कालीकोट, १० साउन ।
कालीकोटको शुभकालिका गाउँपालिका–१ स्थित गोगने खोलामा अविरल वर्षापछि खसेको ढुङ्गा, माटो र लेदोयुक्त पहिरो हटाइएपछि कर्णाली राजमार्ग पुनः सञ्चालनमा आएको छ ।
गएराति करिब ८ बजेदेखि पहिरोका कारण पूर्ण रूपमा अवरुद्ध भएको राजमार्ग सडक डिभिजन कार्यालयको डोजर प्रयोग गरी पहिरो पन्छाएपछि दुवैतर्फ सवारीसाधन सञ्चालनमा आएका हुन् ।
राजमार्ग अवरुद्ध हुँदा यात्रुवाहक तथा मालवाहक सवारीसाधन बाटोमै रोकिएका थिए । सडक खुलेसँगै रोकिएका सवारीसाधन गन्तव्यतर्फ प्रस्थान गरेका छन् ।
यद्यपि निरन्तर वर्षाका कारण उक्त सडकखण्डमा पुनः पहिरो खस्ने जोखिम कायम रहेकाले आवश्यक सतर्कता अपनाउन जिल्ला प्रहरी कार्यालय कालीकोटले सवारी चालक तथा यात्रुलाई आग्रह गरेको छ ।
हाल वर्षा रोकिएर मौसम केही खुलेको भए पनि पहिरोको जोखिम पूर्ण रूपमा टरिनसकेकाले यात्रा गर्दा विशेष सावधानी अपनाउन प्रहरीले अनुरोध गरेको छ ।


