जोर–बिजोर प्रणालीमा गाडी सञ्चालन गर्न समस्या भएको व्यवसायीहरुले बताएका छन् ।
‘जोर–बिजोर प्रणाली नहटेसम्म गाडी चलाउँदैनौं’
जिल्ला प्रशासन कार्यालयले जोर–बिजोर प्रणाली नहटाएसम्म सार्वजनिक यातायात सञ्चालन नगर्ने यातायात व्यवसायीहरुले अडान लिएका छन् । ‘हामी सामाजिक दुरी कायम गरेर यातायात सञ्चालन गर्न तयार छाँै, तर सुर्खेतमा जोरबिजोर प्रणाली आवश्यक छैन’ सुर्खेत काँक्रेविहार यातायात प्रालिका अध्यक्ष रमेश सापकोटाले भने, ‘जबसम्म जोर–बिजोर प्रणाली हट्दैन, तबसम्म सार्वजनिक गाडीहरु चल्दैनन् ।’
रातोप्लेट भएका गाडीलाई मनपरी रुपले पास बाँढ्ने तर सार्वजनिक यातायातलाई जोरबिजोर प्रणाली लागु गरेर व्यवसायीहरुलाई सुकुम्वासी बनाउन खोजेको उनको आरोप छ । ‘के रातो नम्बर प्लेटका गाडीमा कोरोना सर्दैन ?’ प्रशासनलाई प्रश्न गर्दै उनले भने, ‘जोर–बिजोर प्रणाली लागु गरेर यातायात व्यवसायीलाई विस्थापित गर्न खोजेको हो ?’
यात्रु बोक्ने गाडीमा जोर–बिजोर प्रणाली लागु गर्ने तर रातो नम्बरप्लेटका गाडीमा चेकजाँच नगरेर खेलाँची गरेको उनको तर्क छ । रातोप्लेट नम्बरका गाडीलाई मनपरी रुपमा पास बाँढ्ेन तर सार्वजनिक यातायातका गाडीलाई पास पनि नदिने गरेर प्रशासनले अन्याय गरेको यातायात व्यवसायीहरुको आरोप छ ।
व्यवसायीहरु छलफलमै आएनन् : प्रशासन
यता जिल्ला प्रशासन कार्यालय सुर्खेतले भने वार्ता र छलफलको माध्यमबाट समस्या समाधान गर्न सकिने बताएको छ । ‘जोर–बिजोर प्रणाली लागु भएकै दिन प्रशासनले वार्तामा बोलाएको थियो, तर व्यवासायीहरु नै छलफलमा आउनु भएन’ जिल्ला प्रशासन कार्यालय सुर्खेतका सूचनाअधिकारी पदमलाल लामिछानेले भने, ‘जोर–बिजोर प्रणाली लागु गर्दा यातायात व्यवसायीलाई नै समस्या परेको भए वार्ताबाट समाधान खोज्न सकिन्छ ।’
निषेधाज्ञा लागु भएकै दिन आफूले यातायात व्यवसायीलाई बोलाएको तर चार दिनसम्म पनि छलफलमा नआएको उनको भनाइ छ । रातोप्लेटका गाडीलाई यात्रु बोक्न नभइ विरामी र अत्यावश्यकीय प्रयोजनको लाग पास दिएको प्रशासनको भनाइ छ । अन्तर जिल्ला यातायातमा भने नेपाल सरकारको निर्णय अनुसार नै रोक लगाएको बताए ।






