खेल पूर्वाधारको दुर्दशा: जुम्लामा सपना बन्यो स्टेडियम, अभ्यास बन्यो डाँडापाखा

गोल्डेन बुढा
जुम्ला,२१ असोज ।
कर्णालीको उच्च सम्भावना बोकेको जिल्ला जुम्लामा निर्माणाधीन सबैजसो खेल पूर्वाधार योजनाहरू अलपत्र अवस्थामा पुगेका छन्। कतै बजेट अभाव, कतै जग्गा विवाद, कतै ठेकेदारको ढिलासुस्ती-यी समस्याले जुम्लाको खेल क्षेत्र मर्माहत भएको छ। पूर्वाधार अभावकै कारण खेलाडीहरूले मैदानको सट्टा डाँडापाखा र सडक किनारलाई अभ्यासस्थल बनाउँदै आएका छन्।

ट्रेनिङ सेन्टरमै तगारो : ३ करोड सकियो, योजना रोकियो
जुम्लाको पातारासी गाउँपालिका-३ मा निर्माणाधीन ‘हाइअल्टिच्युट ट्रेनिङ सेन्टर’को मैदान सम्याउने काममा ३ करोड रुपैयाँ खर्च भइसकेको छ। तर, जग्गा विवादका कारण परियोजना नै अन्योलमा परेको छ। गत आर्थिक वर्षमा विनियोजित ५ करोड ६६ लाख ५० हजार रुपैयाँ समेत खर्च नहुँदै फ्रिज भएको छ। खेल पूर्वाधार विकासका नाममा थालिएको यो परियोजना कागजमै सीमित बन्ने हो कि भन्ने चिन्ता स्थानीयमा बढ्दै गएको छ।हाइ अल्टिच्युट मैदानमा भलिबल, फुटबल, कराते, बक्सिङ, तेक्वान्दो, बास्केट बल, एथलेटिक्सलगायत दुई दर्जन बढीका खेल मैदान निर्माण गरिने डिपिआरमा उल्लेख गरिएको छ ।
त्यसैगरी स्विमिङ पुल, लैङ्गिकमैत्री छात्रावास, सुरक्षागार्ड, पाहुनाघर, टिकट काउन्टरसमेत निर्माण गरिने भनिएको छ ।संरचना निर्माणपछि यहाँ प्रशिक्षणमात्र हुने छैन उच्च हिमाली भेकको अवलोकन, विशुद्ध हावापानी, अर्गानिक खानासहित विशेष आतिथ्यता पनि प्राप्त हुने छ । खेल पर्यटन प्रवद्र्धन लौठचौरसँग जोडिएको विश्वको उच्च स्थानमा कालीमार्सी धान फल्ने ठाउँ छुमचौर ज्युला, सर्वाधिक महँगो जडीबुटी यार्सागुम्बा, पातारासी हिमालको भ्यू, तिलानदीको आकर्षणले पनि यो ट्रेनिङ सेन्टर देशी तथा विदेशी खेलाडीको प्रमुख गन्तव्य बन्ने छ ।
रंगशाला निर्माणमा ठेकेदारको सुस्तता
जुम्लाको चन्दननाथ नगरपालिका-५, राजसिममा निर्माणाधीन रंगशालाको काम पनि चरम ढिलाइमा परेको छ। सघन सहरी तथा भवन निर्माण आयोजनामार्फत ४० करोड ६२ लाख लागतमा निर्माण हुन लागेको एथलेटिक्स ट्रयाकसहितको स्टेडियमको जिम्मा ‘कवीन्द्र निर्माण सेवा’ले लिएको थियो। तर, भदौ १९ मा सम्झौता अवधि सकिँदासम्म ७० प्रतिशत मात्र भौतिक प्रगति भएको छ। रंगशालाको पर्खाइमा अभ्यासरत खेलाडीहरू वर्षौंदेखि अस्थायी अभ्यासस्थलमा सिमित छन्।रंगशालामा ८५ मिटर लामो प्याराफिट निर्माण हुनेछ। तल ग्राउण्डमा शौचालय, बाथरुम, माथि सटर र त्यसमाथि प्याराफिट निर्माण हुनेछ।रंगशालाको लम्बाई १ सय ३० मिटर र चौडाइ ५५ मिटर रहेन उल्लेख छ।
छ वर्षदेखि अधुरो प्याराफिट
जिल्ला खेलकुद विकास समितिको कार्यालय छेउमै रहेको भलिबल कोर्टको प्याराफिट पनि विगत ६ वर्षदेखि अधुरै छ। २०७६/०७७ मा सुरु भएको यस योजनाका लागि पहिलो दुई वर्षमा मात्र ४५ लाख रुपैयाँ बजेट आयो। अनुमानित लागत १ करोड ९० लाख रुपैयाँ भए पनि पछिल्ला वर्षमा बजेट नै विनियोजन नहुँदा काम ठप्प छ। संरचना अधुरो हुँदा प्रतियोगिता त परै जाओस्, सामान्य अभ्यास पनि प्रभावित बनेको छ।जुम्ला विश्व कीर्तिमानी धावक हरिबहादुर रोकाया र राष्ट्रिय धाविका सुनमाया बुढाको जिल्ला हो। तर, यही जिल्लामा खेलाडीहरूले अभ्यास गर्न डाँडापाखा रोज्नुपर्ने बाध्यता हुनु विडम्बनापूर्ण दृश्य हो। “हामीलाई चाहिने त केवल एकथान ट्रयाक हो, त्यो पनि राज्य दिन सक्दैन भने हामी के अपेक्षा गर्ने?” स्थानीय एक धावकको प्रश्न राज्यको उदासिनतामाथिको आरोप हो।

भोलिका च्याम्पियनहरू आज निराश छन्
पूर्वाधारको अभावले गर्दा जुम्लाका युवा खेलाडीहरू निराश हुँदै गएका छन्। अभ्यास, प्रतियोगिता र तालिमका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकारले गम्भीरता नदेखाउँदा ग्रामीण क्षेत्रका प्रतिभा ओझेलमा पर्ने खतरा थपिएको छ।खेल क्षेत्रमा ‘गुणस्तरीय पूर्वाधार विकास’को नारालाई व्यवहारमा रूपान्तरण नगरेसम्म जुम्लाजस्ता सम्भावनायुक्त जिल्लाहरूबाट प्रतिभा पलाउन सक्दैनन्। घोषणामै सीमित योजनाहरू, राजनीतिक हस्तक्षेप, अनियमितता र अकर्मण्यता अन्त्य नगरेसम्म खेल पूर्वाधार केवल कागजी सपना बन्छ। राज्यले अब परिणाममुखी उत्तरदायित्व लिन आवश्यक छ।





