सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

कैलाली, ३० साउन । 
सुदूरपश्चिम प्रदेशको मुख्यमन्त्रीमा नेपाली कम्युनिष्ट पार्टी (नेकपा) प्रदेशसभा संसदीय दलका नेता खगराज भट्ट नियुक्त भएका छन् । नेपालको संविधानको धारा १६८ को उपधारा (२) बमोजिम प्रदेश प्रमुख नजीर मियाँले उनलाई मुख्यमन्त्रीमा नियुक्त गर्नुभएको हो । श्री भट्ट सुदूरपश्चिम प्रदेशको पाँचौँ मुख्यमन्त्री भएका छन् ।
सत्ता समीकरणमा आएको परिवर्तनसँगै मुख्यमन्त्री कमलबहादुर शाहले राजीनामा दिएपछि नेपाली कम्युनिष्ट पार्टी प्रदेशसभा संसदीय दलका नेता भट्ट पाँचौँ मुख्यमन्त्री बनेका हुन ।
चार वर्षमा चार मुख्यमन्त्री
प्रदेश स्थापनापछि यहाँ पहिलो कार्यकालमा पाँचै वर्ष तत्कालीन नेकपा (माओवादी केन्द्र) का नेता त्रिलोचन भट्ट मुख्यमन्त्री भएका थिए । प्रदेशसभाको दोस्रो कार्यकालमा भने हालसम्म चार जना मुख्यमन्त्री बनेका छन् ।
यहाँ दोस्रो कार्यकालको पहिलो मुख्यमन्त्रीमा राजेन्द्रसिंह रावल रहेका थिए । उनले विसं २०७९ पुष २८ देखि सोही वर्षको माघ २६ गतेसम्म जिम्मेवारी सम्हालेका थिए । त्यसपछि नेपाली कांग्रेस प्रदेशसभा संसदीय दलका नेता कमलबहादुर शाहले माघ २७ देखि २०८१ वैशाख ५, दीर्घबहादुर सोडारीले वैशाख ६ देखि सोही वर्ष साउन २० गतेसम्म मुख्यमन्त्रीको जिम्मेवारी सम्हाल्नुभएको थियो । त्यसपछि फेरि कांग्रेसका कमलबहादुर शाह दोस्रोपटक मुख्यमन्त्री बनेका हुन । उनी पहिलोपटक एक वर्ष चार महिना आठ दिन र दोस्रो पटक दुई वर्ष आठ दिन मुख्यमन्त्री बने । शाहले सत्ता समीकरण बदलिएपछि बिहीबार पदबाट राजीनामा दिएका हुन ।
यसरी दोस्रो प्रदेशसभा कार्यकालको सुरुआतदेखि नै सुदूरपश्चिममा सरकार गठन र विघटनको क्रम चलिरहेको छ । यहाँ कुनै पनि दलको एकल बहुमत नभएकाले केन्द्रमा बन्ने राजनीतिक समीकरणको प्रत्यक्ष प्रभाव पर्दै आएको छ ।
हाल ५३ सदस्यीय प्रदेशसभामा नेकपाका २२ र एमालेका ११ सदस्य रहेकाले नयाँ सरकार गठनका लागि आवश्यक बहुमत जुटाउन सहज छ । यहाँ नेपाली कांग्रेसबाट १८ र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट एक जना प्रदेशसभा सदस्य रहेका छन् । एक जना प्रदेशसभा सदस्यले राजीनामा दिएपछि हाल ५२ जना रहेका छन् ।
नवनियुक्त मुख्यमन्त्री खगराज भट्टको राजनीतिक सङ्घर्ष
सुदूरपश्चिमका नवनियुक्त मुख्यमन्त्री खगराज भट्ट मुलुकको राजनीतिमा परिचित नाम हो । उहाँ हाल नेपाली कम्युनिष्ट पार्टी सुदूरपश्चिम प्रदेशसभा संसदीय दलका नेता हुन । भट्ट विसं २०७९ मा भएको प्रदेशसभा निर्वाचमा डडेल्धुरा प्रदेशसभा निर्वाचन क्षेत्र नं १ बाट निर्वाचित भए ।
उनी डडेल्धुराको अजयमेरु गाउँपालिका–४ चौडीमा विसं २०३१ पुस २ मा स्वर्गीय रामदत्त भट्ट र गोमतीदेवी भट्टका सन्तानका रूपमा जन्मिएका हुन । भट्टको प्रारम्भिक जीवन डडेल्धुरामै बित्यो । उहाँको शैक्षिक योग्यता आईएल तहसम्मको छ । भूमिगत राजनीतिदेखि सङ्गठनात्मक जिम्मेवारीसम्म भट्टले विसं २०४७ मा नेकपा एकता केन्द्रको सदस्यता लिएर औपचारिक राजनीतिक यात्रा सुरु गर्नुभएको थियो । विसं २०५० असोजदेखि उहाँ  पार्टीको पूर्णकालीन सदस्य बन्नुभयो  । सोही वर्षको कात्तिकमा नेकपा एकता केन्द्रको डडेल्धुरा जिल्ला सदस्यको जिम्मेवारीसमेत सम्हाल्नुभयो ।
राजनीतिक गतिविधिका क्रममा विसं २०५२ फागुन २४ गते अमरगढी नगरपालिका–३ बाट ‘राज्यविरुद्ध अपराध’सम्बन्धी मुद्दामा पक्राउ परेका भट्टले विसं २०५३ पुस ८ गतेसम्म जेल जीवन बिताउनुभयो । त्यसपछि उहाँ तत्कालीन माओवादीले गरेको सशस्त्र द्वन्द्वमा विसं २०५२ फागुन १ देखि २०६३ वैशाख १२ गतेसम्म भूमिगत राजनीतिक गतिविधिमा सक्रिय रहनुभयो ।
माओवादी आन्दोलनका क्रममा उहाँ विसं २०५८ साउनमा उहाँ नेकपा (माओवादी) का डडेल्धुरा जिल्ला सेक्रेटरी, विसं २०५९ पुसमा दार्चुला र बैतडी जिल्ला इञ्चार्ज, विसं २०६० मा केन्द्रीय सदस्य बन्नुभएका भट्टले विसं २०६४ मा सेती–महाकाली राज्य समितिको सचिवको जिम्मेवारी सम्हाल्नुभयो ।
पछि नेपाल कम्युनिष्ट पार्टी (एमाले) र तत्कालीन नेकपा (माओवादी केन्द्र) को एकतापछि बनेको नेपाल कम्युनिष्ट पार्टी (नेकपा) मा विसं २०७६ मा उहाँ सुदूरपश्चिम प्रदेश सहइञ्चार्ज बन्नुभयो । नेकपा विभाजनपछि विसं २०७८ मा माओवादी केन्द्रको सुदूरपश्चिम प्रदेश इञ्चार्जको जिम्मेवारी सम्हाल्नुभयो । भट्टले विसं २०८० मा पार्टीको स्थायी समिति सदस्यको जिम्मेवारी प्राप्त गर्नुभयो ।
संसदीय निर्वाचन यात्रा 
नवनियुक्त मुख्यमन्त्री भट्ट संसदीय राजनीतिमा पनि निरन्तर सक्रिय हुनुहुन्छ । डडेल्धुराबाट उहाँ विसं २०६४, २०७० मा संविधानसभा र २०७४ मा प्रतिनिधिसभा सदस्यका लागि उम्मेदवार बन्नुभयो, तर नेपाली कांग्रेसका पूर्वसभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाका निकटतम प्रतिद्वन्द्वी रहनुभयो ।
विसं २०७९ को प्रदेशसभा निर्वाचनमा डडेल्धुरा प्रदेशसभा क्षेत्र नं १ बाट प्रत्यक्ष निर्वाचित भएसँगै भट्टको राजनीतिक भूमिका प्रदेशसभामा केन्द्रित भयो । उहाँलाई तत्कालीन अवस्थामा नेपाली कांग्रेस र माओवादी केन्द्रको गठबन्धनबाट निर्वाचित हुँदा मुख्यमन्त्रीको रुपमा प्रस्तुत गरिएको थियो । विसं २०८० मा भट्ट सुदूरपश्चिम प्रदेशसभामा नेकपा (माओवादी केन्द्र) संसदीय दलका नेता बन्नुभयो, तर यसअघि मुख्यमन्त्री बन्ने अवसर आएन ।
लामो समय सङ्गठनात्मक तथा राजनीतिक भूमिकामा रहेका भट्टका लागि प्रदेशसभा प्रवेशले जनप्रतिनिधिका रूपमा नीति निर्माण र प्रदेश विकासका मुद्दामा प्रत्यक्ष भूमिका निर्वाह गर्ने अवसर प्रदान गर्‍यो ।
भट्टले आफ्नो राजनीतिक तथा संसदीय यात्रामा सुशासन, सामाजिक न्याय र वैज्ञानिक विकासको वकालत गर्दै आउनुभएको छ । उहाँले प्रदेशको आर्थिक तथा सामाजिक विकासका लागि कृषि, पर्यटन, जलस्रोत, खेलकुद, शिक्षा र स्वास्थ्य क्षेत्रको विकासका लागि प्रतिबद्धता जाहेर गर्दै आउनुभएको थियो । सुदूरपश्चिमको सम्भावनालाई प्रदेशको समग्र विकाससँग जोड्नुपर्ने उहाँको सैद्धान्तिक अडान रहँदै आएको छ ।
लामो राजनीतिक सङ्घर्षबाट प्रदेशसभाको नेतृत्व तहसम्म आइपुगेका भट्ट आफूलाई सादगी, विकासप्रेमी र सुशासनका अभियन्ताका रूपमा प्रस्तुत गर्दै आउनुभएकामा अब त्यसलाई प्रमाणित गने जिम्मेवारी पाउनभएको छ ।
लामो राजनीतिक सङ्घर्षबाट प्राप्त अनुभव र लामो प्रतिक्षापछि प्राप्त मुख्यमन्त्रीको जिम्मेवारीलाई अब प्रदेशको नीति निर्माण र जनताको अपेक्षा सम्बोधनमा कसरी उपयोग गर्नुहुन्छ भन्नेमा धेरैको चासो रहेको छ ।
सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

जलवायु पारदर्शितामा समान धारणा बनाउन युवा सम्मेलन

सुदूरपश्चिमको मुख्यमन्त्रीमा भट्ट नियुक्त

पर्यटन क्षेत्र मुलुकको अर्थतन्त्रको मेरुदण्ड होः सभामुख

Leave a comment

Your email address will not be published. Required fields are marked *