तेह्र जिल्लाको काँग्रेस क्रियाशील दस्यताको टुङ्गो लाग्न बाँकी

असोज ४ , काठमाडौँ । नेपाली काँग्रेसको १४ औं महाधिवेशन प्रक्रियाअन्तर्गत विभिन्न जिल्लाका क्रियाशील सदस्यताको अन्तिम टुङ्गो लाग्न अझै बाँकी रहेको छ । बाँके, सुर्खेत, कैलाली, रसुवा, डोल्पा, र प्रदेश २ का आठवटा जिल्लाका क्रियाशील सदस्यताको विवाद अझ टुङ्गो लाग्न सकेको छैन ।
पार्टीका केन्द्रीय निर्वाचन समितिका संयोजक महादेव यादवले १३ जिल्लाको नामावली सार्वजनिक हुन बाँकी रहेको बताउनु भयो । उनले सदस्यता सार्वजनिक भएका जिल्लाको वडा अधिवेशन निरन्तर रूपमा सञ्चालन हुने पनि बताउनु भयो । उहाले पार्टी का पदाधिकारीले एक, दुई, दिन ती जिल्लाको क्रियाशील सदस्यताको नामावली निर्वाचन समितिलाई दिने पनि जानकारी गराउनु भयो ।

पार्टी सदस्यताको नामावली बुझाएपछि बल्ल निर्वाचन समितिले क्रियाशील सदस्यताको नामावली सार्वजनिक गर्ने गरिएको छ । क्रियाशील सदस्यताको विवाद समाधान गर्न बाँकी रहेका विभिन्न जिल्लाको वडा अधिवेशन भने केही दिन सर्ने भएको छ । जिल्लाका क्रियाशील सदस्यताको नामावली सार्वजनिक भएको दुई, चार दिनपछि वडा अधिवेशन गर्न सकिने संयोजक यादवले जानकारी दिनु भयो ।
क्रियाशील सदस्यता सार्वजनिक भएका सातवटा जिल्लाको वडा अधिवेशन असोज ५ गते गरिने पनि बताउनु भयो । काठमाडौं, काभ्रेपलाञ्चोक, मोरङ, बर्दिया, सिन्धुपाल्चोक, कपिलवस्तु र बाजुरा जिल्लामा असोज ५ गते वडा अधिवेशन हुनेभएको हो । यसअघि पार्टीले भदौ १८ गते वडा अधिवेशन हुन नसकेका जिल्लामा असोज ५ गते गर्ने निर्णय गरेको थियो ।





