जेनजी आन्दोलनपछि एमाले पुनर्निर्माणको प्रतिबद्धता : सांसद सूर्य ढकालको प्रेस विज्ञप्ति

काठमाडौं २७, भदौ।
प्रतिनिधि सभा सदस्य सूर्य ढकालले जारी गरेको प्रेस विज्ञप्तिमा हालैको जेनजी आन्दोलनपछि देशलाई शान्ति र पुनर्निर्माणको बाटोतर्फ अघि बढाउन सबै दल र पक्षहरूलाई एकताबद्ध हुन आह्वान गरिएको छ।
विज्ञप्तिमा ढकालले संघीय लोकतान्त्रिक गणतन्त्र आइसकेपछि सत्तामा पुगेका व्यक्तिहरूले जनअपेक्षाअनुसार काम नगरेको, भ्रष्टाचार मौलाएको, र नयाँ पुस्ताको चाहनालाई बेवास्ता गरेकोप्रति आत्मसमीक्षा गर्नुपर्ने आवश्यकता औंल्याएका छन्।
ढकालले नेकपा एमालेलाई जिम्मेवार र जनउत्तरदायी दलका रूपमा पुनर्निर्माण गर्नुपर्ने भन्दै युवाहरूको भावना र आकांक्षालाई सम्बोधन गर्ने प्रतिबद्धता जनाएका छन्। उनले आवेग, प्रतिशोध र क्षणिक उत्तेजना भन्दा माथि उठेर संविधानको मूल्य–मान्यतालाई जोगाउन सबै दल एकताबद्ध हुनुपर्नेमा जोड दिएका छन्।
विज्ञप्तिमा नेतृत्व निर्माण र मूल्यांकनका लागि वैज्ञानिक प्रणाली बनाउन, सुरक्षा निकाय, निजामती कर्मचारी र शिक्षक व्यवस्थामा संरचनात्मक सुधार गर्नुपर्नेमा पनि जोड दिइएको छ। साथै पार्टीभित्र छेडखानी र अपमान गर्ने प्रवृत्ति पूर्ण रूपमा अन्त्य गर्नुपर्ने उल्लेख गरिएको छ।
ढकालले आन्दोलनका क्रममा ज्यान गुमाएका युवाप्रति श्रद्धाञ्जली व्यक्त गर्दै घाइतेहरूको शीघ्र स्वास्थ्यलाभको कामना गरेका छन्।





