मन्त्रीका स्वकीयले गाडी मर्मत खर्च तिराएपछि‍‍…

सुर्खेत । ‘सुर्खेतबाट जाजरकोट जानेवेला सल्लीबजार र सिम्ता जोड्ने राकम पुलवारी, देवस्थल भन्ने ठाउँमा मोडहरु छन् । मान्छेको दिमाग त भयो, बाईक चलाउने क्रममा हल्का मैले सडक च्यापेकै लाग्छ । उताबाट पनि त मोडमा हर्न बजाएर आउनुपथ्र्यो । मैले हर्न बजाउँदा उताबाट कसैले बजाएन, म पनि आफ्नै सुरमा गए’, जाजरकोटका सुरेन्द्र पुनले भने, ‘एक्कासी दुर्घटना भयो । नजिकै आएर ठोक्किसक्दा पनि थाह नपाएको जस्तो लाग्छ, अहिले । मेरी श्रीमतीलाई पनि केहि पत्तो भएन ।’

शनिवार भएको सडक दुर्घटना स्मरण गर्दै सुरेन्द्र भन्छन्, ‘फेरी अर्को कुरो, मान्छे हो, दुर्घटना हुन्छ । मैले जानी-जानी ठोकेको त हैन । खासमा मन्त्रीको गाडीले पनि त ठोकेको हो, नि ? गाडी चलाउने क्रममा मोडमा अरु गाडी आउँछन्, मोटरसाइकल आउछन् भनेर सोच्नु पथ्र्यो ।’ शनिवार दिउँसो तीन बजेको समयमा कर्णाली प्रदेशका सामाजिक विकासमन्त्री खड्गबहादुर पोखरेल चढेको कर्णाली प्रदेश ००१ झ ०००१ नम्बरको गाडी र सुरेन्द्रले चलाएको मोटरसाइल एक आपसमा ठोक्किएका थिए ।

ठक्करबाट मन्त्री चढ्ने गाडीको हेडलाइट र मोटरसाइकलमा समेत सामान्य क्षति पुगेको थियो । तर मन्त्रीसँग सवार स्वकीय सचिवलगायतका व्यक्तिले सुरेन्द्रबाट गाडी मर्मतका लागि १५ हजार रुपैयाँ असुलेपछि अहिले यो विषय विवादित बनेको छ । सुरेन्द्र र उनकी श्रीमती, निम्न माध्यमिक विद्यालय तहकालागि शिक्षक सेवा आयोगको परीक्षा दिएर शनिवार वीरेन्द्रनगरबाट जाजरकोट तर्फ फर्कदै थिए । उनले भने, ‘मन्त्रीको गाडी अगाडी स्कटिङका अन्य गाढी पनि थिएनन् । मन्त्रीकै गाडीमा एक्कासी ठोक्किएपछि हामी ढल्यौँ । श्रीमती पनि आत्तितै कराउँदै ढलिन् । हामी दुई बुढाबुढीलाई घुडा मुन्तिर चोट लाग्यो । अहिले पनि शरिर दुखेको छ ।’

‘प्रहरी पनि त्यहीँ, मन्त्री पनि त्यहीँ भएपछि हामीले पनि धेरै बोल्न सकेनौँ । दिउँसो तीन बजेको समय थियो । हाम्रो पक्षमा कोहीले पनि बोलेनन् । सबैले मन्त्रीको पक्षमा नै बोले’, उनले सम्झिए, ‘सबै उनकै पक्षमा हुँदा त्यहाँ एक्लो महशुस भयो । मन्त्री पनि यिनकै छन्, प्रहरी पनि यिनकै छन् । सबै उनीहरुकै पक्षका मान्छे जम्मा भए ।’
गाडीको क्षतिपूर्तिमा पहिले ३५ हजार रुपैयाँ लाग्ने बताएपछि सुरेन्द्रले पनि केहि भन्न सकेनन् । मन्त्रीका साथमा भएका व्यक्तिले नै चिनजानको ग्यारेजमा फोन गरेर मर्मत खर्च सोधेका थिए । त्यत्रो रकम तिर्न आनाकानी गरेपछि मन्त्रीका स्वकीयले नै २० हजार रुपैयाँसम्म देऊ, भने ।

‘मोटरसाइकलको लेगगार्ड बांगिएको थियो । मन्त्री गाडीबाट बाहिर नै झरेनन् । त्यत्रो समय उनी गाडी भित्रै बसे । मन्त्री गाडीबाट झरेर आउछन् कि भन्ने आशा थियो । जे भएपनि हाम्रा प्रदेशका मन्त्री थिए, नागरिकको समस्या हेर्न आउछन् भन्ने थियो, तर उनी आएनन्’, उनले भने, ‘पछि उनका मान्छेले मन्त्रीलाई १५ हजार दिने भनेको छ के गर्ने ?, भन्ने सोधेपछि मन्त्रीले दया देखाएर हुन्छ भनिदिए ।’ मन्त्रीको सवारी चालकको बैंक खातामा ‘अनलाइन ट्रान्सफर’ गर्न खोज्दा पैसा गएन । त्यसपछि मन्त्रीसँगै भएका स्वकीय सचिव सञ्जय पोखरेलको मोवाइलमा (९८५८०३२०१३) ‘फोन पे’ गरेर सुरेन्द्रले साँझ ५ बजेको समयमा १५ हजार रुपैयाँ पठाए ।

‘पैसा पठाएपछि प्रहरीले मलाई कागजमा हस्ताक्षर गर्न लगाए । दुर्घटनापछि दुवै पक्षलाई सहमतिमा फर्काएको व्यहोरामा प्रहरीले बनाएको कागजमा हस्ताक्षर गरेर हामी आ-आफ्नो बाटो लाग्यौँ’, दुःखेसो गर्दै उनले भने, ‘तर रातिदेखि मलाई नयाँ-नयाँ नम्वरबाट फोन आईरहेका छन् । शनिवार राति नै १५ हजार रुपैयाँ फिर्ता लैजान फोन आएको थियो । तर म १५ हजार रुपैयाँका लागि हारगुहार गर्ने मान्छे पनि हैन । सामान्य दुर्घटनामा मैले पैसा तिरें । सकियो ।’

सामाजिक विकास मन्त्रीको अनपेक्षा

१५ हजार रुपैयाँ गाडी मर्मत खर्च असुलिएको विषयमा आईतवार सामाजिक विकास मन्त्री खड्गबहादुर पोखरेलसँग बुझ्न खोज्दा उनले यस विषयमा आफु अनविज्ञ रहेको जनाए । दुर्घटना भएपछि आफुले चालकलगायतलाई जाउँ भनेको तर उनिहरुले आफुले घटना मिलाउने भन्दै केहि समय त्यही बसेको उनले स्विकारे । गाडीमा क्षति भएपनि सामान्य घटना भएको बताउँदै उनले आफु गाडीमै बसेको बताए ।

उनले भने, ‘गाडीको मर्मत खर्च तर धेरै आउछहोला ।’ मोटरसाइकल चालकबाट भने रकम असुली गरेको विषयमा सो समयमा आफुलाई जानकारी नभएको र आईतबार मात्र घटना वाहिर आएपछि जानकारी पाएको मन्त्री पोखरेलको भनाई थियो । शनिवार नेपाली कांग्रेस सिम्ता गाउँ कार्यसमितिले आयोजना गरेको बधाई थाप्न मन्त्री पोखरेल त्यहाँ पुगेका थिए ।

एउटै क्षेत्रबाट निर्वाचित प्रतिनिधिसभा सदस्य पूणर्बहादुर खड्का र प्रदेशसभा सदस्य पोखरेल मन्त्री भएपछि नेपाली कांग्रेस सिम्ता गाउँ कार्यसमितिले बधाई कार्यक्रमको आयोजना गरेको थियो । नेपाली कांग्रेसका केन्द्रीय उपसभापतिसमेत रहेका खड्का संघीय सरकारमा उपप्रधानसहित रक्षा, कानुनमन्त्री छन् । मन्त्री पोखरेल पनि सुर्खेत क्षेत्र नं. १ प्रदेशसभा (क) बाट निर्वाचित प्रदेशसभा सदस्य हुन् ।

मन्त्रीका स्वकीयले गाडी मर्मत खर्च तिराएपछि‍‍…

सुर्खेतका सामुदायिक विद्यालयमा खस्कदाे शैक्षिक गुणस्तर

मन्त्रीका स्वकीयले गाडी मर्मत खर्च तिराएपछि‍‍…

बजेट खर्च गरेको खै ?

Leave a comment

Your email address will not be published. Required fields are marked *