सरकारले चासो नदेखाएपछि दाङ्गमा खुत्रुके अभियान

दाङ ३ फागुन ।
विमानस्थलको स्तरोन्नतिका लागि दाङमा २ खुत्रुके अभियान सुरु भएको छ ।
दाङको टरिगाउँ विमानस्थलको स्तरोन्नतिका लागि तुलसीपुर उद्योग वाणिज्य सङ्घको अगुवाइमा खुत्रुके अभियान सुरु गरिएको हो ।
सङ्घका अधयक्ष रामप्रसाद चालिसेले कोषाध्यक्षलाई ५१ हजार रुपैयाँको चेक हस्तान्तरण गरेर अभियानको सुरु गरेका हुन् । तुलसीपुर उद्योग वाणिज्य सङ्घ एयरपोर्ट नाममा राष्ट्रिय वाणिज्य बैंकमा खाता सञ्चालन गरिएको छ । त्यही बैंकको खातामा स्वेच्छिक रूपमा रकम जम्मा गर्ने गरी खुत्रुके अभियानको सुरु गरिएको अध्यक्ष चालिसेले बताउनुभयो ।

सबैसँगको हातेमालो र सहकार्यबाट आर्थिक सङ्कलन गरी स्तरोन्नति गर्ने उद्देश्यका साथ अभियान सञ्चालन गरिएको चालिसेले बताउनुभयो ।
विमानस्थलको स्तरोन्नतिका लागि देश तथा विदेशमा बस्ने जोसुकैले पनि सक्दो आर्थिक सहयोग गर्न सकिने उहाँले बताउनुभयो ।
यसअघि सर्वदलीय तथा सर्वपक्षीय बैठकले विमानस्थल स्तरोन्नतिका लागि तीनै तहको सरकारलाई दबाब दिन एकमत भएका थिए । २०११ सालमा स्थापना भएको टरिगाउँ विमानस्थलको अहिलेसम्म स्तरोन्नतिका लागि सरकारले चासो नदेखाएपछि निजी क्षेत्रको अगुवाइमा दबाब दिन सुरु गरिएको हो





