कानून पढ्ने छात्रा विनिताले दिईन, कर्णालीका वन मन्त्री विरुद्ध उच्च अदालतमा रिट

सुर्खेत, ३ फागुन ।
विवादका बिच मन्त्री बनेका छिरीङ डम्डुल लामा (कार्चेन) विरुद्ध उच्च अदालत सुर्खेतमा मुद्दा दायर भएको छ । हालै प्रदेश सरकारको उद्योग, पर्यटन वन तथा वातावरण मन्त्री नियुक्त भएका लामालाई बर्खास्त गर्नुपर्ने माग गर्दै सोमबार उच्च अदालतमा रिट दायर भएको हो ।
लामा यसअघि हुम्लामा मूर्ति चोरेको घटनामा अदालतबाट सजाय पाएका व्यक्ति हुन् । फौजदारी अभियोगमा दोषी ठहरिएको र कैद तथा जरिवाना भुक्तान गरेको व्यक्तिलाई मन्त्री बनाइएको भन्दै उनलाई मन्त्री बनाउने निर्णय खारेज गर्न माग गर्दै उच्च अदालत सुर्खेतमा रिट दायर भएको छ ।
मध्यपश्चिम विश्वविद्यालय अन्तर्गत कानुन संकायमा अध्ययनरत विद्यार्थी विनिता बोगटीले रिट दायर गरेकी हुन् । उनका अनुसार यो रिटको पेशी मंगलबार तोकिएको छ । अदालतमा दायर भएको रिटमा प्रदेश प्रमुखको कार्यालय, मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र मन्त्री लामालाई विपक्षी बनाइएको छ ।
फौजदारी अभियोगमा सजाय पाएका लामालाई मन्त्री बनाउनु संविधान विपरीत भएकाले मन्त्रीबाट बर्खास्त गर्नुपर्ने माग रिटमा गरिएको छ । साथै रिटमा प्रदेश मन्त्रिपरिषदलाई समावेशी बनाउन पनि माग गरिएको रिट दायरकर्ता बोगटीले बताइन् । माओवादीको तर्फबाट मन्त्री बनेका लामा गैरसांसद हुन् ।
गैरसांसद रहेको र मूर्ति चोरीको घटनामा दोषी पाइएका लामालाई मन्त्री नबनाउन माओवादीभित्रै दबाव थियो । हुम्लास्थित ताक्लाकोटको खोच्यारनाथ गुम्बाबाट मूर्ति चोरेको घटनामा लामालाई जिल्ला अदालतले २०५१ मंसिर २५ गते दुई वर्ष कैद र पाँच हजार रुपैयाँ जरिवानाको फैसला सुनाएको थियो ।
त्यसपछि लामाले अदालतको फैसला अनुसार सजाय भुक्तान गरिसकेका छन् । हुम्लामा माओवादी पार्टी जोगाउन भन्दै माओवादीले विरोधकाबिच पनि लामालाई मन्त्री बनाउन सिफारिस गरेको थियो । मुख्यमन्त्री जीवनबहादुर शाहीले एक साताअघि मात्र उनलाई मन्त्री नियुक्त गरेका थिए ।






