नेपालगञ्जका ऐतिहासिक सालिक पुनःस्थापना

बाँके, १० साउन  । 

नेपालगञ्ज उपमहानगरपालिकाले देश, लोकतान्त्रिक आन्दोलन तथा सामाजिक रूपान्तरणमा महत्वपूर्ण योगदान पुर्‍याएका राष्ट्रिय व्यक्तित्वहरूको सम्मानस्वरूप पुनःनिर्माण तथा मर्मत गरिएका छ वटा ऐतिहासिक सालिकको एक समारोहबीच अनावरण गरेको छ । विभिन्न आन्दोलनका क्रममा क्षतिग्रस्त भएका तथा लामो समयदेखि पुनःस्थापनाको प्रतीक्षामा रहेका सालिकहरू पुनःनिर्माणसँगै सार्वजनिक स्थलहरूको सौन्दर्यीकरणसमेत गरिएको छ ।

नगर प्रमुख प्रशान्त विष्टले  नेपालगञ्जका विभिन्न स्थानमा स्थापित सालिकहरूको अनावरण गर्दै इतिहास, लोकतन्त्र र राष्ट्रिय व्यक्तित्वहरूको योगदानलाई भावी पुस्तासम्म पुर्‍याउन यस्ता सम्पदाको संरक्षण आवश्यक रहेको बताए ।

उनले इतिहास कुनै एक दल वा समुदायको मात्र नभई सम्पूर्ण समाजको साझा सम्पत्ति भएकाले यसको संरक्षण गर्नु स्थानीय सरकारको दायित्व भएको उल्लेख गरे । उपमहानगरपालिकाका अनुसार नेपाली कांग्रेसका पूर्व सभापति तथा संविधानसभाबाट संविधान जारी हुँदा प्रधानमन्त्री रहनुभएका स्वर्गीय सुशील कोइरालाको अर्धकदको नयाँ सालिक ट्राफिक चोक नजिकको उद्यानमा करिब २३ लाख रुपैयाँको लागतमा निर्माण गरिएको छ ।

त्यसैगरी, गणेशमान चोकमा रहेको नेपाली कांग्रेसका नेता तथा २०४६ सालको जनआन्दोलनका सर्वोच्च कमाण्डर स्वर्गीय गणेशमान सिंहको पूर्णकदको सालिक ३ लाख ३१ हजार रुपैयाँको लागतमा मर्मत गरी पुनःस्थापना गरिएको छ ।

नेपालगञ्ज उपमहानगरपालिकाका निमित्त प्रमुख प्रशासकीय अधिकृत गोर्खबहादुर थापाका अनुसार नेपालका प्रथम जननिर्वाचित प्रधानमन्त्री स्वर्गीय विश्वेश्वरप्रसाद (वीपी) कोइरालाको पूर्णकदको सालिक ९ लाख ७५ हजार रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको हो ।

यस्तै, धम्बोझी चोकस्थित स्वर्गीय राजा वीरेन्द्र वीर विक्रम शाहको पूर्णकदको सालिक ९ लाख ८२ हजार रुपैयाँमा पुनःनिर्माण गरिएको छ भने पुष्पलाल चोकमा रहेको नेपाल कम्युनिस्ट पार्टीका संस्थापक स्वर्गीय पुष्पलाल श्रेष्ठको सालिक ९ लाख ८७ हजार रुपैयाँको लागतमा नयाँ स्वरूपमा निर्माण गरिएको छ ।

त्यसैगरी, न्युरोडस्थित २०६२/६३ सालको जनआन्दोलनका क्रममा सहादत प्राप्त गरेका सहिद सेतु विकको अर्धकदको सालिक ४ लाख ८३ हजार रुपैयाँको लागतमा पुनःनिर्माण गरिएको छ । उपमहानगरपालिकाका अनुसार गणेशमान सिंहको सालिक मर्मत गरिएको हो भने अन्य सबै सालिक नयाँ निर्माण गरिएका हुन् । सुशील कोइरालाको सालिक रहेको उद्यानबाहेक अन्य सबै सालिक रहेका चोकहरूको सौन्दर्यीकरणका लागि थप १८ लाख रुपैयाँ खर्च गरिएको छ । सम्पूर्ण परियोजनामा करिब ७८ लाख रुपैयाँ खर्च भएको जनाइएको छ ।

उल्लेखित सालिकमध्ये सुशील कोइराला र राजा वीरेन्द्रको सालिक बाहेक अन्य सालिक गत वर्षको भदौ २३ र २४ गते भएको ‘जेनजी’ विद्रोहका क्रममा क्षतिग्रस्त भएका थिए । राजा वीरेन्द्रको सालिक भने दोस्रो जनआन्दोलनका क्रममा हटाइएको थियो । सालिक अनावरण कार्यक्रममा विभिन्न राजनीतिक दलका नेता, जनप्रतिनिधि, नागरिक समाजका अगुवा, समाजसेवी तथा सर्वसाधारणको उल्लेखनीय सहभागिता रहेको थियो ।

कार्यक्रमलाई सम्बोधन गर्दै नगर प्रमुख विष्टले लामो समयदेखि पुनःस्थापना हुन नसकेका ऐतिहाँसिक सालिकहरूलाई क्रमशः पुनःनिर्माण गरी सार्वजनिक गरिएको बताउँदै नेपालगञ्जको ऐतिहासिक, सांस्कृतिक तथा लोकतान्त्रिक पहिचान जोगाउन उपमहानगरपालिका प्रतिबद्ध रहेको स्पष्ट पारे ।

“इतिहास हाम्रो साझा सम्पत्ति हो । यसको संरक्षण गर्नु नेपालगञ्ज उपमहानगरपालिकाको दायित्व र कर्तव्य हो,“ नगर प्रमुख विष्टले भने । उनले राष्ट्रिय व्यक्तित्वहरूको योगदानलाई सम्मान गर्नुका साथै सार्वजनिक सम्पदाको संरक्षण, ऐतिहाँसिक स्थलहरूको प्रवद्र्धन र भावी पुस्तालाई इतिहासप्रति सचेत गराउने उद्देश्यले यस्ता कार्यलाई आगामी दिनमा पनि निरन्तरता दिइने बताए । स्थानीय सरकारले विकाससँगै इतिहास, संस्कृति र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षणलाई पनि समान प्राथमिकतामा राख्दै अघि बढ्ने उनको भनाइ थियो ।

 

नेपालगञ्जका ऐतिहासिक सालिक पुनःस्थापना

पहिरो हटाइएपछि कर्णाली राजमार्ग सञ्चालनमा

नेपालगञ्जका ऐतिहासिक सालिक पुनःस्थापना

पहिलो पटक तीन खर्ब नाघ्यो निर्यात

Leave a comment

Your email address will not be published. Required fields are marked *