सुर्खेतका सामुदायिक विद्यालयमा खस्कदाे शैक्षिक गुणस्तर

सुर्खेत । सुर्खेतका सामुदायिक विद्यालयमा वर्षेनी शिक्षाको गुणस्तर खस्कदै गएको छ । जिल्लाभरबाट झण्डै १० हजार विद्यार्थी सहभागी गत ०७९ चैत्रमा सम्पन्न कक्षा ८ को वार्षिक परीक्षामा कक्षा ९ मा अध्ययन गर्ने गरी ग्रेड प्राप्त गर्ने अर्थात् पास हुने विद्यार्थीको संख्या करिव झण्डै आठ हजार मात्र छ ।

कोरोना महामारीका कारण धेरै समय बन्द भएका सामुदायिक विद्यालय आफैले प्रश्नपत्र बनाउने र आफै जाँच गर्दा उत्तिणर् हुने विद्यार्थीको ग्राफ धेरै देखिएको भएपनि यसपालि सम्बन्धित पालिकाले पालकास्तरीय परीक्षा लिएपछि यो संख्या ह्वात्तै घटेको छ । ११ वटा सामुदायिक विद्यालय रहेको चिङ्गाड गाउँपालिकामा पालिकास्तरिय परीक्षा सञ्चालन तथा व्यवस्थापन समितिले लिएको कक्षा ८ को परीक्षामा सहभागी भएका तीन सय ४४ जना विद्यार्थीमध्ये २० जनाले मात्रै कक्षा ९ मा पढ्न पाउने गरी ग्रेड प्राप्त गरेका छन् । उक्त परीक्षा व्यवस्थापन समितिको बैठकले तीन वटा विषयसम्म लागेका विद्यार्थीको नतिजा पुनः मूल्यांकन गर्ने निणर्य गरेको पालिका शिक्षा शाखाका प्रमुख सुवास विसीले जानकारी दिए ।
यस्तै चार वटा निजीसहित १७ वटा सामुदायिक विद्यालय रहेको सिम्ता गाउँपालिकामा पाँच सय २७ जना विद्यार्थी परीक्षामा सहभागी हुँदा तीन सय २२ जना मात्रै उत्तिणर् भएका छन् । चार संस्थागत र नौं सामुदायिक गरी जम्मा १४ वटा विद्यालय रहेको पञ्चपुरी नगपालिकामा एक हजार ६५ विद्यार्थी सहभागी भएकोमा झण्डै दुई सय विद्यार्थी अनुत्तिणर् भएका छन् । ५६ वटा विद्यालय रहेको बराहताल गाउँपालिकाका एक संस्थागत र २४ वटा विद्यालयमा आधारभूत तह कक्षा ८ सम्मको पढाई हुने गरेको छ । चैतमा सम्पन्न वार्षिक परीक्षामा पालिकाभरबाट आठ सय जना विद्यार्थी सहभागी भएकोमा न्यूनतम् संख्यामा मात्रै विद्यार्थीले कक्षा ९ मा पढ्न पाउने ग्रेड प्राप्त गरेका छन् । एक संस्थागत र २१ वटा सामुदायिक विद्यालयहरुमा चौकुनेमा आठ वटा परीक्षा केन्द्रमा पाँच सय ५६ जना विद्यार्थी सहभागी भएका थिए । चौकुनेले हालसम्म पनि नतिजा प्रकाशन गरिसकेको छैन । गाउँपालिकाको शिक्षा शाखा प्रमुख टेकेन्द्रबहादुर बुढाका अनुसार गत वर्षहरुमा आउने नतिजा र यस वर्ष आउने नतिजामा फरक पर्नसक्छ ।
‘कोरोना सुरु भएदेखि कक्षा ८ को परीक्षा विद्यालयहरु आफैले लिने, प्रश्नपत्र आफै बनाउने, आफै जाँच गर्ने हुनाले नतिजामा फरक परेको अवस्था छ भने, यसपालिदेखि पालिकाले नै केन्द्र तोक्नेदेखि प्रश्नपत्रसमेत आफै बनाएर परीक्षा लिएका छौं । यसले विगतको नतिजालाई प्रभाव पार्न सक्छ’, शिक्षा शाखा प्रमुख बुढाले भने । ४७ वटा सामुदायिक विद्यालय मध्ये १८ विद्यालयमा आधारभूत तह निमावि पढाईहुने गरेको लेकवेशीमा ६ सय ८१ जना विद्यार्थी परीक्षामा सहभागी हुँदा सत्प्रतिशत विद्यार्थी उत्तिणर् भएको लेकवेशीले जनाएको छ ।
यस्तै संस्थागत र सामुदायिक गरी २९ विद्यालय रहेको गुर्भाकोट नगरपालिकामा एक हजार एकसय ७० विद्यार्थी परीक्षामा सहभागी हुँदा एक हजार ३५ जना उत्तिणर् भएका छन् । यस्तै तीन संस्थागतसहित २६ वटा सामुदायिक विद्यालय रहेको भेरीगंगा नगरपालिकामा एक हजार एकसय ४८ जना विद्यार्थीले परीक्षा दिएकोमा नौं सय तीन जना उत्तिणर् भएका छन् । कक्षा ८ मा अनुत्तिणर् भएका सबै विद्यार्थीहरु मुल विषय अंग्रेजी, गणित, विज्ञान विषयमा कमजोर देखिएका छन् ।
सामुदायिक र संस्थागत गरी ९२ वटा विद्यालय रहेको वीरेन्द्रनगर नगरपालिकामा कक्षा ८ को परीक्षामा करिव चार हजार विद्यार्थी सहभागि
थिए । जसमा कक्षा ९ मा भर्नाहुन योग्य विद्यार्थीहरुको संख्या सामुदायिक विद्यालय भन्दा संस्थागत विद्यालयमा धेरै छ । वीरेन्द्रनगरका संस्थागत विद्यालयहरुमा ९५ प्रतिशत विद्यार्थी उत्तिणर् हुँदा सामुदायिक विद्यालयले ८५ प्रतिशत विद्यार्थी उत्र्तिण गराएका छन् ।
सुधारमा स्थानीय तह जुट्नु पर्छ
विश्वव्यापी महामारीका कारण विद्यालय नियमित नहुँनु, अनलाईन कक्षाहरु नाम मात्रका हुँदा तल्लो कक्षाका विद्यार्थीले राम्रोसँग पढ्न नपाउनु तथा विद्यार्थीको अनुपातमा शिक्षक दरवन्दी नुहुनुले शिक्षाको गुणस्तर विस्तारै खस्कदै गएको मध्यपश्चिम विश्वविद्यालयका पूर्व डीन पीताम्वर ढकालको भनाई छ ।
लामो समय विद्यालय बन्द भएका कारण चार कक्षामा रोकिएको पढाई एक्कासी ८ कक्षामा पुग्दा पनि अपेक्षित नतिजा नआएको ढकाल बताउछन् ।
‘८ कक्षालाई बोर्ड परीक्षा मानिने भएकाले पनि गरिखाओस् भनेर कमजोर विद्यार्थीलाई पनि सात कक्षामा पास गराइ दिने लचिलो नियमले पनि असर परेको छ’, शिक्षाको गुणस्तर सुधारमा स्वयम् स्थानीय तहले अपनत्व लिनुपर्ने बताउँदै ढकालले भने, ‘कतिपय विद्यालयहरुमा विद्यार्थी संख्या उल्लेख्य छ, तर शिक्षक छैनन्, कतिपय विद्यालयमा शिक्षक छन् तर विद्यार्थी छैनन् । यसोहुँदा पनि शिक्षाको गुणस्तरमा असर परेको अवस्था छ । पालिकाले यी विषयहरुलाई ध्यानमा राखेर विद्यालयलाई विद्यार्थीको अनुपातमा जनशक्ति व्यवस्थापन गर्नतर्पm ध्यान नदिने हो भने शिक्षाको गुणस्तर सुधार्न सकिँदैन र यो सम्भव पनि हुँदैन ।’
‘सरकारको ध्यान नगएको हो’
तीनै तहका सरकारको उपेक्षा र कोभिड संक्रमण अवस्थाका कारण शिक्षाको गुणस्तर कमजोर हुँदै गएको वीरेन्द्रनगर नगरपालिका शिक्षा शाखाका उपसचिव धिरेन्द्रप्रसाद शर्मा बताउँछन् । ‘शिक्षाको गुणस्तर कमजोर हुनुको पहिलो कारण कोभिड हो । यसले तीन वर्ष पढाईमा प्रभाव पारेको छ । दोस्रो हाम्रो परीक्षा प्रणाली हो’, शर्माले भने, ‘कोभिडकै कारण कमजोर बनेको परीक्षा प्रणालीले स्वतः विद्यार्थीलाई माथिल्लो कक्षामा जाने जुन खालको परिस्थिती बनेको छ यो पनि एउटा समस्या बनेको छ । यसले पढाई र सिकाईको संस्कृति कमजोर हुन गएको छ ।’
संघीयताको पुनः संरचनापछि तीन तहका सरकारको लगानी तथा प्राथमिकतामा शिक्षा नपर्नुले शिक्षक व्यवस्थापन र निःशुल्क शिक्षाको पाटो चुनौतीपूणर् रहेको उल्लेख गर्दै शिक्षा क्षेत्रको गुणस्तर खस्कनुमा धेरै कारण भएपनि तत्कालका समस्याहरु यिनै रहेको शर्माको भनाई छ ।






