रातमा ई–रिक्सा देखिने बनाउन ट्राफिक प्रहरीको रिफ्लेक्टिभ स्टिकर अभियान

बाँके ,२९ साउन ।

रातको समयमा ई–रिक्सा सहजै देखिने बनाउँदै सडक दुर्घटना न्यूनीकरण गर्ने उद्देश्यले ट्राफिक प्रहरीले नेपालगन्जमा रिफ्लेक्टिभ स्टिकर टाँस्ने अभियान थालेको छ। पछाडिको ‘ब्याक लाइट’ नभएका ई–रिक्सामा स्टिकर टाँस्न थालेसँगै ट्राफिक प्रहरीले चालकलाई सडक सुरक्षासम्बन्धी सचेतना पनि दिन थालेको हो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँके, नेपालगन्ज उपमहानगरपालिका र नेपालगन्ज ई–रिक्सा व्यवस्थापन प्रालिको संयुक्त आयोजनामा ई–रिक्सा चालकलाई लक्षित गरी सडक सुरक्षा तथा ट्राफिक नियमसम्बन्धी सचेतना कार्यक्रम सञ्चालन गरिएको छ।
कार्यक्रममा चालकलाई ट्राफिक नियम पूर्ण रूपमा पालना गर्न, चालक अनुमतिपत्र तथा आवश्यक कागजात साथमा राख्न, मादक पदार्थ वा लागुऔषध सेवन गरी सवारी नचलाउन र क्षमताभन्दा बढी यात्रु नराख्न आग्रह गरिएको थियो। यस्तै, सवारी चलाउँदा मोबाइल फोन प्रयोग नगर्न, पैदल यात्रुलाई प्राथमिकता दिन तथा सवारीसाधनको नियमित मर्मतसम्भार गर्नसमेत सचेत गराइएको थियो।
जिल्ला ट्राफिक प्रहरी कार्यालय बाँकेका प्रमुख प्रहरी निरीक्षक कनकबहादुर शाहीले सडक दुर्घटना न्यूनीकरण र यातायात व्यवस्थापनलाई प्रभावकारी बनाउन नियमित रूपमा सचेतना कार्यक्रम सञ्चालन गर्दै आएको बताउनुभयो। उहाँले ई–रिक्सा चालकले ट्राफिक नियम पालना गर्नुका साथै आवश्यक कागजात साथमा राख्ने र नाबालकलाई सवारी चलाउन नदिने विषयमा विशेष ध्यान दिनुपर्ने बताउनुभयो।
ट्राफिक प्रहरी पोस्ट नेपालगन्जका इन्चार्ज वरिष्ठ प्रहरी नायव निरीक्षक ओमबहादुर खड्काका अनुसार रातको समयमा पछाडिबाट आउने सवारीसाधनले ई–रिक्सा सहजै देख्न सकून् भन्ने उद्देश्यले पछाडिको ‘ब्याक लाइट’ नभएका ई–रिक्सामा रिफ्लेक्टिभ स्टिकर टाँस्ने अभियान सञ्चालन गरिएको हो। ट्राफिक प्रहरीले नेपालगन्ज क्षेत्रमा करिब ३ हजार ई–रिक्सामा स्टिकर टाँस्ने लक्ष्य राखेको छ।
अभियानका क्रममा ई–रिक्साको दायाँतर्फ फलामको डन्डी जडान गर्नुपर्ने विषयमा समेत चालकलाई जानकारी गराइएको छ।
ट्राफिक प्रहरीका अनुसार नियमित सचेतना र निगरानीपछि ई–रिक्सा चालकले ब्लुबुक, चालक अनुमतिपत्रलगायत आवश्यक कागजात साथमा राख्ने क्रम बढेको छ। यसअघि नाबालकले ई–रिक्सा चलाउने गरेको पाइए पनि निगरानी तथा कारबाहीमा कडाइ गरेपछि त्यस्ता घटना कम हुँदै गएको वरिष्ठ प्रहरी नायव निरीक्षक खड्काले बताउनुभयो।
सडकमा ई–रिक्साको संख्या बढ्दै जाँदा दुर्घटनाको जोखिमसमेत बढ्न सक्ने भएकाले ट्राफिक प्रहरीले चालकलाई जिम्मेवार बनाउने, सवारीसाधनलाई रातमा स्पष्ट देखिने बनाउने र ट्राफिक नियमको पालना गराउने अभियानलाई निरन्तरता दिने जनाएको छ।
कार्यक्रममा नेपालगन्ज उपमहानगरपालिकाका नगर प्रहरी प्रमुख प्रहरी निरीक्षक सूर्यबहादुर बोगटी, ट्राफिक प्रहरी, ई–रिक्सा व्यवस्थापन प्रालिका प्रतिनिधि तथा ई–रिक्सा चालकहरूको सहभागिता रहेको थियो।

रातमा ई–रिक्सा देखिने बनाउन ट्राफिक प्रहरीको रिफ्लेक्टिभ स्टिकर अभियान

राप्रपाबाट अलग भएका धवलशमशेरको ‘जय नेपाल पार्टी’

रातमा ई–रिक्सा देखिने बनाउन ट्राफिक प्रहरीको रिफ्लेक्टिभ स्टिकर अभियान

रातमा ई–रिक्सा देखिने बनाउन ट्राफिक प्रहरीको रिफ्लेक्टिभ

Leave a comment

Your email address will not be published. Required fields are marked *